टीका भैरव सो–क्योकुसिन कराते ब्रान्च डोजोको आयोजनामा छैटौं राष्ट्रव्यापी टीका भैरव सो– क्योकुसिन कराते प्रतियोगिता भोलि शुक्रबारदेखि हुने भएको छ।
यो प्रतियोगितामा पुरुष तर्फ ६ र महिला तर्फ १ गरी जम्मा ७ स्वर्णका लागि प्रतिस्पर्धा हुने आयोजक डोजोका प्रमुख प्रशिक्षक दिनेश नगरकोटीले जनाएका छन्। पुरुषमा ३० केजी, ३५ केजी, ४० केजी, ५० केजी, ६० केजी र खुला तौलसमूहमा प्रतिस्पर्धा हुनेछ। महिलामा खुला तौलसमूहमा खेल हुनेछ। करिब १ सय ५० खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ।
उद्घाटनका अवसरमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल ललितपुर जिल्लाका खेलाडीलाई पनि सम्मान गरिने छ। दुईदिने प्रतियोगिताका खेलहरु टीका भैरव मन्दिरको प्राङ्गणमा हुनेछ।
प्रकाशित: १८ जेष्ठ २०८० ०९:३६ बिहीबार





