१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

नेत्रहीन महिला ट्वान्टी-२० क्रिकेट शृंखला हुने

नेपाल र भारतको नेत्रहीन महिला क्रिकेट टोलीबीच आगामी वैशाख दोस्रो सातादेखि दोस्रो नेत्रहीन महिला ट्वान्टी-२० क्रिकेट शृंखला हुने भएको छ।

नेत्रहीन क्रिकेट संघ नेपालको आयोजनामा आगामी वर्षको वैशाख १२ देखि १७ गतेसम्म पाँच खेलको ट्वान्टी–२० क्रिकेट शृंखला हुन लागेको हो। उक्त शृंखला काठमाडौंको मूलपानी क्रिकेट मैदानमा र पोखराको पोखरा रंगशालामा रहेको क्रिकेट मैदानमा हुनेछ। पोखरामा दुई वटा र काठमाडौं तीनवटा खेल हुनेछन्। पोखरामा वैशाख १२ र १३ गते पहिला दुई खेल हुनेछन्। काठमाडौंको मूलपानीमा वैशाख १५, १६ र १७ गते गरी तीन खेल सञ्चालन हुने कार्यक्रम छ।

उक्त शृंखलाका लागि नेत्रहीन क्रिकेट संघ नेपालले सोमबार नेपाली नेत्रहीन महिला क्रिकेट टोली पनि सार्वजनिक गरेको छ। पोखरामा गत चैत १५ गते भएको छनोट प्रतियोगिताबाट १५ सदस्यीय नेपाली टोली पनि छनोट गरेको नेत्रहीन क्रिकेट संघ नेपालका अध्यक्ष पवन घिमिरे जानकारी दिए।

नेपाली टोलीका प्रमुख प्रशिक्षक रिजन प्रजु र सहायक प्रशिक्षक नहेन्द्र निरौलाले २४ सदस्यीय प्रारम्भिक टोलीबाट भारतसँगको शृंखलाका लागि १५ सदस्यीय नेपाली टोली घोषणा गरेका हुन्।

उक्त टोलीमा मुना अर्याल, रिता थापा, प्रतिभा राई, सरिता घिमिरे, मनकेशरी चौधरी, विमला राई, विनीता पुन, गीता पौडेल, दिल्लीशरा धमला, सुष्मा तामाङ, विनीता मगर सोमाई, कान्ति योगी, माया लुङ्गेली, निशा चौधरी र भगवती भट्टराई छन्। सो शृंखलाका लागि आगामी वैशाख १० गतेसम्म पोखरामै बन्द प्रशिक्षण हुनेछ। नेपाली टोलीको तयारीका लागि अस्ट्रेलियन दूतावास र विभिन्न संस्थाहरूको सहयोग रहेको संघले जनाएको हो। बन्द प्रशिक्षणबाटै नयाँ कप्तान चयन गरिने संघका अध्यक्ष घिमिरेले जानकारी दिए।

भारतीय टोली वैशाख ११ गते नेपाल आइपुग्ने कार्यक्रममा छ। यो नेपाली नेत्रहीन महिला क्रिकेट टोलीले खेल्न लागेको दोस्रो अन्तर्राष्ट्रिय प्रतिस्पर्धा पनि हो। नेपाली महिला नेत्रहीन क्रिकेट टोली सन् २०१९ मा पाकिस्तानमा पहिलो अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गरेको थियो। पाँच खेलको शृंखलामा एक खेल वर्षाका कारण रद्द हुँदा चार खेलको नतिजा भने नेपालले आफ्नो पक्षमा पार्दै क्लिन स्विप गर्‍यो।  

प्रकाशित: २२ चैत्र २०७९ ०१:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App