coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

उपाधिमा ह्याट्रिक गर्ने विश्वास

नेपाली राष्ट्रिय महिला भलिबल टोलीका प्रशिक्षक जगदीश भट्टले अर्को हप्तादेखि सुरु हुन लागेको काभा महिला भलिबल च्यालेन्ज कपको तयारी राम्रो भएको र उपाधिमा ह्याट्रिक गर्ने लक्ष्य रहेको विश्वास व्यक्त गरेका छन्।  

नेपालमा हुन लागेको अहिलेसम्मकै ठूलो प्रतियोगिता आगामी जेठ ८ देखि १४ सम्म सञ्चालन हुँदै छ। नेपाल भलिबल संघले सोमबार उक्त प्रतियोगिताको तयारीका बारेमा आयोजना गरेको पत्रकार सम्मेलनका अवसरमा भट्टले घरेलु मैदानमा हुने प्रतियोगिता सुखद रहने संकेत गरेका हुन्। ‘अहिले खेल्न लागेको टोलीका स्तर हामीभन्दा माथि नै छ, त्यसमाथि हाम्रो प्रमुख खेलाडी प्रतिभा माली टोलीमा छैनन्। तथापि, हाम्रा अन्य खेलाडीको स्तर पनि बढेकाले प्रदर्शन राम्रो हुनेमा आशावादी छौं,’ प्रशिक्षक जगदीश भट्टले भने।  

पुरुषको सेन्ट्रल एसियन जोन भलिबल च्याम्पियनसिपको आयोजनापश्चात् नेपालले महिलातर्फ पनि ठूलो प्रतियोगिता आयोजना गर्न लागेको हो। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने यो प्रतियोगितामा आठ राष्ट्रले प्रतिस्पर्धा गर्दै छन्। दुई पटकको सेन्ट्रल जोन भलिबल विजेता नेपालले आफ्नो समूह ‘ए’मा भारत, बंगलादेश र किर्गिस्तानको चुनौती सामना गर्दै छ। समूह ‘बी’ मा श्रीलंका, मालदिभ्स, काजाकिस्तान र उज्वेकिस्तान छन्। यो समूहमा किर्गिस्तान शारीरिक र प्राविधिक रूपमा केही बलियो रहेको प्र्रशिक्षक भट्टको भनाइ छ। यद्यपि, उनले राम्रो प्रदर्शन गर्दै उपाधिमा ह्याट्रिक गर्ने लक्ष्य रहेको बताए।

‘यसअघि दुई वटा उपाधि जितिसकेका छौं। त्यसैले यो पटक उपाधिमा ह्याट्रिक गर्ने लक्ष्य छ। तथापि, खेल हो जस्तोसुकै नतिजा पनि आउन सक्छ। तर, पनि पछिल्ला प्रदर्शनभन्दा धेरै सुधार गर्छौ भन्नेमा विश्वस्त छौं,’भट्टले भने। नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले प्रतियोगिता नजिकिँदै गर्दा तयारी पूरा भएको बताए। ‘हामीले यो आयोजना सम्पन्न गर्नका लागि १० वटा समिति बनाएका छौं। यो समितिले आआफ्नो तर्फबाट काम गरिरहेको छ,’ प्रतियोगिता संयोजक तथा संघका अध्यक्ष चन्दले भने,‘हाम्रो तयारी लगभग पूरा भइसकेका छन्। यस पटक राम्रो प्रतियोगिता आयोजना गर्दै अन्तर्राष्ट्रिय क्षेत्रमा राम्रो सन्देश दिन चाहन्छौं।’

संघले यो प्रतियोगिताका लागि दुई करोड ७१ लाख खर्च हुने अनुमान गरेको छ। त्यसमध्ये राखेपले ५० लाख रूपैयाँ आर्थिक सहयोग गरेकाले प्रतियोगिताको नामको अगाडि एनएससी राखिएको संघका अध्यक्ष चन्दले जानकारी दिए। चन्दले यो प्रतियोगिताका लागि अन्तर्राष्ट्रिय भलिबलको सर्वोच्च निकाय एफआइभिबीले प्रदान गरेको जिफ्लोर म्याट प्रयोग गरिने जानकारी दिए।  

प्रकाशित: २ जेष्ठ २०८० ०१:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App