२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

‘असफलतामा निराश नहुनुस्’

भियतनामी खेलाडीसँग बल खोस्ने प्रयासमा नेपालकी अनिता केसी। तस्बिर सौजन्य: एन्फा

नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक अनन्त थापाले ओलम्पिक छनोट २०२४ को दोस्रो चरणमा प्रवेश गर्न असफल भए पनि समर्थकहरूलाई निराश नहुन आग्रह गरेका छन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न दोस्रो लेगमा नेपालले भियतनामलाई २–० को नतिजा सुम्पियो। ओलम्पिक छनोट २०२४ अन्तर्गत एसियाली क्षेत्रको पहिलो चरणको छनोटमा दुई खेल खेलेको नेपालका लागि नतिजा भने सुखद रहेन। पहिलो लेगमा बुधबार ५–१ को नतिजा सुम्पिएको नेपाल समग्रमा ७–१ हो हारसँगै पहिलो चरणमा यात्रा अन्त्य गर्न बाध्य भयो। खेलको सुरुआती पाँच मिनेटमै फाम हाइ यनले गरेको गोल भियतनामको जितमा पर्याप्त बन्यो।

‘आज हामीले गोलकिपर र रक्षकबीच तालमेल अभावमा सुरुआतमै दुई गोल खायौं,’अनन्तले भने, ‘नेपाली टोलीको मनोबल सो गोलसँगै घटेको थियो। सुरुआती मिनेटमै पछि परेको टोलीले अन्तत मनोबल उच्च पार्दै भियतनाममाथि दोस्रो हाफमा पूर्ण रूपमा दबाब बनायो।’

प्रशिक्षक अनन्तले नेपालले पाएका अवसर सदुपयोग गरेको खण्डमा नतिजा नै अर्को आउन सक्ने उल्लेख गरे।

‘पहिलो हाफमा साबित्रा भण्डारीको प्रहार भियताानामकी गोलकिपरले नियन्त्रण लिइन्। दोस्रो हाफमा दीपा शाहीको प्रहारमा पोस्ट बाधक बन्यो। हामी बराबरी गर्ने लक्ष्यका साथ आएका थियौं, जुन पूरा भएन।’ अनन्तले पहिलो लेगमा भियतनामले पाएको पेनाल्टी र अमृता जैसीको आत्मघाती गोलले नेपालको हातबाट नतिजा छिनेको समेत उल्लेख गरे। ‘यो फुटबल हो र हारपछि दुखी हुनु स्वाभाविक हो,’अनन्तले भने, ‘तर हामीले महिला फुटबलमा नयाँ आशासमेत जगाएका छौ।’

विश्वकप खेल्न तयारीमा रहेको टोलीविरुद्ध नेपाली महिला टोलीले गरेको जुझारु प्रदर्शनले आफ्ना खेलाडी क्षमतावान् रहेको प्रमाणित गर्ने अनन्त बुझाइ छ। ‘नतिजाको हिसाबमा हामीले फराकिलो हार व्यहोरे पनि प्रदर्शनप्रति भने मलाई मेरो टोलीप्रति गर्व छ। म नेपाली समर्थकलाई यो दुई खेलको नतिजाबाट निराश नहुन आग्रह गर्न चाहन्छु। यो टोलीमा केही गर्ने क्षमता छ। त्यसैले यो टोलीलाई यस अघिका जस्तै माया र साथ दिनु हुन अनुरोध गर्न चाहन्छु।’

नेपाली टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तोम्बाप्पो सुब्बाले आफूहरू बराबरीको लक्ष्यका साथ मैदान उत्रिए पनि पहिलो हाफका गरेको गल्तीका कारण सो लक्ष्य प्राप्त गर्न नसकेको बताइन्। ‘हामीले आफ्नै गल्तीमा दुई गोल खायौं। सम्हालिन नपाउँदै गोल खाएपछि टोली केही निराश बनेको थियो,’एन्जिलाले भनिन्, ‘तर पनि हामीले दोसो हाफमा उत्कृष्ट प्रदर्शनका साथ भियतनाममाथि दबाब बढाउन सफल भयौं। यद्यपि हामीले पनि पाएका केही अवसर गुमायौं। म टोलीको प्रदर्शनप्रति सन्तुष्ट छु।’

समूह ‘सी’ मा यसअघि नेपालसहित भियतनाम, प्यालेस्टाइन र अफगानिस्तान थिए। तर, प्यालेस्टाइन र अफगानिस्तानले आन्तरिक कारण देखाउँदै प्रतियोगिताबाट नाम फिर्ता लिएपछि नेपाल र भियतनामले पहिलो चरणमा दुई लेगमा प्रतिस्पर्धा गर्नुपरेको थियो। दुई खेलमा सतप्रतिशत नतिजासहित भियतनाम दोस्रो चरणमा प्रवेश गर्‍यो। छनोट चरणमा सहभागी २६ टोलीलाई सात समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहका विजेताले दोस्रो चरणमा स्थान बनाउने प्रावधान छ।  

उत्तर कोरिया, जापान, अस्ट्रेलिया, चीन र दक्षिण कोरिया गरी फिफा वरीयताको शीर्ष पाँच स्थानमा रहेका राष्ट्रले भने यसअघि नै दोस्रो चरणमा स्थान बनाइसकेका छन्। पहिलो चरण पार गरेका सात र दोस्रो चरणमा सोझै प्रवेश पाएका पाँच गरी १२ टोलीले दोस्रो चरणमा प्रतिस्पर्धा गर्नेछन्। भियतनामका प्रशिक्षक मिया डुच चुङले पहिलो लेगमा सहज जित निकाले पनि दोस्रो लेगमा पनि सुखद नतिजाको लक्ष्यमा मैदान प्रवेश गरेको बताए।

‘हामीले पहिलो लेगमा फराकिलो जित निकालेका थियौं र दोसो चरण प्रवेशको सम्भावना प्रबल थियो,’चुङले भने, ‘तर पनि हामी दोस्रो लेगमा जितकै लक्ष्यका साथ मैदान प्रवेश गर्‍यौं। तर, नेपाली टोलीले बुधबारको तुलनामा अझ धेरै माथिल्लो स्तरको प्रदर्शन गर्‍यौं। जसका कारण हाम्रो जित निकै कठिन देखियो। पहिलो हाफमा पाएका अवसरको सदुपयोग गर्न सक्नु नै हाम्रो जितको आधार बन्यो।’ चुङले नेपाल टोलीको भविष्य राम्रो रहेको पनि उल्लेख गरेका छन्।

‘नेपाली टोली निकै उत्कृष्ट छ,’चुङले थपे, ‘शारीरिक र प्राविधिक रूपमा पनि उनीहरू अब्बल छन्। नेपालसँग यो हाम्रो पहिलो भेट हो। हामी आगामी दिनमा नेपालसँग धेरैभन्दा धेरै खेल खेल्न चाहन्छौं।’

प्रकाशित: २६ चैत्र २०७९ ००:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App