१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

संकटा र हिमालयन शेर्पा बराबरीमा, मच्छिन्द्रको सहज जित

आयुष घलानले पेनाल्टीबाट बराबरी गोल फर्काएपछि राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा संकटा हिमालयन शेर्पासँग हारबाट जोगिएको छ। अर्को खेलमा साविक विजेता मच्छिन्द्र फुटबल क्लवले खुमलटार युथ क्लवमाथि ३–० को सहज जित निकालेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमवार भएको खेलमा हिमालयन शेर्पाले शुरुवाती अग्रता लिएपनि कायम राख्न नसक्दा अंक बाँड्न बाध्य भएको हो। प्रतिष्पर्धात्मक बनेको खेलमा दुवै टोलीले पहिलो हाफ गोल रहित बराबरी खेलेका थिए। तर दोस्रो हाफमा आक्रमक रणनीति अपनाउँदै स्पष्ट तीन अंकका लागि खेले पनि सफल हुन सकेनन्।

दशरथ रंगशालामा हिमालयन शेर्पाले शुरुवाती अग्रता लिएपनि त्यसलाई जोगाउन सकेन। खेलको दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो। ३९ औं मिनेटमा खामिर ग्लिसन कन्दंग्वाले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार पोस्ट नजिकबाट बाहिरियो।

लगत्तै अर्कोतर्फ युसुफ अत्रिसले गोल गरेपनि त्यसले मान्यता पाएन। अत्रिसले प्रहार गर्दा आयुष घलानले ६ यार्ड बक्सभित्र अफसाइड पोजिसनमा रहेर गोलरक्षक किशोर गिरीलाई छेक्दा सहायक रेफ्रीले अफसाइडको निर्णय दिएका थिए। ५० औं मिनेटमा शेर्पाले अग्रता लियो। विश्वास श्रेष्ठको क्रसमा विदेशी खेलाडी अबायोमी फाकुन्लेको हेडरपासलाई म्यानुएल नानाले जाली चुमाउन सफल भएका थिए।

७२ औं मिनेटमा संकटाले पेनाल्टीको अवसर पायो। सुशील राईले आयुष घलानलाई लडाएपछि रेफ्री संकटालाई पेनाल्टी अवसर दिएका थिए। पेनाल्टीमा आयुषले गोल गर्दै संकटालाई बराबरीमा फर्काएका थिए।

७७ औं मिनेटमा विश्वास श्रेष्ठको प्रहार क्रसबारमा लागेर बाहिरिँदा शेर्पाले अग्रता लिन चुक्यो। बाँकी समयमा संकटाले पनि केही प्रयास गरेपनि सफल हुन सकेन र दुवैले अंक बाँडे। यस बराबरीसँगै हिमालयन शेर्पाले १८ खेलबाट २२ अंक बनाएको छ भने अर्को टोली संकटाको समान खेलबाट २१ अंक भएको छ।

लिग अन्तर्गत सोमवार नै भएको अर्को खेलमा साविक विजेता मच्छिन्द्र फुटबल क्लवले रेलिगेशन क्षेत्रको खुमलटारमाथि ३–० को सहज जित निकालेको हो। मच्छिन्द्रको जितमा सबै गोल विदेशी खेलाडीले गरे। आन्द्रेस नियाले एक गोल गर्दा अफिज ओलावालेले दुई गोल गरे। खुमलटारमाथि अधिकांस समय बल नियन्त्रणमा राख्दै खेलेपछि मच्छिन्द्रले ४२ औं मिनेटमा मात्र अग्रताको अवसर लिएको थियो। आन्द्रेश नियाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाउन सफल भएका थिए।

पहिलो हाफमा लिएको अग्रता पछि उच्च मनोबलका साथ खेलेको मच्छिन्द्रले दोस्रो हाफमा पनि आक्रामक खेललाई निरन्तरता दियो। सो क्रममा अफिजले ७७ औं मिनेटमा टोलीका लागि दोस्रो तथा ब्यक्तिगत पहिलो गोल गरे। त्यसको १० मिनेटपछि अर्को गोल गर्दै टोलीलाई ३–० को जित निश्चित गराए। यससँगै मच्छिन्द्रले जारी लिगमा १८ खेल खेल्दै तालिकामा ३० अंक बनाएको छ।

मच्छिन्द्र एक खेल कम खेलेको चर्च व्वाईजसँग अंक बराबरी हो। यस्तै पराजित खुमलटार समान १८ खेलबाट १७ अंकका साथ तालिकाको पुछारमा छ।

प्रकाशित: १ जेष्ठ २०८० १२:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App