८ वैशाख २०८१ शनिबार
खेल

काठमाडौं च्याम्पियन, अन्तर प्रदेश खेलकुद गर्ने योजना

दोस्रो बागमती प्रदेश खेलकुदको च्याम्पियन काठमाडौं जिल्ला समारोहका अतिथीहरूका साथमा। तस्बिर: नागरिक

तेस्रो संस्करणमा भेट्ने बाचासहित बागमती प्रदेश खेलकुदको दोस्रो संस्करण शनिबार हेटौंडामा एक समारोहका बीच सम्पन्न भएको छ।

बागमती प्रदेश खेलकुद परिषद्को आयोजना भएको सातदिने खेलकुद हेटौंडाको पिप्ले क्याम्पा रंगशालामा एक समारोहबीच सम्पन्न भएको हो। तेस्रो संस्करण अन्तर प्रदेश खेलकुद छनोटको रूपमा रहने आयोजक बागमती प्रदेश खेलकुद परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारीले जानकारी दिए।

प्रदेश खेलकुद आयोजनाको सुरुआत गरेको बागमती प्रदेश खेलकुद परिषद्ले अन्तर प्रदेश खेलकुद प्रतियोगिता पनि गर्ने भएको हो। समापन समारोहको अवसरमा सदस्यसचिव भण्डारीले आगामी योजना बारे उल्लेख गर्दै अन्तर प्रदेश खेलकुद आगामी आर्थिक वर्षको फागुनमा आयोजना गर्ने जानकारी दिएका हुन्।

तेस्रो संस्करण अन्तर प्रदेश खेलकुद छनोटको रूपमा रहने भएको छ। प्रदेश खेलकुद आयोजनाको सुरुआत गरेको बागमती प्रदेश खेलकुद परिषद्ले आगामी फागुनमा अन्तर प्रदेश खेलकुद प्रतियोगिता गर्न लागेको हो।

बागमती प्रदेश सरकारका मुख्यमन्त्री सालिकराम जमकट्टेलले उद्घाटन समारोहमा नै जारी आयोजनालाई निरन्तरता दिँदै अन्तर प्रदेश खेलकुद आयोजनामा लाग्न निर्देशन दिएका थिए।

 मुख्यमन्त्री जमकट्टेल समापन समारोहमा पनि उपस्थित भए। पिप्ले क्याम्पा रंगशालामा आतिसबाजी र सांगीतिक प्रस्तुतीका साथ समापन समारोह सम्पन्न भयो। समापन समारोहमा अन्तिम तथा १६८औं स्वर्णका लागि पुरुष फुटबलको फाइनलमा मकवानपुर र काठमाडौं भिडे। जहाँ मकवानपुरले पेनाल्टी सुटआउटमा काठमाडौंलाई ४-३ ले हराउँदै स्वर्ण जित्यो। त्यो नतिजासँगै १३ खेलको प्रतिस्पर्धा सकिए।

दोस्रो संस्करणमा काठमाडौं ३१ स्वर्णसहित टिम च्याम्पियन बन्यो। काठमाडौंले थप २२ रजत र २५ कांस्य पनि जित्यो। डिफेन्डिङ च्याम्पियन चितवन दोस्रो स्थानमा रहँदा काभ्रे तेस्रो भयो। चितवनले २३ स्वर्ण, २४ रजत र २५ कांस्य तथा काभ्रेले २२ स्वर्ण, १३ रजत र १८ कांस्य पदक प्राप्त गर्‍यो। शीर्ष तीन स्थानमा रहेका टोलीलाई मुख्यमन्त्री सालिकराम जमकट्टेल, बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तान र प्रतियोगिता संयोजक तथा बागमती प्रदेश खेलकुद परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारी लगायतले पुरस्कृत गरे।

दोस्रो संस्करणमा काठमाडौं ३१ स्वर्णसहित टिम च्याम्पियन बन्यो। काठमाडौंले थप २२ रजत र २५ कांस्य पनि जित्यो। डिफेन्डिङ च्याम्पियन चितवन दोस्रो स्थानमा रहँदा काभ्रे तेस्रो भयो।

चार जिल्लामा प्रतिस्पर्धा गराइएको खेलकुदमा १३ खेलमध्ये १२ खेलका कुल १६८ स्वर्ण पदक गणना भएको थियो। १३ जिल्लामध्ये धादिङ र रसुवा स्वर्ण पदकविहीन रह्यो। धादिङ ६ रजत र १४ कांस्य तथा रसुवा दुई रजत र पाँच कांस्य पदकमा नै सीमित भयो। १३ जिल्लाका करिब २५ सय खेलाडीले प्रतिस्पर्धा गरेका थिए।

प्रतियोगिताका हरेक स्वर्ण विजेताले खेल प्रतिस्पर्धा सकिए लगत्तै पाँच हजार नगद पुरस्कार पाए। रजत र कांस्य पदक विजेता पनि क्रमशः चार हजार र तीन हजार रूपैयाँ नगद पुरस्कार प्राप्त गरे। 

प्रकाशित: १४ जेष्ठ २०८० ०३:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App