४ वैशाख २०८१ मंगलबार
खेल

तीनै राष्ट्रको फाइनल पुग्ने सम्भावना

बोन्फाचान बोङकङको दुई गोलप्रेरित लाओसले शनिबार भुटानमाथि २–१ को जित निकाल्दै प्रधानमन्त्री त्रिदेशीय कप फुटबलको फाइनल प्रवेश सम्भावना जीवन्त राखेको छ।

लाओसले बुधबार उद्घाटन खेलमा घरेलु टोली नेपाललाई २–० को नतिजा सुम्पिएको थियो। त्यसैले लाओसलाई फाइनल प्रवेशको सम्भावना कायम राख्न भुटानमाथि जितको विकल्प थिएन। हारको नतिजाले हान्स मिकेल वेसको टोलीको यात्रा लिगचरणमा समाप्त हुने थियो भने बराबरीको नतिजाले पनि टोलीको फाइनल प्रवेश सम्भावना न्युन बन्ने थियो। तीन राष्ट्र सहभागी प्रतियोगिताको शीर्ष दुई स्थानमा रहने टोली फाइनल प्रवेश गर्नेछन्।

नेपाल र लाओसको समान तीन अंक छ भने भुटान अंकविहिन छ। मंगलबार नेपाल र भुटानबीच लिग चरणको अन्तिम खेल हुनेछ। सो खेलको नतिजाले मात्र फाइनल प्रवेश गर्ने टोलीको टुङगो लगाउनेछ। सो खेलमा नेपालले भुटानलाई हराएमा घरेलु टोली र लाओस फाइनलमा आमनेसामने हुनेछन्। नेपाल र भुटानले अंक बाँडे पनि घरेलु टोलीसँगै लाओस फाइनल प्रवेश गर्नेछ। भुटानले नेपालाई हराएको खण्डमा भने तीन वटै टोलीको समान तीन अंक हुनेछ भने गोलअन्तरको आधारमा फाइनल प्रवेश गर्ने टोलीको टुङगो लगाइनेछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलको तेस्रो मिनेटमै बोङकोङको गोलमा लाओसले अग्रता लिएको थियो।

३४औं मिनेटमा कप्तान चेन्चो ग्याल्सेनको गोलमा भुटान खेलमा फर्किएको थियो। ७१औं मिनेटमा बोङकोङले गरेको गोल लाओसको जितमा पर्याप्त बन्यो। खेलको अन्तिम मिनेटमा भुटानले खेलमा फर्कने अवसर पाएको थियो। तर, तेन्जिङ दोर्जीको प्रहार पोस्टमा लागेर फर्कदा भुटानले एक खेल अगावै फाइनल प्रवेशको अवसरसमेत गुमायो। 

प्रकाशित: १२ चैत्र २०७९ ०१:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App