१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

केसीको आगमनसँगै मच्छिन्द्रले लय भेट्टायो

संकटाविरुद्ध पहिलो गोल गरेपछि मच्छिन्द्रका विमल घर्तीमगर (बीच)। तस्बिर सौजन्य: एन्फा

नयाँ प्रशिक्षकको आगमनसँगै साबिक विजेता मच्छिन्द्र फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा जित लय भेट्टाएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा संकटाविरुद्धको खेलको केही घण्टाअघि मात्र मच्छिन्द्रले किशोरकुमार केसीलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो। तत्कालीन मुख्य प्रशिक्षक प्रवेश कटुवाल नेपाली राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकमा नियुक्त भएसँगै मच्छिन्द्र मुख्य प्रशिक्षकविहीन रहँदै आएको थियो। केसी भित्रिनुअघिको ६ खेलमा मच्छिन्द्रले १ खेल जितेको थियो भने तीन खेल बराबरी र २ खेलमा हार व्यहोरेको थियो। पछिल्लो खेलमा मात्र विमल घर्तीमगरले इन्जुरी समयमा गोल गर्र्दै हिमालयन शेर्पाविरुद्ध मच्छिन्द्रको हारको संकट टारेका थिए।

केसीको प्रशिक्षणमा विजयी सुरुआत गर्ने क्रममा मच्छिन्द्रले संकटा क्लबलाई २–१ ले हराएको हो। केसीले गत सिजन जावलाखेल युथ क्लबलको प्रशिक्षण सम्हालेका थिए। २०औं मिनेटमा आन्द्रेस नियाको पासको सदुपयोग गर्दै विमलले मच्छिन्द्रलाई अग्रता दिलाएका थिए। तर मच्छिन्द्रले आफ्नो अग्रता लामो समयसम्म टिकाउन सकेन। त्यसको एक मिनेटपछि नै मनीष डाँगीले संकटालाई खेलमा फर्काएका थिए। कप्तान आयुष घलानको पासलाई डाँगीले जाली चुमाएका थिए।

दोस्रो हाफको सुरुआतमै आफिज ओलावालेले गरेको गोल मच्छिन्द्रको जितमा पर्याप्त बन्यो। इन्जुरी समयमा आफ्नै टोलीका पुजन उपरकोटीसँग जुध्दा छिरिङ गुरुङ मैदानमा लडेपछि केही समय खेल रोकिएको थियो। मैदानमा प्राथमिक उपचारपछि छिरिङलाई तत्काल अस्पताल पुर्‍याइएको थियो। उनको अवस्था अहिले खतरामुक्त रहेको बताइएको छ। मच्छिन्द्र ७ खेलमा ९ अंकसहित नवौं स्थानमा छ भने संकटा समान खेलमा समान ९ अंकसहित सातौं स्थानमा छ।

‘मैले नयाँ चुनौतीलाई स्वीकार गर्दै मच्छिन्द्रको प्रस्ताव स्वीकार गरेको हुँ,’ केसीले भने, ‘खेल सुरु हुनुभन्दा केही घण्टाअघि मात्र मैले टोलीको जिम्मेवारी सम्हालेको हुँ। त्यसैले मैले पूर्ण रूपमा टोलीसँग घुलमिल हुने र प्रशिक्षण गराउने समय पाएको छैन। टोली उत्कृष्ट छ, यसमा कुनै शंका छैन। एक दिनपछि नै हाम्रो खेल भएकाले भोलि पनि हामीले प्रशिक्षणको तालिका राखेका छैनाैं। हामीले पछिल्ला खेलमा लय समाउन सकेका थिएनौं। आज जित निकाल्याैं। आशा छ टोलीले आगामी खेलमा पनि जित लय कायम राख्नेछ। क्लबको लिग उपाधिमा ह्याट्रिक गर्ने लक्ष्य छ। हामी त्यसैका लागि खेल्नेछौं ।’

संकटाका प्रशिक्षक सल्यान खड्गीले मच्छिन्द्रविरुद्ध राम्रो प्रदर्शन गर्दा गर्दै पनि पाएको अवसरको सदुपयोग गर्न नसक्दा नतिजा सुम्पिनुपरेको बताए।

‘लिगअघि लिएको लक्ष्यमा पुग्न हामीलाई निकै कठिन हुँदै छ। किनभने हामीले सोचेअनुरूपको नतिजा ल्याउन सकेका छैनाैं,’ खड्गीले भने, ‘आज हामीले रक्षापंक्तिको गम्भीर गल्तीका कारण दुवै गोल खायौं। मच्छिन्द्रविरुद्ध पाएका अवसरको सदुपयोग पनि गर्न सकेनौं ।’

खड्गीले मच्छिन्द्रका छिरिङ गुरुङ मैदानमा लडे लगत्तै मानवताको नाताले मैदान प्रवेश गरेको बताए।

‘सबैभन्दा पहिला त हामी मानव हाैं,’ उनले भने, ‘छिरिङ लडेको देखेपछि मैलै आफूलाई रोक्न सकिनँ र तत्काल उनीसम्म पुगें। मैलै उनको मुख बन्द हुन दिइनँ। उनी करिब एक मिनेट बेहोस थिए। चिकित्सकहरू पनि आउनुभयो। होस खुलेपछि उनलाई अस्पताल लगिएको थियो।’

दशरथ रंगशालामा आइतबार नै सम्पन्न दोस्रो खेलमा ३ पटकको अग्रता जोगाउन नसक्दा त्रिभुवन आर्मी क्लब सातदोबाटो युथ क्लबलसँग ३–३ को बराबरीमा रोकिएको छ।

खेलको चौथो मिनेटमा कप्तान जिलेस्पीजंग कार्कीको गोलमा आर्मीले अग्रता लिएको थियो। २५औं मिनेटमा आर्मीका सुरज बस्नेतको आत्मघाती गोलमा सातदोबाटो खेलमा फर्किएको थियो। ३९औं मिनेटमा जिलेस्पीले गोल गर्दै आर्मीलाई पुनः अग्रता दिलाएका थिए। ४८औं मिनेटमा सार्दोबेक माटमुरातोभको गोलमा सातदोबाटो दोसो पटक खेलमा फर्किएको थियो। ५२औं मिनेटमा सातदोबाटोका गोलकिपर अभिशेक बरालले राम्रोसँग बल नियन्त्रणमा लिन नसक्दा आर्मीका दीपक गुरुङको लामो प्रहारले पोस्टको दिशा लिएको थियो।

खेल सकिन ५ मिनेट बाँकी रहँदा विलियम ओसिडुले फ्रिकिकमा गोल गरेसँगै सातदोबाटोले हारको संकट टारको थियो। सातदोबाटो ७ खेलमा १३ अंकसहित तेस्रो स्थानमा छ। शीर्ष स्थानको मनाङ मस्र्याङ्दी क्लब र दोस्रो स्थानको जावलाखेलको समान १४ अंक छ। आर्मी भने ७ खेलमा ९ अंकसहित आठाैं स्थानमा यथावत् छ।

आइतबारै सातदोबाटोस्थित एन्फा मुख्यलायमा सम्पन्न खेलमा न्युरोड टिम एनआरटीले ७ खेलमा आएर पहिलो जितको स्वाद चाख्ने क्रममा हिमालयन शेर्पामाथि २–१ को पुनरागमन जित निकाल्यो।  

प्रकाशित: २७ चैत्र २०७९ ००:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App