६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

अल्ट्रा धावक राईलाई नर्थ फेसको अनुबन्धन

अल्ट्रा धावक अर्जुन राई थुलुङलाई द नर्थ फेस एडभेन्चर टिमले एक वर्षका लागि अनुबन्धित गरेको छ।

बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै सोलुखुम्बुका धावक राईलाई एक वर्षका लागि अनुबन्धित गरेको हो। चन्डोलस्थित ढुकु फुटसलमा आयोजित कार्यक्रममा एसिया प्यासिफिक एडभेन्चरका संस्थापक एवम् डाइरेक्टर रायन ब्लेयर र धावक राईबीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो। यो कम्पनीले धावक राईलाई एक वर्षसम्म प्रशिक्षक, खेल पोसाक, स्वास्थ्योपचार र प्रतिस्पर्धा गर्न जाँदा लाग्ने खर्च बेहोर्नेछ। यसअघि अर्की धावक सुनुमाया बुढालाई सन् २०२१ देखि अनुबन्धित गर्दै आइरहेको छ। जुम्लाकी धावक सुनुमाया गत मार्चमा हङकङमा सम्पन्न सय किलोमिटर अल्ट्रा म्याराथनमा रजत पदक विजेता हुन्।  

अर्जुनले भने पहिलो पटक अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्दै छन्। नेपाल ट्रेल सिरिजको प्रालिको पहलमा एसियाको चर्चित कम्पनीले उनीहरूलाई अनुबन्धित गरेको हो। नेपाल ट्रेल सिरिज प्रालिकी प्रीति खत्रीले हरेक वर्ष अर्जुनसँग सम्झौता नवीकरण हुने बताइन्। ‘नेपाल अल्ट्रा म्याराथनका विश्व च्याम्पियनहरू जन्माउन सक्ने देश हो। यहाँका भूगोलमा हिँडेका नै अल्ट्रा धावकका लागि परिपक्व छन्,’ प्रीतिले भनिन्, ‘अभ्यास, खेलयोजना, स्वास्थ्योपचार र बिमा दिन सके यहाँ विश्वकै चर्चित धावक बन्ने क्षमताका धेरै प्रतिभाहरू छन्। हामी अहिले सोही किसिमका प्रतिभा खोजीमा छौं।’

धावक अर्जुनले जुन ६ देखि १० सम्म अस्ट्रियामा हुने वल्र्ड माउन्टेन एन्ड ट्रेल रनिङ च्याम्पियनसिप खेल्नेछन्। यसअन्तर्गत ८६ किलोमिटर लामो विधाको र माउन्टेन सर्टमा ४६ किलोमिटरतर्फ प्रतिस्पर्धा गर्दै छन्। अर्जुनले पहिलो अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअगावै स्पोन्सरको साथ पाएकाले निकै उत्साहित भएको र प्रतिस्पर्धामा पनि राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गरे। पछिल्ला समय नेपालमा सम्पन्न अल्ट्रा म्याराथनमा अर्जुनले उत्कृष्ट नतिजा प्राप्त गर्दै आइरहेका छन्। एसिया प्यासिफिक एड्भेन्चरका संस्थापक एवम् डाइरेक्टर रायनले अन्तर्राष्ट्रिय ट्रेल रेसमा चम्किन सक्ने अर्जुनलाई साथ दिन पाउँदा निकै खुसी मिलेको धारणा राखे। 

प्रकाशित: २८ वैशाख २०८० ०१:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App