सहकारी ठगी प्रकरणमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको अदालती बहस ‘लाइभ’ गर्नुपर्ने माग गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्व महामन्त्री मुकुल ढकालले बिहीबार सामाजिक सञ्जालमार्फत स्ट्याटस लेख्दै यस्तो माग गरेका हुन्।
ढकालले लामिछानेविरुद्ध कास्की जिल्ला अदालतसहित पाँच जिल्लामा दायर मुद्दा र त्यसमा हुने बहसबारे सार्वजनिक जानकारीका लागि अदालती प्रक्रिया ‘लाइभ’ गर्नुपर्ने बताएका हुन्।
उनले स्ट्याटसमा लेखेका छन्, ‘रवि लामिछाने उपर संगठित रूपमा सहकारी ठगेर कालो धन जम्मा गरेको अभियोगमा देशभर पाँचवटा जिल्ला अदालतमा मुद्दा दायर हुँदै छ। आउँदो हप्ताबाट यस विषयमा अदालतमा बहस सुरु हुँदै छ। समाजमा उठेका अनेकन प्रश्नका कारण अदालतको इजलासलाई ‘लाइभ’ गर्नका लागि सम्बन्धित सबैमा आग्रह गर्दछु। लोकतन्त्रमा जनताले कहाँ के भइरहेको छ भन्ने कुरा जान्ने अधिकार राख्छन्। तसर्थ, फेरि एकपटक ‘लाइभ’ को माग दोहोर्याएको छु।’
उनले लोकतन्त्रको मूलभूत पक्षमा जनताको जानकारीको अधिकार रहेको भन्दै रविविरुद्धको अदालती प्रक्रिया सबैले प्रत्यक्ष रूपमा हेर्न पाउनुपर्ने धारणा व्यक्त गरेका छन्।
प्रकाशित: ४ पुस २०८१ १८:५१ बिहीबार