८ वैशाख २०८१ शनिबार
खेल

बाग्मती प्रदेश खेलकुदमा काठमाडौंको अग्रता

चार जिल्लाबीच प्रतिस्पर्धा भइरहेको बाग्मती प्रदेश खेलकुदको दोस्रो दिन सोमबारसम्म काठमाडौंले पदकतालिकामा अग्रता बनाएको छ।

बाग्मती प्रदेश खेलकुद परिषद्को आयोजना जारी दोस्रो संस्करणको खेलकुदमा कुल २ सय १९ स्वर्ण पदकका लागि १३ जिल्लाका दुई हजार पाँच सय दुई खेलाडी प्रतिस्पर्धा गर्दै छन्। दोस्रो दिनसम्म सोमबार ३६ स्वर्णको छिनोफानो हुँदा काठमाडौंले १० स्वर्ण पदक जित्दै पदकतालिकामा अग्रता बनाएको हो। काठमाडौंले दुई रजत र एक कांस्य पदक जितेको छ। काठमाडौंले करातेमा नै पाँच स्वर्ण जितेपछि पदकतालिकामा वर्चस्व जमायो। त्यस्तै काभ्रेले कुल सात स्वर्ण जित्दै काठमाडौंलाई पछ्याइरहेको छ। आइटिएफ तेक्वान्दोमा नै सात स्वर्ण जितेपछि काभ्रे दोस्रो दिन पदकतालिकाको दोस्रो स्थानमा आएको हो। काभ्रेले दुई रजत र सात कांस्य पदक पनि जितेको छ। चितवन पनि ६ स्वर्ण, तीन रजत र पाँच कांस्य पदक जित्दै तेस्रो स्थानमा छ। चितवनले आइटिएफ तेक्वान्दोमा नै पाँच स्वर्ण जितेपछि पदकतालिकाको तेस्रो स्थान ओगेटको हो। आइटिएफमा दोस्रो दिन सोमबार १७ स्वर्ण पदकको टुङ्गो लागेको छ। महिला क्रिकेटमा काठमाडौं च्याम्पियन बन्यो।

पुरुष क्रिकेट पनि चितवनमा मंगलबारदेखि सुरु हुँदै छ। काठमाडौंमा जुडो र उसु, ललितपुरमा पौडी तथा चितवनमा क्रिकेटका प्रतिस्पर्धा भए। बाँकी ९ खेल मकवानपुरका विभिन्न खेलमैदानमा हुने आयोजकले जनाएको छ। प्रतियोगिता जेठ १३ गतेसम्म सञ्चालन हुनेछ। बाँकी खेल भने सोमबारदेखि सुरु हुँदै छ। प्रतियोगितामा २१९ स्वर्ण, २१९ रजत र ३५६ कांस्य गरी कुल सात सय ९४ पदकका लागि १३ जिल्लाका खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिताको स्वर्ण विजेताले पाँच हजार, रजत पदक विजेता चार हजार र कांस्य विजेताले तीन हजार पुरस्कार पाउने बाग्मती प्रदेश खेलकुद परिषद्का कार्यालय प्रमुख देवनारायण चौधरीले जानकारी दिए।

आइटिएफ तेक्वान्दोमा १७ स्वर्ण  

ललितपुरकी सुस्मिता केसीले दोस्रो बाग्मती प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत आइटिएफ तेक्वान्दोको तेस्रो डान प्याटर्नमा स्वर्ण जितेकी छन्।

हेटौडास्थित हुप्राचौर खेल मैदानमा सोमबारदेखि सुरु भएको आइटिएफको महिला सिनियर प्याटर्न (तेस्रो) मा सुस्मिताले अनुभवी खेलाडी चितवनकी रुविका खड्कालाई हराउँदै स्वर्ण जितेकी हुन्। यसै विधाको पुरुषमा काभ्रेका मनीष भैलले स्वर्ण जित्दा ललितपुरका सागर श्रेष्ठलाई पछि पारे। सोमबार फाइट र प्याटर्न गरी कुल १७ स्वर्ण पदकका लागि छिनोफानो भएको छ।

दोस्रो डान प्याटर्नअन्तर्गत पुरुषमा ललितपुरका विष्णु भण्डारीले स्वर्ण र भक्तपुरका सिजन राई तथा महिलामा काभ्रेकी श्रृष्टि मल्लले स्वर्ण र ललितपुरकी दिलशा खत्रीले रजत पदक जिते। पहिलो डान प्याटर्नको महिलामा चितवनकी सुस्मिता तामाङ र भक्तपुरकी सबिना तामाङ शीर्ष दुई स्थानमा रहे। यसै विधाको पुरुषमा चितवनका आरएन महतोले स्वर्ण र भक्तपुरका सौरभ विश्वकर्माले रजत पदक प्राप्त गरे। जुनियर बेल्टमा पुरुषको रातो पेटीमा काभ्रेका रिजुल श्रेष्ठले स्वर्ण र सिन्धुपाल्चोकका सन्दीप सिम्खडाले रजत पदक जिते।

