१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

थ्री स्टारको जितलय कायम

हिमालयन शेर्पाविरुद्ध बल अघि बढाउने क्रममा मच्छिन्द्रबाट पहिलो पटक मैदानमा उत्रिएका भुटानी चेन्चो ग्याल्सेन।तस्बिर सौजन्य: एन्फा

थ्री स्टार क्लबका मुख्य प्रशिक्षक मेघराज केसीले खेलजीवनबाट विश्राम लिने संघारमा रहेका खेलाडी र युवा खेलाडीको सन्तुलनमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग खेल्नु आफूहरूको बाध्यता भएको बताएका छन्।

बिहीबार च्यासल फुटबल मैदानमा सम्पन्न खेलमा अजयी मार्टिन्सको निर्णायक गोलमा थ्री स्टार क्लबले त्रिभुवन आर्मी क्लबलाई १–० ले हरायो। १७औं मिनेटमा मार्टिन्सले गरेको गोल थ्री स्टारको जितमा पर्याप्त बन्यो। गत शनिबार मात्र खप्तड गोल्डकपको उपाधि जितेको थ्री स्टारले आर्मीविरुद्ध पनि जित लय कायम राखेको हो।

‘हाम्रो टोली अग्रपंक्तिमा मार्टिन्समा मात्र निर्भर भएको देखिन्छ। यो हाम्रो बाध्यता हो। हाम्रो टोलीमा नाम चलेका कुनै स्ट्राइकर छैनन्,’ केसीले भने, ‘गत सिजन लिगमा सहभागी भएका करिब ८० खेलाडी यस पटक बाहिरिसकेका छन्। त्यसैले टोलीमा नाम चलेका खेलाडी अनुबन्धन गर्न कठिन भयो। यो हाम्रो मात्र समस्या होइन। सबै क्लब यही अवस्थाबाट गुज्रिरहेका छन्।’

केसीले खेल जीवनबाट संन्यासको संघारमा रहेका कप्तान विक्रम लामा र पूर्वकप्तान विराज महर्जनले आफ्नो अनुभवको भरपूर प्रयोग गरिरहेको र त्यो आफ्नो टोलीका लागि निकै फाइदाजनक भएको बताए।

‘विक्रम र विराजको प्रदर्शन निकै अब्बल छ,’ केसीले भने, ‘उनीहरूले आफ्नो स्वाभाविक लय अनुसारको प्रदर्शन गरिरहेका छन्। उनीहरूले निकै मिहिनेत गरेका छन्। उनीहरूले गर्ने उत्कृष्ट प्रदर्शन हाम्रा अन्य युवा खेलाडीका लागि सधैं प्रेरणाा बन्न सक्छ।’

केसीले जारी लिगमा अधिकांश क्लब युवा खेलाडीमा निर्भर भएको र यो आगामी केही वर्षमा नेपाली फुटबलका लागि सुखद पक्ष बन्न सक्ने बताए। ‘अहिले हरेक टोलीमा युवा खेलाडीको बाहुल्य छ,’ केसीले थपे, ‘ ‘बी’ र ‘सी’ डिभिजनसमेत नखेलेका खेलाडीलाई ‘ए’ डिभिजनमा मैदान उतार्नुपरेको छ। ती खेलाडीले मैदानमा निकै राम्रो प्रदर्शनसमेत गरिरहेका छन्।

उनीहरूले यसैगरी आफूलाई प्रमाणित गर्दै जाने हो भने कठिन स्थितिबाट गुज्रिरहेको नेपाली फुटबलका लागि त्यो निकै सुखद पक्ष बन्न सक्छ।’

थ्री स्टार ६ खेलमा १० अंकसहित छैटौं स्थानमा छ। आर्मी भने समान खेलमा ८ अंकसहित आठौं स्थानमा छ। आर्मीका प्रशिक्षक नवीन न्यौपानेले पहिलो खेलबाटै टोलीमा फिनिसिङको समस्या देखिएको र त्यो छैटाैं खेलसम्म कायम रहेको बताए।

‘हामीले राम्रो प्रदर्शन गर्दा गर्दैै पनि पाएका अवसरको सदुपयोग गर्न सकिरहेका छैनाैं,’ न्यौपानेले भने, ‘यो समस्या छैटाैं खेलसम्म कायम रह्यो। हामीले त्यसमा सुधार गर्न आवश्यक छ। आज थ्री स्टारविरुद्ध पनि हामीले अवसर नपाएका होइनौं, तर त्यसलाई सदुपयोग भने गर्न सकेनौं। थ्री स्टारको रक्षापंक्ति निकै बलियो देखियो।

बिहीबारै एन्फा मुख्यालय सातदोबाटोमा सम्पन्न खेलमा साबिक विजेता मच्छिन्द्र क्लब भने हिमालयन शेर्पा क्लबविरुद्ध हारको संघारबाट जोगिएको छ। विमल घर्तीमगरले इन्जुरी समयको पाँचाैं मिनेटमा गरेको गोलमा मच्छिन्द्रले हिमालयन शेर्पासँग १–१ को बराबरी खेलेको हो।

यसअघि ८६औं मिनेटमा सत्यम शर्माको पेनाल्टी गोलमा हिमालयन शेर्पाले अग्रता लिएको थियो। ६ खेलमा मात्र १ खेल जितेको मच्छिन्द्र ६ अंकसहित १०औं स्थानमा छ भने हिमालयन शेर्पा समान खेलमा ६ अंकसहित नवौं स्थानमा छ।

प्रकाशित: २४ चैत्र २०७९ ००:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App