४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

कास्कीमा फुटबलको ग्रासरुट कार्यक्रम

एशियन फुटबल कन्फेडेरेसन (एएफसी) ले वर्षेनी मे १५ मा ग्रासरुट फुटबल दिवस (डे) को रुपमा मनाउदै आएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले १२ वर्षमुनिलाई राखेर ग्रास रुट कार्यक्रम गर्दै आएको छ। ग्रासरुट कार्यक्रम गर्न आफना सदस्य देशहरुलाई एएफसीले निर्देशन गर्ने गरेको छ। निर्देशन अनुसार अखिल नेपाल फुटबल संघले आफनो जिल्ला फुटबल संघमा ग्रासरुट कार्यक्रम गरेको छ।

एन्फाले आफना सदस्य जिल्ला मध्ये चार जिल्लामा ग्रासरुट कार्यक्रम गर्दै ग्रासरुट दिवस मनाएको छ। कास्की जिल्ला फुटबल संघले शनिबार पोखरा रंगशालामा ग्रासरुट कार्यक्रममा एकसय भन्दा बढी १२ वर्षमुनिका बालकलाई सहभागिता गराएको थियो । एन्फाले कास्कीअघि धरान, सुनसरी र केन्द्रीय कार्यालयमा ग्रास रुट कार्यक्रम गरेको अखिल नेपाल फुटबल संघ एन्फा ग्रासरुट संयोजक पंकज शाहीले बताए। उनले फुटबलको हब भएको जिल्लामा ग्रासरुटको कार्यक्रमलाई प्रभावकारी बनाई खेलाडी उत्पादनमा विशेषजोड दिइएको उल्लेख गरे।

संयोजक शाहीले ग्रासरुट कार्यक्रम गरिएको केन्द्र, कास्की, धरान र सुनसरीमा गरी ५ सय ५० जना १२ वर्षमुनिका खेलाडीलाई समेटिएको जानकारी दिए। साना बालबालिकालाई फुटबलमा संलग्नता गराउने उद्देश्य मात्रै नभई फुटबलको विकासमा नयाँ टेवा दिने विश्वास समेत ग्रासरुट कार्यक्रमको रहेको स्पष्ट पारे। उनले फुटबल केवल खेल मात्रै नभई मनोविज्ञानमा समेत प्रभाव पार्ने भएकोले पनि ग्रास रुटलाई विशेष प्राथमिकतामा राखिएको सुनाए।

ग्रासरुट कार्यक्रमको प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष ध्वजकुमार गुरुङले उदघाटन गर्दै ग्रास रुट कार्यक्रमले खेलकुद क्षेत्रमा सकारात्मक प्रभाव पार्ने भन्दै सबै खेलले ग्रासरुट कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। उनले ग्रास रुटबाटै खेलाडी उत्पादन हुने हुदाँ ग्रासरुटलाई विशेष ध्यान दिनुपर्ने खाँचो औंल्याए। कास्की जिल्ला फुटबल संघका अध्यक्ष उज्वल रन्जितले फुटबलको जग नै ग्रासरुट भएको बताउँदै ग्रासरुट कार्यक्रम जति प्रभावकारी बन्यो उति नै खेलाडी उत्पादन हुने विश्वास व्यक्त गरे।

उनले कास्की जिल्ला फुटबल संघले मात्रै नभई अन्य संघमा आवद्ध क्लबहरुले समेत फुटबल एकेडेमी सञ्चालन गरिरहेको उल्लेख गरे। पोखरा रंगशालामा हप्ताको पाँचदिन फुटबल एकेडेमीको प्रशिक्षण हुदै आएको छ। पाँचजना प्रशिक्षकले प्रशिक्षण गराउँदै आएका छन। एकेडेमीमा यु ८ देखि यु १६ सम्मका खेलाडीहरु प्रशिक्षण लिईरहेका छन्।  

प्रकाशित: ६ जेष्ठ २०८० १२:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App