coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

विराट गोल्डकप: आयोजक विराटनगर फाइनलमा

सातौं विराट गोल्डकपको फाइनलमा घरेलु टोली विराटनगर सिटी फुटबल क्लब पुगेको छ। सोमबार राति भएको खेलमा जावलाखेल युथ क्लबलाई पराजित गर्दै विराटनगर उपाधि नजिक पुगेको हो।

विराट गोल्डकप ट्रष्टले आयोजना गरेको प्रतियोगिता अन्तर्गत सोमबारको खेलमा जावलाखेललाई घरेलु टोली विराटनगरले २–१ गोल फरकमा हराउँदै फाइनलमा आफ्नो स्थान सुरक्षित पारेको हो। उपाधि जितका लागि मंगलबार (आज) हुने डिफेन्डिङ च्याम्पियन सशस्त्र प्रहरी बलको (एपिएफ) र भारत केरलाको लुका सकर क्लबबीचको विजेतासँग बिहीबार खेल्ने छ।

घरेलु टोली विराटनगर मछिन्द्र क्लबको सेटसहित जावलाखेलविरुद्ध मैदानमा आएको थियो। मछिन्द्रले आफ्नो क्लबको नामबाट नखेले पनि विराटनगरको नामबाट खेल्दै काठमाडौंमा भइरहेको ‘ए’ डिभिजन लिग खेलमा जावलाखेलसँगको हारको बदला लिन सफल भयो। दुवै टोली मध्यान्तर अघिसम्म गोल रहित बराबरी खेलेका थिए। घरेलु दर्शको साथ पाएको विराटनगरका लागि स्टेफन र अभिषेक गुरुङले गोल गर्दै टोलीलाई विजयी बनाए। जावलाखेलका लागि सान्तवना गोल हिसुब थपलियाले गरेका थिए।

खेलको ५९ औं मिनेटमा विराटनगरका स्टेफनले गोल गर्दै टोलीलाई १ गोलको अग्रता दिलाए। विमल घर्ती मगरले पेनाल्टी एरियाबाट गरेको प्रहार जावलाखेलका गोलरक्षक अनिष देउलाले क्लियर गर्न गर्दा भएको रिबाउण्ड बलमा स्टेफनले गोल गरे।

८७ औं मिनेटमा विराटनगरका विमल घर्ती मगरले निकालेको क्रस पासलाई अभिषेक गुरुङले गोल गर्दै टोलीलाई २–० को स्थितिमा पुर्‍याए। गुरुङ ५८ औं मिनेटमा आफिज ओलावलेको स्थानमा मैदान प्रवेश गरेका थिए।

गोल संख्या बढ्दै गएपछि थप दबाबमा रहेको जावलाखेलले गोलका धेरै प्रयास गरे पनि फिनिसिङ दिन सकेका थिएनन्। निर्धारित समयमा थप गरिएको अतिरिक्त समयमा जावलाखेलका हिसुब थपलियाले गोल गरे।

९ औं मिनेटमा विराटनगरका विमल घर्ती मगरले डिबक्सभित्रबाट गरेको प्रहार जावलाखेलका गोलरक्षक अनिष देउलाले उत्कृष्ट बचाए। १७ औं मिनेटमा जावलाखेलका एनकोटोले वान भर्सेस वानको प्रहार गोल गर्नबाट चुके। उनले डिबक्सभित्रबाट गरेको प्रहार विराटनगरका गोलरक्षक विशाल श्रेष्ठले विफल पारे। लगतै एनकोटोले निकालेको क्रस पासलाई हिसुबले पेनाल्टी एरियाबाट गरेको प्रहारलाई गोलरक्षकले पञ्च गर्दै संकट टारे।

८९ औं मिनेटमा जावलाखेलका सीमान्त थापाको प्रहार बाहिरियो। लगतै सुनिल खड्काले डिबक्सभित्रबाट गरेको प्रहारलाई गोलरक्षकले विफल पारे। म्यान अफ म्याच विराटनगरका स्टेफनले ११ हजार रुपैयाँ प्राप्त गरे।

विराटनगरका प्रशिक्षक सन्तोष न्यौपानेले खेलाडीहरुको मेहनतको कारणले जित हासिल गरेको बताए। लिग खेलमा मछिन्द्रबाट जावलाखेलविरुद्ध खेल्दा हारेको बदला यहाँ लिइएका छौं। पहिलो हाफसम्म खेलाडीहरुले पाएको सुन्दर अवसर खेर फाल्दा जित निकाल्न अन्तिम समय कुर्नु पर्‍यो। जावलाखेलको प्रशिक्षक सुनिलकुमार श्रेष्ठले खेलाडीहरुले गोलका धेरै राम्रो अवसर सदुपयोग गर्न नसक्दा हार्नु परेको बताए।

प्रकाशित: १४ चैत्र २०७९ ०९:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App