१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

भारतको सनसनीपूर्ण जित

चेन्नई(एएफपी)– इङ्ल्यान्डविरुद्ध पाँचौं टेस्टको अन्तिम दिन मंगलबार रविन्द्र जडेजाले ७ विकेट लिएपछि भारतले १ इनिङ र ७५ रनको विजय हासिल गरेको छ। पहिलो टेस्ट बराबरी खेलेको भारतले ५ खेलको शृंखलामा ४–० ले कब्जा जमायो।

वायाँ हाते स्पिनर जडेजाले करियरकै उत्कृष्ट बलिङ गर्ने क्रममा ४८ रन खर्चेर ७ विकेट लिएका थिए । जडेजाले प्रभाव जमाएपछि  बराबरी लक्ष्यमा रहकोे भ्रमणकारी टोली फराकिलो हार टार्न असमर्थ भयो । दोस्रो इनिङमा इङ्ल्यान्ड २ सय ७ रनमा अलआउट भएको थियो । पहिलो इनिङमा इङ्ल्यान्डले ४ सय ७७ रन बनाएको थियो भने भारतले ७५९–७ को स्थितीमा इनिङ समाप्तीको घोषणा गरेको थियो ।

इङल्यान्डका कप्तान एलेस्टर कुक र केनोट जेनिङसले पहिलो विकेटका लागि १ सय ५ रनको साझेदारी गर्दै राम्रो सुरुआत दिलाएका थिए । तर भारतको कसिलो बलिङसामु अन्तिम सेसनमा १५ रन बनाउँदा ६ विकेट गुमाएपछि भ्रमणकारी टोली अनपेक्षित हारको सिकार भयो ।

मुम्बईमा सम्पन्न चौथो टेस्टमा ‘डेब्यु’ गर्दा शतक बनाएका जेनिङस इङ्ल्यान्डबाट दोस्रो इनिङमा सबैभन्दा धेरै रन बनाउने खेलाडी रहे । १ सय २१ बल खेल्दै ७ चौका प्रहार गरेका जेनिङ्सले जडेजाको बलमा क्याच आउट हुनुअघि ५४ रन जोडे ।

१२–० को स्थितीबाट इङ्ल्यान्डले पाँचौ दिनको सुरूआत गरेको थियो । कुकले ४९, मोइन अलीले ४४ र बेन स्टोकले २३ रन बनाए । तीनै जना जडेजाको बलमा आउट भएका थिए । अन्य ब्याट्सम्यानले दोहोरो स्कोर गर्न सकेनन् ।

‘हामी मध्य सेसनसम्म राम्रो अवस्थामा थियौं । तर बाँकी समय राम्रो प्रदर्शन गर्न सकेनांै,’ इङल्यान्डका कप्तान कुकले भने, ‘यो जितको श्रेय भारतका कप्तान विराट कोहलीलाई जान्छ । उनीहरुले उत्कृष्ट प्रदर्शन गरे । उनीहरु उत्कृष्ट टोली हुन् । हामीले सक्दो प्रयास ग¥यौं । तर त्यो प्रर्याप्त भएन ।’

‘म धेरै खुशी छु । हामी ठूलो योगफलमा सधै अगाडी रहयौं र दुईवटै खेल इनिङ अन्तरले जित्यौं । टेस्ट क्रिकेटमा यस्तो विरलै हुने गर्छ,’ भारतीय कप्तान कोहलीले भने ।

मध्य सेसन राम्रो साझेदारी गरिरहेका इङल्यान्डका ओपनरलाई जडेजाले पबेलियनको बाटो देखाएका थिए। मंगलबार जडेजाको बलबाट आउट हुने ज्याक बेल अन्तिम ब्याट्सम्यान थिए ।

पाँचौ टेस्टमा विकेटविहिन भए पनि रविचन्द्र अश्विनले शृंखलामा सबैभन्दा धेरै २८ विकेट लिए। जडेजाको नाममा २६ विकेट रह्यो । उनले अन्तिम खेलमा मात्रै १० विकेट लिएका थिए । भारतका इशान्त शर्मा, उमेश यादव र अमित मिश्राले मंगलबार १–१ विकेटमा नाम लेखाए।

सोमबार करूण नायरले तेहेरो शतक पूरा गर्दै घरेलु टोलीका लागि जितको आधार खडा गरेका थिए। नायरको अविजित ३ सय ३ र लोकेश राहुलको १ सय ९९ रन मद्दतमा घरेलु टोलीले पहिलो इनिङमा ७ विकेट गुमाएर ७ सय ५९ रन बनाउदै इनिङ समाप्तीको घोषणा गरेको थियो। भारतले टेस्टको एक इनिङमा बनाएको यो अहिले सम्मको ठूलो योगफल हो।

करियरकै तेस्रो टेस्ट खेलिरहेका नायर पहिलो सतक बनाएकै इनिङमा तेहोरो शतक प्रहार गर्ने तेस्रो खेलाडी बने । यसअघि वेस्ट इन्डिजका ग्यारी सोबर्सले (अविजित ३ सय ६५ ) तथा अस्ट्रेलियाका बब सिम्सनले पहिलो शतकलाई तेहोरो शतकमा परिणत गरेका थिए।

नायर म्यान अफ दी म्याच भए भने शृंखलामा सबैभन्दा धेरै ६ सय ५५ रन जोडेका कोहली म्यान अफ दी सिरिज घोषित भए।

इङ्ल्यान्ड क्रिसमस विदाका लागि स्वदेश फर्किए पनि भारतविरुद्धको ३ एक दिवसीय शृंखलाका लागि पुनः भारत फर्कनेछ । पहिलो एक दिवसीय खेल जनवरी १५ मा पुनेमा हुनेछ।

प्रकाशित: ६ पुस २०७३ ०१:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App