खुमलटार क्लबमाथि ३–२ को नाटकीय पुनरागमन जित निकाल्दै न्युरोड टिम (एनआरटी) राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगतालिकाको नवांै स्थानमा उक्लिएको दिन शुक्रबार नेपाल पुलिसले संकटालाई २–१ गोलअन्तरले पराजित गर्दै रेलिगेसन क्षेत्र छाडेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एनआरटीले २–० ले पछि परेको अवस्थालाई उल्टाउँदै ३–२ को रोमाञ्चक जित निकालेको हो। सुरुमा दबाब दिएर खेलेको खुमलटारले ३१औं मिनेटमा अग्रता लिएको थियो। स्टेफन समीरले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए। ३९औं मिनेटमा राजीव लोप्चनले पेनाल्टी क्षेत्रभित्रबाट तीन डिफेन्डरको बीचबाट गोल गर्दा खुमलटारले पहिलो हाफमा २–० को अग्रता लिन सफल भएको थियो। खुमलटारको खराब गोलरक्षकको फाइदा उठाउँदै एनआरटी खेलमा फर्कियो। ६२औं मिनेटमा सरोज तामाङको कर्नरमा विक्रम धिमालको हेडर गोलरक्षक देव लिम्बुको हातमा लाग्दै गोलमा परिणत भयो। अर्को मिनेटमा नै बराबरी गोल फर्कायो। निकोलस सर्ज सङ्गको क्रस गोलरक्षक देवले समाउने प्रयास गर्दा आफ्नै पोस्टभित्र छिराएपछि खेल २–२ को स्थितिमा पुग्यो। त्यसपछि प्रशिक्षक याम गुरुङले देवको स्थानमा गोलरक्षक राजकुमार लिम्बुलाई मैदान छिराए। तर ८३औं मिनेटमा निकोलस सङ्गले एनआरटीलाई अग्रता दिलाए। दीपेश आलेमगरको उत्कृष्ट कटब्याकमा सङ्गले आकर्षक गोल गरेका हुन्। एनआरटीको १७ खेलमा ५ जित, ६ बराबर र ६ हारसँगै २१ अंक छ। यता खुमलटार भने १७ खेलमा ५ जित, २ बराबरी र १० हारका साथ १७ अंक जोड्दै पुछारमा छ।
लिगअन्तर्गत शुक्रबार नै भएको अर्को खेलमा नेपाल पुलिसले संकटालाई २–१ ले पराजित गर्दै रेलिगेसन क्षेत्र छाडेको छ। दशरथ रंगशालामा भएको खेल पहिलो हाफ १–१ को बराबरीमा सकिएको थियो।े पुलिसले दोस्रो हाफमा गोल गर्दै स्पष्ट तीन अंक जोड्न सफल भएको हो। पुलिसलाई जित दिलाउन दुवै गोल विदेशी खेलाडीले गर्दा संकटाका निशान खड्काले फ्रिकिकमार्फत गोल गरेका थिए। पुलिसका मोजेस ग्याबा र मोहमद आसिकले गोल गर्न सफल भएका थिए।
स्पष्ट तीन अंकले पुलिसले १७ खेलबाट १९ अंक बनाउँदै तालिकाको १२औं स्थानमा उक्लिएको छ। अहिलेसम्म पुलिसले ५ जित, ४ बराबरी र ८ हार भोगेको छ। उता पराजित संकटा १७ खेलमा ५ जित, ५ बराबरी र ७ हारसहित २० अंकका साथ ११औं स्थानमा झरेको छ।
रेलिगेसन बच्न संघर्ष गरिरहेको पुलिसले खेलको सातौं मिनेटमा अग्रता लिएको थियो। पेनाल्टी क्षेत्रको दायाँ भागबाट हिजाजीले दिएको क्रसमा मोजेसले हेडरमार्फत गोल गर्दै पुलिसलाई सुरुआती अग्रता दिलाएका थिए। संकटाले २४औं मिनेटमा बराबरी गोल गर्न सफल भयो। निशान खड्काले पेनाल्टी क्षेत्रबाहिरबाट प्रहार गरेको फ्रिकिकले गोलको दिशा लिएको थियो। पुलिसले ७९औं मिनेटमा पुनः अग्रता लियो। वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका आशिकले पेनाल्टी बक्सभित्र अलमलमा परेको बललाई गोलको दिशा दिँदै पुुलिसलाई पुनः अग्रता दिलाउन सफल भएका थिए। पहिलो प्रहार पोस्टमा लागेर फर्किएको बललाई उनले डिफेन्डर र गोलरक्षकको बीचबाट जाली चुमाउन सफल भएका थिए। यस जितबाट पुलिसले स्पष्ट तीन अंक तालिकामा थप्न सफल भयो। यही लयलाई कायम राख्न सके पुलिस रेलिगेसनबाट बच्ने सम्भावना बढ्दै गएको छ।
लिगअन्तर्गत शुक्रबारै एन्फा मैदानमा सम्पन्न खेलमा हिमालयन शेर्पा र मनाङ मस्र्याङ्दी फुटबल क्लबले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे। प्रतिस्पर्धात्मक बनेको खेलमा पहिलो हाफमा भएको नतिजा नै अन्तिम नतिजा बनेको हो। खेलमा मनाङले १४औं मिनेटमा अग्रता लिएको थियो। तर सम्हालिएको प्रदर्शन गर्न नसक्दा हिमालयन शेर्पाले अंक खोस्न सफल भएको हो।
१४औं मिनेटमा मनाङका नीरञ्जन धामीले गोल गर्दै अग्रता दिलाएका थिए। तर मनाङको अग्रता धेरै समय टिकेन। ३६औं मिनेटमा हिमालयन शेर्पाका विदेशी खेलाडी अबायोनी फाकुन्लेले गोल गर्दै खेल बराबरीको अवस्थामा ल्याएका थिए। यस बराबरीसँगै मनाङ र हिमालयन शेर्पाले लिगतालिकामा समान २१ अंक बनाएका छन्। समान अंक भए पनि मनाङ सातांै स्थानमा अटाउँदा हिमालयन शेर्पा दशौं स्थानमा झरेको छ।
प्रकाशित: ३० वैशाख २०८० ०१:५८ शनिबार