८ वैशाख २०८१ शनिबार
खेल

चर्च ब्वाइजको उपाधि सम्भावना बलियो

कप्तान अनन्त तामाङको दुई गोलप्रेरित चर्च ब्वाइज युनाइटेडले मंगलबार विभागीय क्लब एपिएफमाथि ३–१ को जितसहित सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि सम्भावना बलियो पारेको छ।  

त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा सम्पन्न २३आंै चरणको दोस्रो खेलको तेस्रो मिनेटमै कौशल सुब्बाले गरेको गोलमा चर्च ब्वाइजले अग्रता लिएको थियो। पहिलो हाफको इन्जुरी समयको सातौं मिनेटमा अनन्तले गरेको गोलमा चर्च ब्वाइजले अग्रता दोब्बर पारेको थियो। ५५औं मिनेटमा अनन्तले व्यक्तिगत दोस्रो गोल गर्दै चर्च ब्वाइजको अग्रता ३–० मा पु¥याएका थिए। ८३औं मिनेटमा आभास लामिछानेको गोलमा एपिएफले खेलमा फर्कने प्रयास गरेको थियो। खेल सकिन एक मिनेट बाँकी रहँदा आशिष चौधरीले गरेको गोलमा चर्च ब्वाइजले सहज जित पक्का ग¥यो।

चर्च ब्वाइज २३ खेलमा ४१ अंकसहित शीर्ष स्थानमा यथावत् छ, जुन दोस्रो स्थानको जावलाखेल युथ क्लबभन्दा ४ अंक बढी हो। पछिल्लो तीन खेलमा पनि बालगोपाल महर्जनको टोली चर्च ब्वाइजसामु शीर्ष स्थानको अग्रता फराकिलो पार्ने अवसर भए पनि उनको टोली त्यसमा सफल भएन। पछिल्लो ३ खेलमा उनको टोलीले मात्र २ अंक जोडेको थियो। यस क्रममा चर्च ब्वाइजले मनाङ मस्र्याङदी क्लब र हिमालयन शेर्पा क्लबसँग अंक बाँडेको थियो भने संकटा क्लबसँग १–० ले पराजित भएको थियो।  

यसै सिजन मात्र शीर्ष डिभिजनमा बढुवा भएको चर्च ब्वाइजले डेब्यु सिजनमै लिग उपाधिको सम्भावना बलियो पारेको हो। चर्च ब्बाइजले अन्तिम तीन खेलमा क्रमशः जावलाखेल, थ्री स्टार क्लब र एफसी खुलमटारविरुद्ध खेल्नेछ।  

पछिल्लो खेलमा जावलाखेललाई २–० ले स्तब्ध पारेको एपिएफले चर्च ब्वाइजविरुद्ध भने सोही लय कायम राख्न सकेन।  

तेस्रो स्थानमा रहेको साबिक विजेता मच्छिन्द्र फुटबल क्लबको ३६ अंक छ। यद्यपि मच्छिन्द्रले चर्च ब्वाइज र जावलाखेलको भन्दा एक खेल कम खेलेको छ। चौथो स्थानको नेपाल पुलिस क्लबको २२ खेलमा ३१ अंक छ भने पाँचांै स्थानको त्रिभुवन आर्मी क्लबको २३ खेलमा ३० अंक रहेको छ। छैटौं स्थानको एपिएफको भने २३ खेलमा २९ अंक छ।  

यता जावलाखेलले मंगलबार नै सम्पन्न खेलमा आर्मीलाई २–० ले हराउँदै उपाधि सम्भावना जीवित राखेको छ। जावलाखेलको जितमा एनकोटो मोसाबीले दुई गोल गरे। 

प्रकाशित: १७ जेष्ठ २०८० ०१:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App