७ वैशाख २०८१ शुक्रबार
खेल

आर्मीका मुकेशलाई उपाधि

नयाँ वर्षको अवसर पारेर कैलालीको धनगढीमा आयोजना गरिएको ‘अब धनगढी दौडिन्छ’अन्तर्गतको धनगढी हाफ म्यारानथको नवौं संस्करणको उपाधि नेपाल आर्मीका मुकेशबहादुर पालले जितेका छन्। शुक्रबार बिहान धनगढी जेसिजको आयोजनामा भएको धनगढी हाफ म्याराथनको निर्धारित २१ दशमलव १ किलोमिटर दूरी १ घण्टा ४ मिनेट ४८ सेकेन्डमा पूरा गर्दै मुकेशले उपाधि जितेका हुन्। उनले उपाधिसँगै नगद ५५ हजार ५ सय ५५ रूपैयाँ पुरस्कारसमेत प्राप्त गरेका छन्।  

यस्तै नेपाल आर्मीकै नरेन्द्रसिंह रावलले दोस्रो स्थान प्राप्त गरेका छन्। उनले निर्धारित दूरी १ घण्टा ७ मिनेट २३ सेकेन्डमा पूरा गरे। दोस्रो भएका रावलले नगद ३३ हजार ३ सय ३३ रूपैयाँ हात पारे। प्रतियोगितामा सन्तोषविक्रम विष्ट तेस्रो भए। उनले निर्धारित दूरी १ घण्टा ८ मिनेट ३५ सेकेन्डमा पूरा गरेर नगद २२ हजार २ सय २२ रूपैयाँ प्राप्त गरे। हाफ म्याराथनमा झन्डै चार सय धावकको सहभागिता रहेको प्रतियोगिताका संयोजक मनीष कुँवरले बताए। 

यस्तै महिलातर्फ भागेश्वरी धामी प्रथम, पवित्रा सार्की द्वितीय र नेहा खड्का तृतीय भए। उनीहरूले क्रमशः ५ हजार पाँच सय ५५, तीन हजार तीन सय ३३ र दुई हजार दुई सय २२ रूपैयाँ नगद प्राप्त गरे। त्यसै गरी कर्पोरेट तथा मिडियातर्फ काशीराम मण्डल पहिलो, उमेशविक्रम मगर दोस्रो र चन्द्र बोहोरा तेस्रो भए। उनीहरूले पनि क्रमशः पाँच हजार पाँच सय ५५, तीन हजार तीन सय ३३ र दुई हजार दुई सय २२ रूपैयाँ नगद प्राप्त गरे। प्रतियोगितामा अपांगता भएका व्यक्तिहरूका लागि ट्राई साइकल दौड राखिएको थियो। त्यसमा सहभागी सबैलाई पुरस्कारको व्यवस्था गरिएको धनगढी जेसिजका अध्यक्ष मोहनराज ओझाले बताए।  

प्रतियोगिताको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उद्घाटन गरेका थिए भने प्रदेशका भौतिक पूर्वाधारमन्त्री प्रकाशबहादुर देउवाले विजयीलाई पुरस्कार वितरण गरेका थिए। 

प्रकाशित: २ वैशाख २०८० ००:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App