१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

‘अब धनगढी दौडिन्छ’ को उपाधि आर्मीका मुकेशलाई

नयाँ वर्षको अवसर पारेर कैलालीको धनगढीमा आयोजना गरिएको ‘अब धनगढी दौडिन्छ’ अन्तर्गतको धनगढी हाफ म्यारानथको नवौं संस्करणको उपाधि नेपाल आर्मीका मुकेशबहादुर पालले जितेका छन्।

शुक्रबार बिहान धनगढीमा धनगढी जेसीजको आयोजनामा भएको धनगढी हाफ म्याराथनको निर्धारित २१ दशमलव १ किलोमिटर दूरी १ घण्टा ४ मिनेट ४८ सेकेण्डमा पूरा गर्दै पालले उपाधि जितेका हुन्। उनले उपाधिसँगै नगद ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कारसमेत प्राप्त गरेका छन्।

यस्तै नेपाल आर्मीकै नरेन्द्रसिंह रावलले दोस्रो स्थान प्राप्त गरेका छन्। उनले निर्धारित दूरी १ घन्टा ७ मिनेट २३ सेकेण्डमा पूरा गरे। दोस्रो भएका रावलले नगद ३३ हजार ३ सय ३३ रुपैयाँ हात पारे। ‘अब धनगढी दौडिन्छ’ भन्ने नाराका साथ भएको धनगढी हाफ म्याराथनमा सन्तोषविक्रम बिष्ट तेस्रो भए। उनले निर्धारित दूरी १ घण्टा ८ मिनेट ३५ सेकेण्डमा पूरा गरेर नगद २२ हजार २ सय २२ रुपैयाँ प्राप्त गरे।

हाफ म्याराथनमा झण्डै चार सय धावकको सहभागिता रहेको प्रतियोगिताका संयोजक मनिष कुँवरले बताए। यस्तै महिलातर्फ भागेश्वरी धामी प्रथम, पवित्रा सार्की द्वितीय र नेहा खड्का तृतीय भए। उनीहरुले क्रमशः ५ हजार पाँच सय ५५, तीन हजार तीन सय र दुई हजार दुई सय २२ रुपैयाँ नगद प्राप्त गरे। त्यसैगरी कर्पोरेट तथा मिडियातर्फ काशीराम मण्डल पहिलो, उमेशविक्रम मगर दोस्रो र चन्द्र बोहोरा तेस्रो भए। उनीहरुले पनि क्रमशः पाँच हजार पाँच सय ५५, तीन हजार तीन सय ३३ र दुई हजार दुई सय २२ रुपैयाँ नगद प्राप्त गरे। प्रतियोगितामा अपांगता भएका व्यक्तीहरुका लागि ट्राई साईकल दौड राखिएको थियो। त्यसमा सहभागी सबैलाई पुरस्कारको व्यवस्था गरिएको धनगढी जेसीजका अध्यक्ष मोहनराज ओझाले बताए।

‘अब धनगढी दौडिन्छ’ अन्तर्गतको धनगढी हाफ म्याराथनको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उद्घाटन गरेका थिए भने प्रदेशका भौतिक पूर्वाधार मन्त्री प्रकाशबहादुर देउवाले विजयीलाई पुरस्कार वितरण गरेका थिए।  

प्रकाशित: १ वैशाख २०८० ११:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App