८ वैशाख २०८१ शनिबार
खेल

एसियाली खेलकुदका लागि सचिवालय

१९औं एसियाली खेलकुदको तयारीलाई थप प्रभावकारी बनाउन सचिवालयको कार्यालय सञ्चालनमा ल्याइएको छ। प्रतियोगिता चीनको होङ्झाउ सहरमा आगामी सेप्टेम्बर २३ देखि सुरु हुँदै छ। १९औं एसियाली खेलकुदको तयारीकै लागि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा सचिवालय स्थापना गरिएको हो। उक्त सचिवालयको कार्यालय युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले शुक्रबार एक कार्यक्रमबीच उद्घाटन गरे। सो अवसरमा मन्त्री लिम्बुले सचिवालय स्थापनापछि तयारीले थप तीव्रता पाउने उल्लेख गर्दै सम्बन्धित सबैले नेपालको सहभागिता उपलब्धिमूलक बनाउन जिम्मेवार भएर अगाडि बढ्नुपर्नेमा जोड दिए।  

राखेपका सदस्यसचिव टंकलाल घिसिङले आगामी आर्थिक वर्षको बजेटमा पनि एसियाली खेलकुदको बजेट सम्बोधन हुनु सुखद पक्ष भएको उल्लेख गर्दै खेलकुदमन्त्रीले पनि एसियाली खेलकुदलाई विशेष प्राथमिकता दिनुभएको बताए। सदस्यसचिव घिसिङको संयोजकत्वमा १० सदस्यीय १९औं एसियाली खेलकुद सचिवालय गठन भएको छ। राखेपका दुई सदस्य, युवा तथा खेलकुद मन्त्रालयका उपसचिव एक, प्रशासन विभागका प्रमुख, खेलकुद विकास विभागका प्रमुख, राष्ट्रिय टिम तयारीका निर्देशक, आर्थिक प्रशासन शाखा प्रमुख र आपूर्ति तथा भण्डार शाखाका प्रमुख सदस्य छन्।

त्यस्तै तालिम तथा प्रशिक्षण विभागका निर्देशक प्रचण्ड शर्माले सचिवको जिम्मेवारी पाएका छन्। उक्त एसियन गेम्समा नेपालका २३ वटा खेलले प्रतिस्पर्धा गर्ने तय थियो। यद्यपि, दुई हप्ताअगाडि सम्पन्न राखेपको ११६औं बोर्ड बैठकले केही खेल थप गर्दै नेपालका २९ वटा खेलका खेलाडीको प्रतिस्पर्धा गराउने निर्णय गरेको छ। थपिएका खेलमध्ये क्यानोइङ युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुको दबाबमा समावेश गरिएको थियो। २३ खेलमध्ये अधिकांश खेलले दोस्रो चरणका छनोट सुरु गरेका छन्।  

करातेको भने अन्तिम टोली नै घोषणा गरिसकिएको छ। सचिवालयको उद्घाटनपछि बोल्दै युवा तथा खेलकुदमन्त्री लिम्बुले एसियन गेम्समा खेलाडीलाई परिणाममुखी बनाउने लक्ष्यका साथ काम गर्न निर्देशन दिए। सदस्यसचिव घिसिङले आर्थिक वर्षको बजेटमा पनि एसियाली खेलकुदबारे सरकारले उल्लेख गरेको र अब विशेष प्रशिक्षणको तयारी भइरहेको समेत जानकारी दिए।  

त्यस कारण उनले साउन १ देखि भदै १ सम्म खेलाडीलाई क्लोज क्याम्प राख्ने बताएका छन्। सदस्यसचिव घिसिङले एसियन गेम्समा नेपालले २९ खेलमा सहभागिता जनाउने बताए। नेपाल ओलम्पिक कमिटी (एनओसी) मार्फत २९ खेलको नाम र खेलाडीको एक्रिडियसन कार्डका लागि चीनमा पठाइसकिएको घिसिङले जानकारी दिए। राखेपले अन्तर्राष्ट्रिय नतिजा र प्रदर्शनका आधारमा पदकको आशा गर्दै तीन खेललाई विशेष तयारी गराउने भन्दै पी वान क्याटागोरीमा राखेको छ। 

प्रकाशित: २० जेष्ठ २०८० ०२:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App