यसै विधाको महिलामा भक्तपुरकी मुना राई स्वर्ण र चितवनकी सुस्मा तामाङ रजत जित्न सफल भए। नीलो पेटीतर्फ महिलामा ललितपुरकी आहाना तामाङले स्वर्ण र काभ्रेकी तुलसा गौतमले रजत पदक जिते। यसै विधाको पुरुषतर्फ काभ्रेका सुमन थापामगर स्वर्ण र रामेछापका साहिल दोङ रजत पदक जित्न सफल भए। पुरुष टिम प्याटर्नमा काभ्रेले स्वर्ण जित्दा भक्तपुरलाई पछि पार्यो। महिलातर्फ भने चितवन पहिलो र भक्तपुर दोस्रो स्थानमा रह्यो।

महिला क्रिकेटमा काठमाडौं च्याम्पियन

यशोदा विष्टको अलराउन्ड प्रदर्शनमा काठमाडौंले दोस्रो बागमती प्रदेश खेलकुदअन्तर्गत सोमबार महिला क्रिकेटको उपाधि जितेको छ।

चितवनस्थित गौतम बुद्ध क्रिकेट मैदानमा सम्पन्न फाइनलमा काठमाडौंले घरेलु टोली चितवनमाथि ५७ रनको रबाफिलो जितसहित उपाधि उचालेको हो। १२५ रनको लक्ष्य पछ्याएको चितवन १५.१ ओभरमा ६७ रनमै समेटिएपछि काठमाडौंले सहज जितसहित उपाधि उचाल्यो। काठमाडौंका बलर बिपिशा शाही र संस्कृति फुँयालले तीन तथा यशोदा विष्टले दुई विकेट लिँदै चितवनको इनिङ सस्तैमा समेटे। चितवनका लागि आरती बिडारीले २८ रनबाहेक अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन्।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १ सय २४ रनको योगफल खडा गरेको थियो। काठमाडौंका लागि यशोदा विष्टले सर्वाधिक ४३ रन जोड्दा विन्दा कटवाल ४० रनमा नटआउट रहिन्। चितवनकी हेलिशा गुरुङले दुई तथा सुमन खतिवडाले एक विकेट लिए। फाइनलमा अलराउन्ड प्रदर्शन गरेकी काठमाडौंकी यशोदा विष्ट प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भइन्। चितवनकी सुमन खतिवडा उत्कृष्ट ब्याटर र काठमाडौंकी संस्कृति फुँयाल उत्कृष्ट बलर घोषित भए।  

एथलेटिक्समा अस्मिता र विकेशलाई स्वर्ण

सिन्धुपाल्चोककी अस्मिता भुजेल र दोलखाका विकेश घिमिरेले दोस्रो बाग्मती प्रदेश खेलकुद प्रतियोगिताको एथ्लेटिक्सतर्फ १५०० मिटर दौडमा स्वर्ण जितेका छन्। हेटौडास्थित पिप्ले क्याम्पा रंगशालामा सोमबारदेखि सुरु भएको प्रतिस्पर्धामा अस्मिता महिलातर्फ र विकेश पुरुषतर्फ स्वर्ण विजेता हुन्। विकेशले ४ मिनेट ३३ सेकेन्ड समय लगाए। सो विधामा नुवाकोटको दिनेश राईले रजत र काठमाडौंका पवनकुमार साहले कांस्य पदक जिते। महिलामा स्वर्ण विजेता अस्मिताले पाँच मिनेट ३२ सेकेन्ड समय लगाइन्। रामेछापकी भगवती खड्काले रजत र दोलखाकी सोनी घोतानेले कांस्य जिते। हाइजम्पमा दोलखाकी रोजिना कार्कीले स्वर्ण प्राप्त गरिन्। उनी १.३१ मिटर उचाई माथि उफ्रिन्।

चितवनकी करुणा बोटले रजत र काभ्रेकी कविता गौतमले कांस्य पदक पाए। यसै विधामा पुरुषतर्फ चितवनका अविनाश सुनारले स्वर्ण जिते। उनी १.६९ मिटर उचाइ उफ्रिए। सिन्धुलीका रोशनकुमार दनुवार रजत र चितवनका समीर चौधरी कांस्य पदक जित्न सफल भए। डिस्कस थ्रोमा महिलातर्फ रामेछापकी अनिता कार्कीले २१.९८ मिटर पर फ्याक्दै स्वर्ण जिते। दोलखाकी ममता सुनुवार रजत र नुवाकोटकी रोजिना राई कांस्य पदक जित्न सफल भए।

पुरुषतर्फ भने रामेछापका रामकुमार माझीले स्वर्ण पदक प्राप्त गरे। उनले २७.७० मिटर पर फ्याके। चितवनका ललित राउत रजत र दीपेश महतो कांस्य जित्न सफल भए। 

प्रकाशित: ९ जेष्ठ २०८० ०१:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App