१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

विराट गोल्डकपमा ८७ लाख रुपैयाँ घाटा

विराट गोल्डकप प्रतियोगिताको आम्दानी र खर्चको विवरण सार्वजनिक गर्दै ट्रष्टका पदाधिकारी। तस्बिरः चुमन बस्नेत/नागरिक

विराटनगरमा चैत ९ देखि १७ गतेसम्म भएको ७ औं विराट गोल्डकप फुटबल प्रतियोगितामा ८७ लाख रुपैयाँ घाटा लागेको छ।  

विराट गोल्डकप ट्रष्टले आज आम्दानी र खर्चको विवरण पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको छ। सो अवसरमा प्रतियोगिता आयोजना गर्दा ८७ लाख १ हजार ४८ रुपैयाँ घाटा लागेको जानकारी दिएको हो। प्रतियोगिताका सहसंयोजक शुभासिश कोइरालाले आर्थिक मन्दी, उद्योगी, व्यापारीबाट आर्थिक स्रोत जुटाउन समस्या, एउटै समयमा विभिन्न स्थानमा प्रतियोगिता हुनु र सोही समयमा अन्तर्राष्ट्रिय प्रधानमन्त्री ३ नेसन प्रतियोगितामा नेपालका राष्ट्रिय खेलाडीले भाग लिन नपाउनुले पनि केही समस्या सिर्जना भयो।

उद्योगी, व्यापारीबाट प्रायोजन कम हुनु र दर्शक फाइनल खेल बाहेक अन्य खेलका दिनमा कम उपस्थितिले पनि आयोजकलाई केही आर्थिक भार व्यहोर्नु परेको सहसंयोजक कोइरालाले बताए। उनले आगामी वर्ष हुने प्रतियोगितामा यस पटकका गल्तीलाई सुधार गर्दै अघि बढ्ने भने।  

नेपालको चर्चित गोल्डकप ‘विराट गोल्डकप’ इतिहासमै पहिलो पटक ठूलो धनराशिको घाटा व्यहोर्नु परेको छ। सहसंयोजक कोइरालाका अनुसार प्रतियोगितामा १ करोड ३३ लाख १ हजार रूपैयाँ आम्दानी र १ करोड ८७ लाख ३४ हजार १ सय ४८ रूपैयाँ खर्च भएको छ। खुद घाटा ८७ लाख १ हजार ४८ हजार रूपैयाँ भएको बताए।

प्रतियोगिता आयोजना गर्दा लागेको घाटा रकम सहसंयोजक कोइराला आफैँले बेहोर्ने बताएका छन्। विराटनगर महानगरपालिका, कोशी प्रदेशको सामाजिक विकास मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्बाट १२/१२ लाख रूपैयाँ सहयोग गरेका थिए। मुख्य प्रायोजकबाट ८ लाख, प्रायोजकबाट ४ लाख, सहप्रायोजकबाट ४ लाख र पार्टनर प्रायोजकबाट ६ लाख ७५ हजार तथा टिकट बिक्रीबाट ४१ लाख ५८ हजार १ सय रूपैयाँ आम्दानी भएको छ।विजेताले २० लाख १५ हजार  र उपविजेताले १० लाख ५१ हजार तथा ट्रफी र प्रमाणपत्र पाए। अन्य व्यक्तिगत पुरस्कारको पनि व्यवस्था गरिएको थियो।

विराटनगर महानगरपालिकाका प्रमुख तथा प्रतियोगिताका संयोजक नागेश कोइरालाले आर्थिक मन्दीका कारण उद्योग, व्यापार र व्यवसायबाट आर्थिक स्रोत जुटाउन कठिनाइ भयो। विराट गोल्डकप विराटनगरको गहना भएकाले यसलाई सबैले अपनत्व ग्रहण गर्नुपर्ने बताउँदै, नागेश कोइरालाले भने, ‘सोचे जस्तो सहयोग पाइएन। विराटनगरको गहनालाई जोगाएर राख्न र निरन्तरता दिन सक्नुनै ठूलो कुरा हो। आगामी दिनमा सबैले साथ र सहयोग गर्दै गोल्डकपलाई घाटारहित बनाउन आग्रह गर्दछु।

प्रकाशित: १९ जेष्ठ २०८० १५:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App