काठमाडौं- पूर्व राष्ट्रिय खेलाडी कुमार थापाको नेतृत्वमा नेपाली महिला राष्ट्रिय टोलीले सुखद सुरुआत गर्ने क्रममा शनिबार मलेसियाविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा १-० को विजय हासिल गरेको छ। थापाको प्रशिक्षणमा पहिलो खेल खेलिरहेको नेपालको जितमा सावित्रा भण्डारीले पहिलो हाफमा गरेको एउटै गोल पर्याप्त भयो। मुख्य प्रशिक्षकका रुपमा सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको कृत्तिम मैदानबाट सफल 'डेब्यु' गरेका थापाले त्यही खेलमार्फत टोलीमा ६ नयाँ खेलाडीलाई पनि 'डेब्यु' गराएका थिए।
पुस ११ गतेबाट भारतको सिलगुडीमा हुने महिला साफ च्याम्पियनसिपको तयारीका लागि आयोजित मैत्री खेलमा गोलकिपर गिता राना, शर्मिला थापा, मञ्जलीकुमारी योञ्जनले पहिलो रोजाईबाटै 'डेब्यु'को मौका पाएका थिए। यसैगरी सरु लिम्बु, निर्मला बिक र अन्जना राना मगरले वैकल्पिक खेलाडीका रुपमा राष्ट्रिय टोलीको जर्सी लगाए।
नेपाली टोलीका प्रशिक्षक थापाले मैत्री खेलबाट खेलाडीलाई राम्रो अनुभव भएको बताए। साफको तयारीमा रहेको टोलीमा यो खेलबाट धेरै सुधारको आवस्यकता छर्लङग भएको उनको ठम्याई थियो।
‘राम्रो अनुभव भयो। डेब्यू गरेका खेलाडी शुरुमा केही नर्भस देखिए पनि पछि राम्रो गरे। हामीले यो खेलमा गरेको परिक्षण सफल भयो,’ ४–२–३–१ को शैली मा टोली उतारेका प्रशिक्षक थापाले भने, ‘विंग्सबाट पेनाल्टी बक्सभित्र जति दबाब सिर्जना गर्न सक्नुपर्थ्यो त्यसमा कमजोरी देखियो। सुधार गर्नु पर्ने धेरै ठाँउहरु यो खेलबाट पत्ता लागेको छ। त्यसमा हामी सुधार गर्छौ।’
सुरूबाटै मलेसियामाथि हावी भएको नेपालले २७ औं मिनेटमा अग्रता लिएको थियो। दीपा राईले वायाँ विंग्सबाट गरेको क्रसमा पेनाल्टी बक्सभित्र रहेकी सावित्राले भलीमार्फत दर्शनीय गोल गरेकी थिइन्। सावित्राले टोली जितमा योगदान गर्न पाउँदा खुशी लागेको बताइन्।
‘खुशी लागेको छ,’ सावित्राले थपिन्, ‘हाम्रो मिडफिल्ड र अग्रपंक्तिबीच तालमेलमा केही कमी देखिएको छ। त्यसलाई सुधार गर्नुपर्छ।’
पहिलो हाफमा ६, ७ पटक मलेसियाको पोस्टमा आक्रमण बुने पनि नेपाल एक गोलमै सिमित भयो। दोस्रो हाफमा पनि नेपालले मलेसियालाई दबाबमा राखेको थियो। मलेसियाकी १७ वर्षिया गोलकिपर नुरूल एजुरिन मजलानले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले थप गोल गर्न भने सकेन।
‘आज हामीले अझै ठूलो अन्तरमा जित्नुपर्थ्यो, त्यो भएन। अग्रपंक्तिमा अझै सुधार आवस्यक छ। गोलकिपरले अघि बढेर खेल्नु पर्ने थियो। साथमा उनले कराएर साथीहरुसँग समन्वय पनि गर्नुपर्नेमा त्यसो हुन सकेन। कम अनुभवका कारण यस्तो भएको हो, यसमा हामीले सुधार गर्नेछौं,’ साफ च्याम्पियनसिपमा खेल्ने टोलीबारे प्रशिक्षक थापाले भने, ‘लगभग हाम्रो खेल्ने टोली यही हो। मिडफिल्ड र अग्रपंक्तिमा केही परिवर्तन हुन सक्छ।’
५१ औं मिनेटमा सावित्राले दिएको पासमा अनिता विष्टले पेनाल्टी बक्सको दायाँ भागबाट गरेको प्रहार मलेसियाका गोलकिपरले पन्च गरेकी थिइन्। त्यसको लगत्तै सावित्राले पेनाल्टी बक्सबाट गरेको प्रहारलाई पनि उनले बचाएकी थिइन्। ६८ औं मिनेटमा मन्जलीले गरेको प्रहार पनि सफल हुन सकेन।
मलेसियाका प्रशिक्षक मोहद अस्रफ अब्दुल्लाहले नेपालको प्रदर्शनको तारिफ गर्दै एक गोलमात्र खाएकोमा खुशी रहेको प्रतिकृया दिए।
‘नेपालले संगठित प्रदर्शन गर्यो। शारिरिक रुपमा नेपाली खेलाडीहरु फिट छन्। सन्तुलित टोली छ। हाम्रो क्षेत्रका थाइल्यान्ड र म्यानमारसँग नेपाली टोलीको स्तर मिल्छ,’ मलेसियाका प्रशिक्षक अस्रफ अब्दुल्लाहले भने, ‘ठिक विपरित हाम्रा खेलाडीमा अनुभवको कमी देखियो। यहाँको वातावरणले पनि असर गर्यो।’
प्रकाशित: ३ पुस २०७३ ०३:३९ आइतबार