८ वैशाख २०८१ शनिबार
खेल

नेपाल समूह उपविजेता

भारतसँग ३–१ को सेटमा पराजित भएसँगै नेपाल राजधानीमा जारी काभा महिला भलिबल च्यालेन्ज कपमा समूह ‘ए’ को उपविजेता बनेको छ।  

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सम्पन्न समूह ‘ए’ को अन्तिम खेलमा नेपाल भारतसँग ३–१ को सेटमा पराजित हुँदै उपविजेताका रूपमा सेमिफाइनलमा पुगेको हो। अब नेपालले सेमिफाइनलमा समूह ‘बी’ को विजेता काजकस्तानसँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ। बुधबार भएको खेलमा काजकस्तानले उब्जेकिस्तानलाई पराजित गर्दै समूह ‘बी’ को विजेताका रूपमा अन्तिम चारमा प्रवेश गरेको हो। काजकस्तानले उज्बेकिस्तानलाई २६–२४, २५–१६, २५–११ र २५–१८ ले हराउँदै समूहविजेता बन्दै सेमिफाइनलमा पुगेको हो। भारतले सेमिफाइनलमा समूह ‘बी’ को उपविजेता उज्बेकिस्तानसँग खेल्नेछ।

बुधबार भएको खेलमा नेपाल भारतसँग ३–१ ले पराजित भयो। नेपालले पहिलो सेट १२–२५ ले गुमाएको थियो। पहिलो सेट सस्तैमा गुमाए पनि नेपालले त्यसपछिको सेटमा भने पुनरागमनको प्रयास गरेको थियो। प्रतिस्पर्धात्मक बनेको दोस्रो सेट नेपालले २४–२६ ले गुमाउन पुग्यो। निकै नै प्रतिस्पर्धात्मक र रोमाञ्चक तेस्रो सेट नेपालले २५–२० ले आफ्नो पक्षमा पारेको थियो। चौथो तथा अन्तिम सेट नेपालले २५–२१ ले गुमाउँदै समूह उपविजेता बनेको हो। चौथो सेटमा नेपाल एक समय १८–१५ को अग्रतामा थियो। तर त्यो अवस्थाबाट भारतले राम्रो प्रदर्शन गर्दै जित पक्का गर्न सफल भएको हो।

खेलपछिको पत्रकार सम्मेलनमा बोल्दै नेपाली टोलीकी कप्तान अरूणा शाहीले सुरुआती तालमेल अभावले गर्दा अपेक्षाअनुसारको खेल नभएको बताइन्। टोलीमा रिसिभ र केही सामान्य गल्ती हुँदै गर्दा पहिलो सेट गुमाउन पुगेको र अन्तर्राष्ट्रिय अनुभव नहुँदा पछिल्ला सेटमा अपेक्षाअनुसारको प्रदर्शन नभएको उनले बताइन्।

यस्तै बेल्जियन प्रशिक्षक जान डी ब्रान्टले टोलीको प्रदर्शनमा सन्तुष्ट रहेको र टोलीको सुधारका लागि अझै समय लाग्ने प्रतिक्रिया दिए। कप्तान अरूणाले भने जस्तै प्रशिक्षक ब्रान्टले पनि सुरुआती सेट गुमाएपछि बाँकी सेटमा नेपाली टोली खुलेर खेल्न नसकेको बताए।

समूहचरणको अन्तिम खेलअन्तर्गत बुधबारकै अर्को खेलमा श्रीलंकाले मल्दिभ्सलाई हराएर जारी प्रतियोगितामा सुखद अन्त्य गरेको छ। पहिलो सेटबाट नै हावी भएको श्रीलंकाले माल्दिभ्समाथि ३–० को सोझो सेटमा जित निकाल्न सफल भएको हो। श्रीलंकाले माल्दिभ्सलाई २५–१८, २५–१३, २६–२४ ले पराजित गर्न सफल भएको हो। यद्यपि दुवै टोली सेमिफाइनलबाट बाहिरिएका छन्।

प्रकाशित: ११ जेष्ठ २०८० ०१:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App