२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

पोखरा स्पोर्टस अवार्ड: प्याराग्लाइडिङका निसिमलाई कीर्तिशेष सम्मान, ह्याण्डबल उत्कृष्ट संघ

पोखरा स्पोर्टस अवार्डको ट्रफी सार्वजनिक गर्दै खेलकुद पत्रकार मञ्च अध्यक्षसहित अन्य खेलसँग सम्बन्धी पदाधिकारी। तस्बिरः उमेश पुन/नागरिक

खेलकुद पत्रकार मञ्च गण्डकीले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताकै बीचमा प्याराग्लाइडिङ प्रतिस्पर्धामा रहँदा दुर्घटनामा परी निधन भएका निसिम थापा मगरलाई कीर्तिशेष (मरणोपरान्त)बाट सम्मानित गर्ने निर्णय गरेको छ।

आगामी शनिबार पोखरामा आयोजना हुने सातौं पोखरा स्पोर्टस अवार्ड कार्यक्रममा प्याराग्लाइडिङ खेलमा पुर्‍याएको योगदानको कदर गर्दै थापामगरलाई कीर्तिशेषबाट सम्मानित गरिने निर्णय गरिएको खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीनानाथ बरालले जानकारी दिए।

बिहीबार अवार्ड बारे जानकारी दिने उद्देश्यले आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष बरालले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्याराग्लाइडिङ खेलाडी थापाको प्रतिस्पर्धाको दोस्रो दिन निधन भएको थियो। प्रतियोगिता दौरानमै उनको निधनले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता शोकमा डुबेको थियो। त्यस्तै मञ्चले शनिबार हुने अवार्ड कार्यक्रममा उत्कृष्ट संघबाट कास्की जिल्ला ह्याण्डबल संघलाई सम्मान गर्ने समेत निर्णय गरेको छ।

पोखरा रंगशालाभित्र ह्याण्डलको अन्तर्राष्ट्रियस्तरको कोर्ट बनेको छ। कोर्टमा आउटडोर म्याट बिछ्याइएको छ। त्यतिमात्रै नभई ह्याण्डलबल संघले वार्षिक कार्यक्रम नै बनाई विद्यालयस्तरीय ह्याण्डबल प्रतियोगिता आयोजना गर्दै आएको छ। नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशले पुरुष ह्याण्डबलमा स्वर्ण पदक जितेको थियो।

आगामी शनिबार हुने अवार्ड कार्यक्रमको तयारी अन्तिम चरणमा छ। मञ्चले सबै विधामा मनोनयन गरिसकेको छ। उत्कृष्ट संघ तथा लाईफटाईम अचिभमेन्ट अवार्डको नाम समेत सार्वजनिक गरिसकेको छ। लाईफ टाईम अचिभमेन्टबाट बक्सिङका वरिष्ठ प्रशिक्षक विद्या मर्सानीलाई सम्मान गर्ने निर्णय मञ्चले गत साता मात्रै सार्वजनिक गरेको हो। उत्कृष्ट खेलकुद पत्रकार पुरस्कार भने शनिबार मात्रै घोषणा हुने मञ्चले जनाएको छ।

सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्डमा वर्ष उत्कृष्ट पुरुष खेलाडीमा क्रिकेटका करण केसी, आर्चरीका गंगाबहादुर कुँवर र टेनिसका प्रदिप खड्का मनोनयनमा परेका छन्। केसी बागलुङ, कुँवर तनहुँ र खड्का कास्की जिल्ला स्थायी ठेगाना भएका खेलाडी हुन्। उनीहरु तीनजना मनोनयनमा परेको सार्वजनिक भएसँगै यो विधा तर्फको अवार्ड कसले चुम्ला आ–आफ्नै अड्कलबाजी हुन थालेको छ। प्रदीप खड्का र करण केसी मनोनयन भएको यो दोस्रो पटक हो। खड्का गत वर्षका उत्कृष्ट पुरुष खेलाडीबाट सम्मानित भइसकेका छन्। यस अगाडि यो विधाको अवार्ड प्राप्त गर्ने खेलाडीमा सितेरियो कराँतेका हेमन गुरुङ, लन टेनिसका कुमार अधिकारी, शारीरिक सुगठनका कमल भण्डारी, प्याराग्लाइडिङका युकेश गुरुङ, कराँतेका नविन रसायली र टेनिसका प्रदीप खड्का रहेको मञ्चले जनाएको छ।

महिला तर्फ फुटबलर सावित्रा भण्डारी दोस्रो पटक उत्कृष्ट खेलाडीको सूचीमा परेकी हुन्। उनीसँगै आर्चरीकी रोजीना थापा मगर, आईटिएफ तेक्वान्दोकी सुस्मिता थापा मगर रहेका छन्।  वर्ष खेलाडी पुरुष र वर्ष खेलाडी महिला हुन सफल खेलाडीले टेल्जि नेपालको टाइगर इलेक्ट्रिक स्कुटर र ट्रफी हात पार्नेछन्।

उदीयमान खेलाडीतर्फ भलिवलका रवि केसी, फुटवलका सुमित श्रेष्ठ र क्रिकेटका सुवास भण्डारी रहेका छन् । वर्ष उत्कृष्ट प्रशिक्षक तर्फ आर्चरीका किशोर कुमार गुरुङ, लनटेनिसका निरज थापा र आइटिएफ तेक्वान्दोका सुरज सुनार छन्। वर्ष उत्कृष्ट उदीयमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक तर्फका विजेताले नगद ३५ हजार रुपैयाँको साथमा ट्रफी पाउने छन्। 

उत्कृष्ट ३ को मनोनयन सूचीमा परेकाहरुलाई मनोनयन ट्रफी प्रमाणपत्र प्रदान गरिनेछ। वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट पत्रकार तर्फका अवार्ड विजेताले नगद ३५ हजार रुपैयाँको साथमा ट्रफी पाउने छन् ।

प्रकाशित: २१ वैशाख २०८० १०:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App