२६ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

शीर्ष स्थानमा उक्लिए सुवास

नेपाल नम्बर एक एमेच्योर गल्फर सुवास तामाङ बुधबार सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको तेस्रो दिनको खेल सकिँदा शीर्ष स्थानमा उक्लिएका छन्।

पार–७२ को गोकर्ण गल्फ क्लबमा ५४ होलको समाप्तिपछि कुल १० अन्डर २ सय ६ स्कोर बटुल्दै डिफेन्डिङ च्याम्पियन सुवास शीर्ष स्थानमा उक्लिएका हुन्। तेस्रो दिन उनको प्रदर्शन तीन अन्डर ६९ रह्यो। यससँगै सुवासले मंगलबार शीर्षमा रहेका सञ्जय लामालाई दुई स्ट्रोकले पछि पारे। सञ्जय भने तेस्रो दिन इभन पार ७२ मा रहे। त्यससँगै उनले आठ अन्डर २ सय ८ स्कोर बटुले। यो प्रतिस्पर्धा सूर्य नेपाल गल्फ टुर २०२२÷०२३ को सातौं प्रतियोगिता हो। रवि खड्का पनि चार अन्डर ६८ को प्रदर्शन गर्दै तेस्रो स्थानमा उक्लिए। उनी समग्रमा ६ अन्डर २ सय १० को स्कोर कार्डमा छन्।

रविले तीन पारको आठौं होलमा ‘होल इन वान’को सफलता पनि पाए। पूर्व नम्बर एक प्रोफेसनल गल्फर भुवन नगरकोटी पनि चौथो स्थानमा उक्लिएका छन्। उनले पनि तेस्रो दिन चार अन्डर ६८ को प्रदर्शन गरे। यससँगै उनी कुल पाँच अन्डर २ सय ११ को स्कोर कार्डमा छन्। मंगलबार संयुक्त रूपमा शीर्ष स्थानमा रहेका एमेच्योर गल्फर सद्भाव आचार्य भने पाँचौं स्थानमा झरेका छन्। बुधबार चार ओभर ७६ को खराब प्रदर्शन सामना गरेपछि युवा गल्फर तल झर्न बाध्य भए। उनी कुल चार अन्डर २ सय १२ मा छन्। समग्रमा दुई अन्डर‌ २१४ स्कोरसहित नीरज तामाङ छैटौं स्थानमा रहे।

प्रकाशित: ७ वैशाख २०८० ०१:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App