८ वैशाख २०८१ शनिबार
खेल

चौथो अन्तर्राष्ट्रिय स्वर्णको स्वाद

स्वर्णविजेता चन्दु शाही १३औं सागकी स्वर्णविजेता पार्वती गुरुङसँगै। तस्बिर ः अनिल- नागरिक

नेपालकी चन्दु शाहीले गोल्ड कोस्ट ओपन तेक्वान्दो च्याम्पियनसिपमा पहिलो हुँदा करियरको चौथो स्वर्ण पदक प्राप्त गरेकी छन्।

अस्ट्रेलियाको क्विन्सल्यान्ड राज्यस्थित गोल्ड कोस्टको करारामा सम्पन्न १४औं गोल्ड कोस्ट च्याम्पियनसिपमा चन्दुले पुम्सेतर्फ स्वर्ण जितेकी हुन्। गत नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पुम्सेको व्यक्तिगत विधाकी रजत पदक विजेता चन्दुको यो चौथो अन्तर्राष्ट्रिय स्वर्ण पदक हो। उनले यसअघि सन् २०१९ मा हङकङमा सम्पन्न सिटी इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिप, मलेसियामा सम्पन्न गिविन ओपन तेक्वान्दो च्याम्पियनसिप र थाइल्यान्डमा सन् २०१७ मा सम्पन्न दोस्रो हिरोज इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन्।  

आइतबार गोल्डकोस्टमा सम्पन्न महिला ३० वर्षमुनि एकल पुम्सेमा शीर्ष स्थान रहँदै चन्दुले अन्तर्राष्ट्रिय स्वर्ण संख्या चौथो पुर्याएकी हुन्। चन्दुले गोल्ड कोस्ट स्पोटर््स एन्ड लेजर सेन्टरमा सम्पन्न ६ जना प्रतिस्पर्धीलाई हराउँदै स्वर्ण जितेकी हुन्। उक्त स्पर्धामा चन्दुले सर्वाधिक ६.३० अंक जोडिन्। अस्ट्रेलियन खेलाडीले ६.२५ अंकका साथ दोस्रो भइन् भने तेस्रो भएकी न्युजिल्यान्डका खेलाडीले ६.१० अंक ल्याइन्। यो प्रतियोगितामा १३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता पार्वती गुरुङले निर्णायकको भूमिका निर्वाह गरेकी थिइन्।

पार्वती १३औं सागमा २९ वर्षमुनि व्यक्तिगत पुम्सेतर्फ स्वर्ण विजेता हुन्। नेपाली खेलाडीहरूले गोल्ड कोस्ट ओपनमा लामो समयदेखि पदक जित्दै आएका छन्। यो प्रतियोगितामा अशोक खड्काले (२०१७-२०१८ पुम्सेमा) १-१ स्वर्ण, सन् २०१९ मा रञ्जन श्रेष्ठ, अनिष महर्जनले १-१ स्वर्ण, सन् २०१९ मै उज्ज्वल गुरागाईंले एक स्वर्ण र रजत जितेका थिए। १४औं संस्करणमा नेपालका एक मात्र खेलाडी प्रतिस्पर्धा जनाए पनि चन्दु स्वर्ण पदक जित्न सफल भइन्।

जितपछि उनले यो प्रतियोगिता नेपाली खेलाडीका लागि रोजाइमा पर्ने र जहाँ आफूले पनि स्वर्ण जित्न पाउँदा खुसी लागेको बताइन्। चन्दुले यसअघि सन् २०१८ मा जापानको ओसाकामा सम्पन्न जापान ओपन तेक्वान्दो च्याम्पियनसिपमा कांस्य र सन् २०१७ मा भुटानमा दोस्रो इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा रजत पदक जितेकी थिइन्। तेस्रो डान प्राप्त चन्दु काठमाडौंको मूलपानीमा रहेको नेप्लिज तेक्वान्दो एकेडेमीकी खेलाडीसमेत हुन्। त्यहाँ उनी प्रशिक्षण पनि गराउँछिन्।  

प्रकाशित: १९ वैशाख २०८० ०१:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App