३१ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

संघीयताले पाएको अवसर

सन्दर्भ दशौं राष्ट्रिय खेलकुद

‘दौडिन्छ कर्णाली।’ एथलेटिक्समा कर्णाली अब्बल छ। धावकहरू जन्मिएका छन्। इतिहास लेखेका छन् अल्ट्राधावक हरिबहादुर रोकायादेखि मीरा राईसम्मले। त्यसैले त कर्णालीले आफूलाई दौडाउने तयारी गरेको छ। एथलेटिक्सलाई लक्षित गर्दै कर्णालीले ‘दौडिन्छ कर्णाली’ नारा दिएको छ।

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना कर्णालीले गर्दै छ। २०७९ कात्तिक ३ गते पोखराबाट राष्ट्रिय खेलकुद प्रतियोगिताको झन्डा कर्णालीले बोक्यो। झन्डा बोकेसँगै कर्णालीले राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको जिम्मेवारी पायो। संघीयतासँगै कर्णाली प्रदेशलाई बृहत् खेलकुद महोत्सव आयोजनाको अवसर जुर्‍यो।

सायद संघीयता नभएको भए बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको अवसर नै पाउने थिएन। पूर्वाधार पनि थिएन। सधैं मध्यपश्चिमको सदरमुकाम सुर्खेत ओझेलमा थियो। ओझेलमै रहन्थ्यो।

राष्ट्रिय खेलकुदलाई लक्षित गर्दै कर्णाली प्रदेशको सदरमुकाम सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा खेलकुद पूर्वाधार निर्माण सुरु भइसकेको छ। सुर्खेत उपत्यका नगर विकास समितिले २०४२ सालमै खेलकुदका लागि आफ्नो स्वामित्वको जग्गा खेलकुदका लागि भोगाधिकार दिइसकेको छ।

२०६४ सालमा बहुृउद्देश्यीय कभर्ड हल निर्माण गर्ने स्वीकृति पाएको थियो। भोगाधिकार पाए पनि खेलकुद पूर्वाधार बनाउन झन्डै ३९ वर्ष लाग्यो। देश संघीय संरचना पुग्यो। संघीयताले ‘एक प्रदेश एक रंगशाला’ उद्घोष गर्‍यो। उद्घोषले उपत्यका नगरविकास समितिले उपलब्ध गराएको ९ विघा (११७ रोपनी) क्षेत्रफलमा खेलकुद पूर्वाधारका काम सुरु भयो। २०७८ मंसिर दोस्रो साता सम्झौता भयो। सम्झौतासँगै कामले रफ्तार लिएको छ।

‘भौतिक पूर्वाधार कामको झन्डै ४० प्रतिशत प्रगति भइसकेको छ,’ प्रदेश खेलकुद परिषद् कर्णालीका सदस्यसचिव विश्वमित्र सन्ज्यालले भने, ‘कामको प्रगतिअनुसार सम्झौता समयवाधिभित्रै पूरा गर्नेछौं।’  

संघीयतापछि नै कर्णालीले बृहत् खेलकुद आयोजनाको अवसर प्राप्त गरेको उनी सुनाउँछन्। भन्छन्, ‘संघीयताले कर्णालीले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको अवसर प्राप्त गरेको हो।’ संघीयताकै सुन्दर पक्ष हो सुर्खेतको प्रादेशिक रंगशाला। नेपालकै पहिलो प्रादेशिक रंगशालासमेत हो। कर्णाली प्रदेशले १ अर्ब ७० करोडको लागतमा ९ विघा क्षेत्रफलमा विभिन्न खेल पूर्वाधार बनाउने जिम्मा एम.ए कन्ट्रक्सन र ग्रेट स्पोर्टस लिमिटेड भारत(एमएसी/जिएसएल, जोईन्ट भेन्चर) ले पाएको छ। सम्झौता अनुसार २०८१ जेठ मसान्तसम्म काम टुंग्याउनुपर्नेछ।

१० हजार दर्शक क्षमताको प्यारापिट निर्माणाधीन छ। ८ लेनको एथलेटिक्सको सिन्थेटिक ट्य्राक निर्माण गरिँदै छ। दर्शक प्यारापिटको मुनि बेसमेन्टमा पार्किङस्थल बनाइएको छ।

दुईवटा प्यारापिटमुनि पार्किङ गर्न सकिन्छ। एकातिर चारपाङ्ग्रे र अर्कोतर्फ दुई पाङग्रे। सय मिटर लम्बाइको प्यारपिटमुनि झन्डै सय वटा सवारी पार्किङ गर्न सकिनेछ। ‘९ विघा क्षेत्रफलमा फुटबल मैदान, एथलेटिक्स ट्य्राक, बहुृउद्देश्यीय कभर्ड हल, पौडी पोखरी, दुईवटा बास्केटबल कोर्ट, ह्यान्डबल र भलिबल कोर्ट बनाउने योजना छ,’ कम्पनीका प्रोजेक्ट इन्चार्ज इन्जिनियर पुरुषोत्तम बरालले भने, ‘बास्केटबल, भलिबल र ह्यान्डबलको काम सुरु भइसकेको छैन। अरू पूर्वाधारको काम धमाधम अघि बढेको छ।’

उनका अनुसार बहुउद्देश्यीय कभर्ड हलभित्र ह्यान्डबल खेल्न सकिन्छ। २५ मिटर लम्बाइ २५ मिटर चौडाइको पौडी पोखरी निर्माण भइरहेको छ। फुटबल मैदानमा दुबो रोपिसकिएको उनले बताए। प्रादेशिक रंगशालाको दिगो आन्तरिक स्रोतकै लागि व्यावसायिक प्रयोजनका ४० वटा सटरसमेत निर्माण गर्ने योजना पनि सम्झौतामा समेटिएको छ।

उपत्यका नगरविकास समितिकै स्वामित्वमा रंगशालाकै उत्तरतर्फ खुला चौर छ। खुला चौरलाई प्रदेश खेलकुद परिषद् कर्णालीले क्रिकेट मैदान बनाउने योजना बनाएको छ।

‘उत्तरतर्फको चौरलाई पूर्वाधारयुक्त नबनाई खुला नै राख्ने गरी क्रिकेट मैदान बनाउने प्रस्ताव गरेका छौं,’ सदस्यसचिव सन्ज्यालले भने, ‘सम्भव भएसम्म त्यही चौरलाई क्रिकेट मैदान बनाउँछौं।’

उनले खेलकुदलाई कर्णालीको सदरमुकाममा मात्रै सीमित नराख्ने स्पष्ट पारेका छन्। उनको भनाइअनुसार खेलकुदको विकास विकेन्द्रीकरणबाट मात्रै सम्भव छ। पर्यटनसँग जोडेर अन्य जिल्लामा समेत आवश्यक खेल पूर्वाधार बनाई खेलकुद प्रतियोगिता आयोजना गर्ने छलफल भइरहेको उनले सुनाए।  

प्रकाशित: २३ वैशाख २०८० ०३:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App