२ पुस २०८१ मंगलबार
image/svg+xml
खेल

चेल्सीमाथि रियालको रोमाञ्चक जित

करिम बेन्जिमा र मार्को एसेन्सियोको गोलमा बुधबार स्पेनिस क्लब रियाल मड्रिडले च्याम्पियन्स लिगअन्तर्गत क्वार्टरफाइनलको पहिलो लेगमा इङ्लिस प्रिमियर लिग क्लब चेल्सीमाथि २–० को रोमाञ्चक जित निकालेको छ।  

५९औं मिनेटमा दश खेलाडीमा सीमित भएको चेल्सीविरुद्ध हाबी हुँदा रियालले क्वार्टफाइनलको पहिलो लेगमा सफल सुरुआत गर्न सफल भएको हो। सर्वाधिक १४ पटकको च्याम्पियन रियालले फ्रान्क लाम्पार्डको टोलीविरुद्ध सुरुआतबाट नै हाबी भएर खेलेको थियो। २१औं मिनेटमा रियालका करिम बेन्जिमाले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए। भिनिसियस जुनियरले उपलब्ध गराएको पासलाई बेन्जिमाले गोलको दिशा दिएका थिए। रियालका रोड्रिगो गोजलाई पेनाल्टी क्षेत्रमा तानेर लडाएपछि बेन चिलवेल रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएका थिए। ३१ मिनेटमा १० खेलाडीमा खुम्चिएको चेल्सीविरुद्ध रियाल फाइदा उठाउन सफल भयो। ७४औं मिनेटमा भिनिसियस जुनियरकै पासमा एसेन्सियोले गोल गरे।  

पहिलो लेगमा सुखद नतिजा निकाले पनि रियाल मड्रिडका प्रशिक्षक कार्लो एन्सिलोट्टीले टोलीको प्रदर्शनमा सन्तुष्टि भने जनाएनन्। उनले टोलीको प्रदर्शन अझै अपेक्षाअनुसार नभएको भन्दै आगामी खेलमा अझै सुधारिएर खेल्नुपर्ने बताए।  

‘नतिजाको हिसाबमा सन्तुष्ट हुने ठाउँ भए पनि टोलीको प्रदर्शनमा सन्तुष्ट हुने ठाउँ अझै छैन। पहिलो लेग सकिए पनि अझै हामीले अर्को ९० मिनेट स्टाम्फोर्डब्रिजमा संघर्ष गर्नुपर्नेछ,’ रियालका प्रशिक्षक एन्सिलोट्टीले भने, ‘नतिजाको हिसाबमा मात्र सन्तुष्ट भएका छौं। समग्रमा टोलीको प्रदर्शन अझै अपेक्षाअनुसार भएको छैन। चेल्सीले आगामी खेलमा सम्पूर्ण अस्त्रको प्रयोग गर्दै खेल्नेछ। हामी त्यसमा सजग हुनुपर्नेछ।’

लाम्पार्ड २००९ देखि २०११ सम्म चेल्सीमा रहँदा प्रशिक्षण गराएका एन्सिलोट्टीले आफ्नै चेलासँग बुधबार प्रतिस्पर्धा गर्नुपरेको हो।  

बेन चिलवेलले रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएपछि भ्रमणकारी चेल्सी कठिन अवस्थामा पुगेको थियो। कम खेलाडी भएसँगै चेल्सीको काउन्टर खेल्ने रणनीति सम्पूर्ण रूपमा रोकियो र पहिलो लेगमा नतिजा सुम्पिन बाध्य भयो। यससँगै चेल्सी सबैखाले पछिल्ला चार खेलमा गोल गर्न असफल भएको छ। १९९३ पछि पहिलो पटक चेल्सी चार खेलमा गोलविहीन भएको हो। कम खेलाडी भएको अवस्थामा रक्षात्मक बन्नुपर्ने भएकाले आफ्नो टोलीले गोलका लागि प्रयास नगरेको प्रशिक्षक लाम्पार्डले बताए।  

‘कहिलेकाहीँ उच्च मनोबलले खेलमा अपेक्षाअनुसारको नतिजा निस्किँदैन। आजको खेलमा सोही अवस्था रह्यो,’ चेल्सीका प्रशिक्षक लाम्पार्डले भने, ‘पछि परेको अवस्थामा कहिलेकाहीँ रक्षात्मक हुनै पर्ने हुन्छ। कम खेलाडी भएको अवस्थामा रक्षात्मक बन्नुपर्ने भएकाले टोलीले गोलका लागि प्रयास गरेन।’

प्रकाशित: १ वैशाख २०८० ०२:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App