१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

दुई विधाको मनोनयन सार्वजनिक

अवार्डको दुई विधाको मनोनयन सार्वजनिक गर्दै आयोजक। तस्बिरः नागरिक

चौथो एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डको दुई विधाको मनोनयन सार्वजनिक भएको छ। सुदूरपश्चिमाञ्चल एकेडेमीको मुख्य प्रायोजनमा हुने अवार्डको सुदूरपश्चिम आइकन पुरुष र सुदूरपश्चिम आइकन महिला विधाको मनोनयन सार्वजनिक गरिएको हो। नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले धनगढीमा पत्रकार सम्मेलन गर्दै सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा पदक विजेता खेलाडीलाई समेटेर मनोनय सार्वजनिक गरेको हो।

आउँदो असार ८ गते धनगढीमा हुने चौथो संस्करणको एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डको माया मेट्रो हस्पिटल सुदूरपश्चिम आइकन पुरुष विधामा फेन्सिङका जलेन्द्र शाही, कराँतेका आनन्द कामी र फुटबलका जियारत शेख मनोनयनमा परेका छन्। शाहीले ९ औँ राष्ट्रिय खेलकुदमा सुदूरपश्चिमलाई पहिलो स्वर्ण पदक जिताएका थिए। फेन्सिङमा सुदूरपश्चिमलाई उनले पहिलोपटक स्वर्ण पदक जिताएका हुन्।

आनन्दले पनि ९ औँ राष्ट्रिय खेलकुदमा कराँतेतर्फ ५० किलो तौल समूहमा स्वर्ण जितेका थिए। सुदूरपश्चिमलाई कराँतेमा स्वर्ण पदक दिलाउने उनी एक्ला खेलाडी हुन्। उनले प्रशिक्षण दिएका दुई जना खेलाडीले राष्ट्रपति रनिङ शिल्डमा पनि दुई कास्य पदक जितेका थिए।  

जियारतले उमेर समूहमा नेपाली पुरुष टिममा सहभागिता जनाउँदै २० वर्षमुनिको साफ च्याम्पियनसिपमा उपविजेता बनेको टोलीका सदस्य हुन्। उनले खुमलटार युवा क्लबलाई ए डिभिजनमा पु¥याउनका लागि पनि उत्कृष्ट प्रदर्शन गरेका थिए। मनाङ मस्र्याङ्दी क्लबबाट व्यवसायिक ए डिभिजन लिग खेलिरहेका उनी गत वर्ष भएको यस्तै तिलोत्तमा गोल्डकपको उत्कृष्ट गोलरक्षकसमेत भएका थिए। 

न्यु सिटी पोलिक्लिनिक सुदूरपश्चिम आइकन महिलामा कुस्तीकी मनिषा सिंह, फुटबलकी दीपा रोकाया र क्रिकेटकी कविता कुँवर मनोनयनमा परेकी छिन्। मनिषाले ९ औँ राष्ट्रिय खेलकुदमा सुदूरपश्चिमलाई कुस्तीमा ५३ किलो तौल समूहमा स्वर्ण पदक दिलाएकी थिइन्। उनले एसियन छनोट प्रतियोगितामा पनि स्वर्ण हात पारेकी थिइन्। कविताले सुदूरपश्चिमलाई प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरेकी थिइन्। उनी प्रतियोगिताको सर्वोकृष्ट खेलाडी बनेकी थिइन्।  

चौथो संस्करणको ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ मार्फत वर्ष २०७९ मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड प्रदान गरिने छ। उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने भएको हो।

उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५/३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५/२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ। यस्तै सुदूरपश्चिम आईकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।  

प्रकाशित: २० जेष्ठ २०८० १३:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App