२ पुस २०८१ मंगलबार
image/svg+xml
खेल

एपिएफ सेमिफाइनलमा

राष्ट्रिय भलिबलमा प्रतिस्पर्धा गर्दै एपिएफ र सुदूरपश्चिम (हरियो) का खेलाडी। तस्बिर सौजन्य: राखेप

विभागीय टोली नेपाल एपिएफ क्लब बिहीबार प्रथम पोस्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। बिहीबारको खेलसँगै राजधानीमा जारी प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको लिगको अन्तिम खेलमा एपिएफले सुदूरपश्चिम प्रदेशलाई ३–१ सेटमा पराजित गरेको हो। पहिलो सेट गुमाए पनि एपिएफले बाँकी सेटमा पुनरागमन गर्दै खेलमा फर्किन सफल भएको हो। पहिलो सेट २३–२५ ले गुमाएको एपिएफले दोस्रो सेटमा २५–१८ को सहज जित निकाल्दा सेट १–१ को बराबरीमा पुगेको थियो। त्यसपछि सुरुआतबाट नै अग्रता लिएर अगाडि बढेको एपिएफले तेस्रो सेटमा २५–१२ र चौथो सेटमा २५–२१ को जित निकाल्दै अन्तिम चारमा स्थान बनाएको हो। रोमाञ्चक पुनरागमन गरेको एपिएफ सेमिफाइनल पुग्ने अन्तिम टोली बन्यो।

प्रतियोगितामा एपिएफसहित ३ विभागीय टोली सहभागी भएकोमा त्रिभुवन आर्मी र नेपाल पुलिसले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेका छन्। गण्डकी प्रदेश पनि सेमिफाइनलमा पुगिसकेको छ। प्रतियोगितामा पहिलो सेमिफाइनलमा एपिएफको भेट आर्मीसँग हुनेछ। दोस्रो सेमिफाइनल पुलिस र गण्डकीबीच हुनेछ। दुवै सेमिफाइनल शुक्रबार हुनेछन्।

प्रकाशित: १ वैशाख २०८० ०२:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App