५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

बराबरीमा रोकियो चर्च ब्वाइज

चर्च ब्वाइज (सेतो) र हिमालयन शेर्पाका खेलाडी बलका लागि प्रतिस्पर्धा गर्दै । तस्बिर सौजन्य: एन्फा

हिमालयन शेर्पासँग १–१ को बरााबरीमा रोकिएसँगै शीर्ष स्थानको चर्च ब्वाइज युनाइटेडले सोमबार सहिद स्मारक ‘ए’डिभिजन लिगको शीर्ष स्थानमा अंकदूरी बढाउने अवसर गुमाएको छ।  

शीर्ष स्थानको चर्च ब्वाइजको २० खेलमा ३७ अंक छ। जुन दोस्रो स्थानको साबिकको विजेता मच्छिन्द्र फुटबल क्लबको भन्दा ३ अंक मात्र बढी हो सोमबार हिमालयन शेर्पामाथि जित निकाल्न सकेको भए चर्च ब्वाइजले शीर्ष स्थानको अग्रता ५ अंकमा पुर्याउने थियो। तेस्रो स्थानको जावलाखेल युथ क्लबको ३३ अंक रहेको छ।  

च्यासल फुटबल मैदानमा सम्पन्न खेलको १४औं मिनेटमा स्ट्राइकर अञ्जन विष्टको गोलमा चर्च ब्वाइजले अग्रता लिएको थियो। ३६औं मिनेटमा अबायोमी फाकुल्नेले गरेको गोलमा हिमालयन शेर्पा खेलमा फर्किएको थियो।  

‘आज हामीसँग शीर्ष स्थानको अग्रता फराकिलो पार्ने अवसर थियो, तर हामीले अवसर गुमायांै,’चर्च ब्वाइजका प्रशिक्षक बालगोपाल महर्जनले भने, ‘हामीले अग्रता लिएका पनि हौं तर यसअघिको खेलझैं यस खेलमा पनि हामीले बल नियन्त्रणमा राखेर खेल्न सकेनौं। हामीसँग अझै ६ खेल बाँकी छ र हामीलाई शीर्ष स्थान जोगाउने चुनौती पनि छ। हामी लिग उपाधि जित्ने लक्ष्यका साथ आएका हांै र त्यो लक्ष्य अझै कायमै छ।’

आजै एन्फा मुख्यालय सातदोबाटोमा सम्पन्न खेलमा त्रिभुवन आर्मी क्लबले फ्रेन्ड्स क्लबलाई ३–० ले हरायो।

२६औं मिनेटमा जगजित श्रेष्ठले गरेको गोलमा आर्मीले अग्रता लिएको थियो। ७५औं मिनेटमा नवयुग श्रेष्ठले पेनाल्टीको सदुपयोग गर्दै आर्मीको अग्रता दोब्बर पारेका थिए। इन्जुरी समयमा सुदिल राईको गोलमा आर्मीले अग्रता ३–० मा पुर्याएको थियो।  पाँचौं स्थानको आर्मीको २० खेलमा २९ अंक छ भने समान खेलमा १३औं स्थानको फ्रेन्ड्सको २९ अंक रहेको छ। 

प्रकाशित: ९ जेष्ठ २०८० ०१:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App