११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

भलिबलमा अन्तर्राष्ट्रिय पदक पक्का

काठमाडौं- नेपालले अन्तराष्ट्रिय प्रतियोगिता खेलेको ४१ वर्ष पछि भलिबलमा आधिकारिक पदक जित्ने पक्का भएको छ। आयोजक माल्दिभ्स लगातार तेस्रो खेलमा पराजित भएपछि नेपालले एसियन सेन्ट्रल जोन भलिबलमा कास्य जित्ने पक्का भएको हो। नेपालले सोमबार प्रतियोगिताको तेस्रो खेलमा किर्गिस्तानसँग खेल्दैछ। किर्गिस्तान विरुद्धको खेलमा जुन नतिजा आएपनि नेपालले अर्को खेलमा पुन किर्गिस्तानसँगै खेल्नेछ। त्यो खेलमा सफलता हासिल गरे नेपाल फाइनलमा पुग्नेछ।

नेपालले सन् १९७६ मा पाकिस्तानमा भएको काइदे आजम आमन्त्रण भलिबलबाट अन्तराष्ट्रिय भलिबल कोर्टमा भाग लिन सुरु गरेको थियो। त्यसपछि नेपालले १९७८ मा बैककमा भएको आठौं एसियन गेम्समा भाग लिएको थियो। त्यो प्रतियोगिता नेपालले भाग लिएको अन्तराष्ट्रिय भलिबलको आधिकारिक प्रतियोगिता थियो। त्यसपछ िनेपालले लगातार दिल्लीमा १९८२ मा भएको नवौं र सियोलमा भएको १०औं एसियन खेलकुदमा प्रतिस्पर्धा गरेको थियो।

अन्तराष्ट्रिय गतिबिधीका आधारमा १९८६ देखी १९७८ सम्मको अवधिलाई नेपाली भलिबलको स्वर्णिम युगको रुपमा लिइन्छ। त्यो अवधिमा नेपाली पुरुष भलिबल टोलीले चीन, बैकक, इन्डोनेसियामा भएर प्रशिक्षण र मैत्रीपुर्ण खेल खेलेर फर्किएको थियो। मालेमा भइरहेको सेन्ट्रल जोन भलिबल नेपाली टोलीका लागि अन्तर्राष्ट्रिय पदक जित्ने अहिलेसम्मकै उत्कृष्ट अवसर थियोे। प्रतियोगिताको पहिलो संस्करणमा ९ टोलीले खेलेका थिए। तर यस प्रतियोगितामा चार देशको मात्र सहभागिता छ।

तेस्रो संस्करणमा चार टोली आयोजक माल्दिभ्स, नेपाल, किर्गिस्तान र तुर्कमेनिस्तानले खेलिरहेका छन्।

नेपालले प्रतियोगिताकै रोमाञ्चक मानिएको माल्दिभ्सविरुद्धको खेलमा सफलता हासिल गरिसकेको छ। पहिलो खेलमा तुर्कमेनिस्तानसँग सोझो सेटमा २५–२०, २५–१८, २५–२२ ले पराजित भएको थियो। तर नेपालले शुक्रबार आयोजक माल्दिभ्सलाई हराउँदै प्रतियोगिताको फाइनलमा पुग्ने सम्भावनालाई बढाएको थियो।

नेपालले माल्दिभ्ससँग पहिलो सेटमा हारको सामना गरेपछि पुनरागमन गर्न सफल भएको थियो। नेपालले घरेलु टोलीलाई २३–२५, ३३–३१, २६–२४, २५–१९ ले पराजित गरेको थियो। आधिकारिक प्रतियोगिता खेलेको चार दशक बित्दा नेपालले अन्तराष्ट्रिय पदक जित्न सकेको छैन। तर प्रतियोगितामा माल्दिभ्सलाई हराएपछि नेपालले पदक जित्ने सम्भावना बढेको थियो।

जितपछि नेपाली टोलीका प्रशिक्षक जगदिश भट्टले स्वर्ण पदक जित्ने सभ्भावना कायमै रहेको बताए। उनले भने, 'हामी खुसी छौं ऐतिहासिक पदक जित्न पाउँदा। प्रतियोगितामा अझै हामीले दुइ खेल खेल्न बाँकी छ। यसले हाम्रो स्वर्ण पदक जित्ने सभ्भावना छ। नेपालको सफलतामा योगदान दिएका सबैलाई धन्यावाद। खेलाडीको मेहनत र ब्यवस्थापनका कारण आजको सफलता सम्भव भएको हो।'

नेपालले लगातार तेस्रो पटक सेन्ट्रल जोन भलिबल खेलिरहेको छ। यसअघि बंगलादेशमा भएको दुबै संस्करणमा नेपाल सेमिफाइनलमा पुगेर फर्किएको थियो। तर तेस्रो संस्करणमा साविक विजेता अफगानिस्तान सहित सेन्ट्रल जोनका अन्य टोलीले भाग लिएका छैनन।

प्रतियोगिताको लागी नेपालले एक महिना प्रशिक्षण गरेर माले पुगेको थियो। माले जानु अघि राष्ट्रिय टोलीका कप्तान इम रानाले आधिकारिक पदक जित्ने लक्ष्य लिएको बताए। एक दशक देखी राष्ट्रिय टोलीबाट खेलिरहेका इमले भने, 'मेरो करियरकै खुसीको दिन हो। हामीले आधिकारिक पदक जित्न नसक्दा धेरै आलोचना खेप्नु परेको थियो। अब त्यो गुनासो रहने। यो उपलब्धी हासिल गर्ने मेरो टोलीका साथी, प्रशिक्षक र संघको मुख्य योगदान छ।'

४१ वर्ष अघि नेपाली जर्सीमा पाकिस्तान खेल्न गएका खेलाडी कपिल किशोर श्रेष्ठले नेपाली भलिबलको लागी आइतबार ऐतिहासिक दिन भएको बताए। उनले भने, 'सेन्ट्रल जोनमा कास्य जित्नु हाम्रो अहिले सम्मकै उपलब्धी हो। साग खेलकुदमा महिलाले कास्य जितेको छन। तर फिभले त्यसलाई मान्यता दिएको छैन। अहिलेको सफलता हासिल गर्नुमा ब्यवस्थापन र खेलाडीको मेहनत हो।'

प्रकाशित: १४ चैत्र २०७३ ०४:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App