८ वैशाख २०८१ शनिबार
खेल

तेस्रो दिन ८४ स्वर्ण छिनोफानो

बाग्मती प्रदेशका चार जिल्लामा प्रतिस्पर्धा भएको दोस्रो बाग्मती प्रदेश खेलकुदमा तेस्रो दिनसम्म मंगलबार कुल ८४ स्वर्ण पदक छिनोफानो भएको छ।

बाग्मती प्रदेश खेलकुद परिषद्को आयोजनामा जारी सात दिने बाग्ममीको बृहत् खेलकुदमा कुल २ सय १९ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने तय छ। मंगलबारसम्म एथलेटिक्समा १६ स्वर्ण, आइटिएफ तेक्वान्दोमा २९ स्वर्ण, करातेमा १७ स्वर्ण र तेक्वान्दो २१ स्वर्णका लागि प्रतिस्पर्धा भइसकेको छ। महिला क्रिकेटको प्रतिस्पर्धा पनि सोमबार नै सम्पन्न हुँदा कुल ८४ स्वर्ण पदकको टुङ्गो लागेको हो। आइटिएफ, महिला क्रिकेट, कराते र तेक्वान्दो गरी चार विधाको खेल सम्पन्न भएका छन्।

बाग्मती प्रदेशका १३ जिल्ला करिब २६ सय खेलाडीले १३ खेल विधामा प्रतिस्पर्धा गर्ने तय छ। १३ खेलमध्ये काठमाडौंमा हुने पौडीको २० स्वर्ण भने पदकतालिकामा गणना नहुने बाग्मती प्रदेश खेलकुद परिषद्का कार्यालय प्रमुख देवनारायण चौधरी जानकारी दिए। यद्यपि, पौडीमा शीर्ष तीन स्थानमा रहने खेलाडीले नगद पुरस्कारका साथै दैनिक भत्ता पनि पाउने चौधरीले जानकारी दिए।  

आइटिएफमा काभ्रे च्याम्पियन

काभ्रे जिल्ला जारी दोस्रो बागमती प्रदेश खेलकुदअन्तर्गत आइटिएफ तेक्वान्दो टिममा च्याम्पियन भएको छ। हुप्रा चौरमा मंगलबार सम्पन्न आइटिएफ तेक्वान्दोमा कुल १० स्वर्ण, ६ रजत र एक कांस्यसहित टिम च्याम्पियन भएको हो। दुई दिनसम्म चलेको आइटिएफमा कुल २९ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो। प्याटर्नतर्फ १२ स्वर्ण र फाइटमा १७ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो। पुरुषमा चितवनका आरएन महतो र महिला चितवनकै सुस्मिता तामाङ उत्कृष्ट खेलाडी भए। आरएनले प्याटर्नतर्फ पहिलो डान र फाइटमा पुरुष ६१–६५ केजी तौलसमूहमा स्वर्ण जितेका थिए।

सुस्मिताले पनि प्याटर्नमा पहिलो डानतर्फ र फाइटमा ४१–४५ केजी तौलसमूहमा स्वर्ण जितेकी थिइन्। चितवन ६ स्वर्ण, दुई रजत र दुई कांस्यसहित दोस्रो भयो। तेस्रो स्थानको भक्तपुरले पाँच स्वर्ण, आठ रजत र दुई कांस्य प्राप्त गर्यो। चौथो स्थानमा रहेको काठमाडौंले चार स्वर्ण, तीन रजत र पाँच कांस्य पदक जित्यो। ललितपुरले तीन स्वर्ण, पाँच रजत र ९ कांस्य पदक जित्दै पाँचौं स्थानमा रह्यो। नुवाकोटले एक स्वर्ण र चार कांस्य पदक प्राप्त गर्यो।

विजेता खेलाडी तथा टिमलाई सामाजिक विकास मन्त्री कुमारी मोक्तान र बागमती प्रदेशका सदस्यसचिव सूर्यलाल भण्डारीले पुरस्कृत गरेका थिए। प्रतियोगितामा स्वर्ण विजेताले पाँच हजार, रजतले चार हजार र कांस्य विजेताले तीन हजार नगद पुरस्कार प्राप्त गरे।  

तेक्वान्दोमा काठमाडौंलाई सफलता

काठमाडौं दोस्रो बागमती प्रदेश खेलकुदअन्तर्गत तेक्वान्दोमा टिम च्याम्पियन बनेको छ। काठमाडौं ८ स्वर्ण, तीन रजत र दुई कांस्य जित्दै समग्रमा टिम च्याम्पियन बन्यो। हुप्राचौरमा भएको प्रतियोगितामा तीन स्वर्ण, दुई रजत र दुई कांस्यसाथ नुवाकोट दोस्रो भयो। तेस्रो स्थानको ललितपुरले २ स्वर्ण, २ रजत र १ कांस्य हात पारेको तेक्वान्दोका मुख्य प्रशिक्षक एवं तेक्वान्दोका संयोजक नवीनकुमार श्रेष्ठले जनाएका छन्। प्रतियोगिताको पुरुषमा नुवाकोटका धनबहादुर तामाङ तथा महिलामा सिन्धुपाल्चोककी सुस्मिता तामाङ उत्कृष्ट खेलाडी घोषित भए।

कराते: काठमाडौं नै अब्बल

दोस्रो बागमती प्रदेश खेलकुदअन्तर्गत करातेमा पनि काठमाडौंकै वर्चस्व रह्यो। सहभागी १३ वटै जिल्लालाई उछिन्ने क्रममा काठमाडौंले सर्वाधिक पाँच स्वर्ण, तीन रजत र दुई कांस्य जित्दै समग्रमा टिम च्याम्पियनको उपाधि उचाल्यो।

दोस्रो स्थानको मकवानपुरले तीन स्वर्ण र तीन कांस्य प्राप्त गर्यो। समान २-२ स्वर्ण, रजत र कांस्य पदकका साथ सिन्धुपाल्चोकले तेस्रो स्थानमा चित्त बुझायो। पुरुषमा मकवानपुरका रोशन बलामी तथा महिलामा काभ्रेकी मनिका तामाङ उत्कृष्ट खेलाडी चुनिए।

प्रकाशित: १० जेष्ठ २०८० ०१:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App