१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

सेनाका रावलले जिते विराट– वर्जु हाफ म्याराथनको उपाधि

विराट– वर्जु हाफ म्याराथन दौडको उपाधि नेपाली सेनाका  नरेन्द्रसिंह रावलले जितेका छन् । पर्यटन, वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशले शनिबार आयोजना गरेको प्रतियोगितामा निर्धारित २३ किलोमिटर दूरी १ घण्टा १७ मिनेट २८ सेकेण्डमा पूरा गरेर रावलले उपाधि जितेका हुन् ।

उपाधिसंगै रावलले नगद १ लाख राशीको पुरस्कार पनि प्राप्त गरेका छन् । यस्तै दोस्रो पुरस्कार नेपाली सेनाकै सुशील कुमार शाहीले  जिते । उनले १ घण्टा १८ मिनेटमा निर्धारित दूरी पुरा गरेका थिए । शाहीले नगद ७५ हजार रुपैयाँ पुरस्कार पनि प्राप्त गरेका छन् । ५० हजार रुपैयाँ राशी सहितको तेस्रो पुरस्कार नेपाली सेनाकै  मोहनदेव जोशीले प्राप्त गरे । उनले १ घण्टा १८ मिनेट ३३ सेकेण्डमा निर्धारित दूरी पार गरेका थिए । नेपाली सेनाका होमलाल श्रेष्ठले १ घण्टा १९ मिनेट ३९ सेकेण्डमा दुरी पूरा गरेर चौथो भए । नेपाली सेनाकै श्रीकाश राई पाँचौं र सशस्त्र प्रहरी बलका किरणसिंह बोगटी छैटौं भए । उनीहरूले जनही १५ हजार रुपैयाँ राशीको सान्त्वना  पुरस्कार प्राप्त गरे । 

यस्तै  विराट–बर्जु हाफ म्याराथन अन्तर्गत नै महिलातर्फको ५ किलोमिटर दौडमा नेपाल प्रहरीकी रेखा विष्ट १९ मिनेट ४ सेकेण्डमा दूरी पूरा गरेर पहिलो भइन् । सशस्त्र प्रहरी बलकी सीमा थारु चौधरी १९ मिनेट ११ सेकेण्डमा दूरी पार गरेर दोस्रो भइन् भने नेपाल प्रहरीकी तिर्सना कुमाल तेस्रो र विराटनगरकी अंशु मण्डल चौथो भइन्  ।  

महिलातर्फ पहिलो भएकी रेखा विष्टले २५ हजार, दोस्रो हुने चौधरीले २० हजार र तेस्रो हुने कुमालले १५ हजार रुपैयाँ पाए । विजेताहरूलाई कोशी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्री जीवन आचार्य, मन्त्रालयका सचिव डा संजीव राई, प्रदेशसभा सदस्य अमृत अर्याल, वर्जुगाउँपालिकाका अध्यक्ष जिवछ राय लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।  यस्तै महिला तर्फ सहभागी भई छैठौं हुने १० वर्षीया जुली राई र सातौं हुने ११ वर्षीया विनिता राईलाई नगद ५ हजार रुपैयाँ पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।

समापन समारोहलाई सम्बोधन गर्दै पर्यटन, वन तथा वातावरण मन्त्री जीवन आचार्यले खेलकुद पर्यटनको माध्यमबाट कोशी प्रदेशको राजधानी वरपरका दुई ऐतिहासिक पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले खुल्ला हाफ म्याराथन प्रतियोगिता आयोजना गरिएको बताए । पौराणिक महत्वका विराट राजाको दरबार र बर्जु ताललाई जोडेर पर्यटन हबका रुपमा विकास गर्ने प्रदेश सरकारको योजना रहेको जानकारी दिए ।  

 

प्रकाशित: ६ जेष्ठ २०८० १०:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App