coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

गौरीगंगा गोल्ड कपको उपाधि फोर ब्रदर्श नवलपरासीलाई

कैलालीको मसुरियामा जारी जग शक्ति गोल्ड टिएमटी तेस्रो सुदूरपश्चिम गौरीगंगा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नवलपरासीको फोर ब्रदर्श एफसीले जितेको छ।

गौरीगंगा–११ स्पोट्र्स क्लबले आयोजनामा आज भएको फाइनल खेलमा कैलालीको स्टार सिटी युवा क्लबलाई टाई ब्रेकरमा हराउँदै फोर ब्रदर्श एफसी च्याम्पियन बनेको हो।

फोर ब्रदर्श एफसीले स्टार सिटीलाई टाई ब्रेकरमा ५-४ ले हराएर उपाधिमाथि कब्जा जमाएको हो।

निर्धारित समय दुवै टोलीले एक एक गोलको बराबरी खेलेका थिए। पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा दोस्रो हाफको २७ औँ मिनेटमा स्टार सिटीका कमल देउवाले गोल गर्दै अग्रता दिलाए। दोस्रो हाफको ४२ औँ मिनेटमा फोर ब्रदर्शका दामोदर थापाले खेल बराबरी गरे। त्यसपछि निर्धारित समयमा थप गोल नभएपछि खेल टाई ब्रेकरमा गएको थियो।

टाई ब्रेकरमा फोर ब्रदर्शका लागि सुदीप केसी, आशिष ज्ञवाली, मिसन दर्लामी, मनोज श्रेष्ठ र हरि बुढामगरले गोल गरे। स्टार सिटीका लागि युवराज ढकाल, माधव भण्डारी, कुशल देउवा, किरण बोहराले गोल गरे। विक्रम लामाको प्रहार भने गोलमा परिणत हुन सकेन।

प्रतियोगिताको उपाधिसँगै फोर ब्रदर्शले ट्रलीसहित नगद ४ लाख प्राप्त गरेको छ। उपविजेता स्टार सिटीले ट्रलीसहित नगद २ लाखमा चित्त बुझाएको छ।

‘खेलौँ फुटबल रमेर, खेलकुदको सन्देश, शान्ति स्थायित्व र एकताबद्ध देश’ भन्ने नाराका साथ आयोजना गरिएको प्रतियोगिताको सर्वोकृष्ट खेलाडी फोर ब्रदर्श दामोदर थापा भए। उनले नगद ५० हजार प्राप्त गरे। यस्तै सर्वाधिक गोलकर्ता फोर ब्रदर्शका विनोद केवट, उत्कृष्ट गोलरक्षक फोर ब्रदर्शका हरि बुढामगर, उत्कृष्ट प्रशिक्षक फोर ब्रदर्शका धर्मराज भुसाल,  उत्कृष्ट रक्षक स्टार सिटीका विष्णु चौधरी, उदयमान खेलाडी गौरीगंगा-११ स्पोर्टस क्लबका निराजन धामी भए।

उनीहरूले जनही नगद १० हजार प्राप्त गरे। प्रतियोगिताका विजयी खेलाडीहरूलाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, गौरीगंगा नगरपालिकाका नगर प्रमुख तथा उपप्रमुखलगायतले पुरस्कार वितरण गरे।

चैत २१ गतेदेखि सुरु भएको प्रतियोगितामा १० टोलीले सहभागिता जनाएका थिए। आगामी संस्करणलाई थप पुरस्कार राशिसहित आयोजना गर्ने क्लबका अध्यक्ष दिनेश कलेलले जानकारी दिए।

प्रकाशित: ३० चैत्र २०७९ १५:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App