१५ चैत्र २०८० बिहीबार
खेल

एपिएफ र कोसीबीच उपाधि भिडन्त

फाइल तस्वीर

तेस्रो संस्करणको ललितपुर मेयर्स कप महिला ट्वान्टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि विभागीय टोली एपिएफ र कोसी प्रदेश भिड्ने भएका छन्।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न लिग चरणको अन्तिम खेलमा कोसी प्रदेशले मधेस प्रदेशलाई ६२ रनले र एपिएफले अन्तिम खेलमा ललितपुरलाई ३७ रलने पराजित गरेसँगै उपाधिका लागि भिड्ने टोलीको टुङ्गो लागेको हो। जितपछि कोसीले चार खेलबाट ६ अंक बनाउँदै दोस्रो स्थानमा अटाएर फाइनलमा पुग्दा एपिएफले ८ अंक बनाउँदै शीर्ष स्थानमा रह्यो।

कोसी प्रदेशले मंगलबार दिएको १ सय ६ रनको लक्ष्य पछ्याएको मधेस प्रदेशले ९ विकेट गुमाएर मात्र ४३ रन बनाउन सक्यो। मधेसका लागि सरस्वती कुमारीले १० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन्। कोसी प्रदेशका निशा शाह, कप्तान रुबिना क्षत्री र अलिशा खडियाले समान दुई/दुई तथा सवनम राईले एक विकेट लिए।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कोसीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५ रन बनाएको थियो। कोसीका लागि रुबिना क्षत्रीले ३९, काजल श्रेष्ठले २२, अप्सरी बेगमले १९ र स्मृति कटुवालले १० रन जोडे। मधेसका लागि अमिरन निशा, सन्तोषी चौधरी र अमीषा पटेलले समान दुईदुई विकेट लिए। मंगलबारै पहिलो खेलमा एपिएफले ललितपुर मेयर्स–११ लाई ३७ रनले पराजित गरेको छ।

प्रकाशित: १५ चैत्र २०७९ ०१:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App