१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

तिलोत्तमा गोल्डकपको उपाधि मनाङ मर्स्याङ्दीलाई

बुटवलमा सम्पन्न तिलोत्तमा गोल्डकपको उपाधि मनाङ मर्स्याङ्दीले जितेको छ।

बुटवलको एन्फा टेक्निकल सेन्टरमा शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम–११ लाई सडन डेथमा पराजित गर्दै मनाङले  उपाधि जितेको हो। निर्धारित समयमा खेल १/१ गोलको बराबरीमा पुगेपछि ट्राइबेकरमा धकेलिएको थियो।

पेनाल्टी सुट आउटमा पनि दुवै टिमबाट ४/४ गोल भएपछि  खेल सडन डेथमा पुगेको हो। सडन डेथमा ४–३ गोल अन्तरले मनाङले उपाधि चुम्न सफल भएको छ।

त्यसअघि पहिलो हाफ गोल रहित भएको खेलको ५९ औं मिनेटमा मनाङकालागि कोफि टिमोथेले पहिलो गोल गरेका थिए। ७१ औं मिनेटमा सुदूरपश्चिमका फागुराम थारुले गोल फर्काउँदै खेललाई बराबरीमा पुर्‍याए। त्यसपछि खेल ट्राई ब्रेकरमा धकेलियो। पेनाल्टी सुट आउटमा पनि ४/४ गोलको बराबरी भएपछि खेल सडन डेथमा पुगेको थियो।

उपाधिसँगै मनाङ मर्स्याङ्दीले ११ लाख ११ हजार १११ रुपैयाँ नगद सहित पुरस्कार प्राप्त गर्‍यो। उपविजेता सुदूरपश्चिम–११ ले ५ लाख ५५ हजार ५५५ रुपैयाँ नगद सहित पुरस्कार प्राप्त गर्यो।

शनिबारै एक कार्यक्रमका बिच उपाधि विजेता, उपविजेता र उत्कृष्ट खेलाडीहरुलाइ बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, एन्फाका केन्द्रीय उपाध्यक्ष दिर्घबहादुर केसी (कुमार) जिल्ला फुटबल संघका अध्यक्ष लोक पुन, यती हेल्मेट उद्योगका संचालक महेश थैव,बुटवल ४ का वडाध्यक्ष नरिश्वर पौडेल, वडा नं.६ का वडाध्यक्ष लोकनाथ न्यौपाने लगायतले पुरस्कार प्रदान गरे।

प्रतियोगितामा सुदूरपश्चिम–११ का फागुराम थारु सर्वोत्कृष्ट खेलाडी भइ होण्डाको डियो स्कुटर प्राप्त गरे। उनले सर्वाधिक ४ गोल गरेका थिए। वेष्ट फर्वाडको उपाधि पनि थारुले पाउँदै ३० हजार नगद सहित पुरस्कृत भए।

मनाङका खेलाडीहरु जियानाथ शेख उत्कृष्ट गोल रक्षक, विसन गुरुङ उत्कृष्ट मिडफिल्डर, टिम क्याप्टेन आशिष गुरुङ उत्कृष्ट डिफेन्डर र किरण श्रेष्ठ उत्कृष्ट कोच बन्दै जनही ३० हजार नगद पुरस्कार प्राप्त गरे।

यस क्षेत्रकै पुरानो र प्रतिष्ठित फुटबल प्रतियोगिता तिलोत्तमा गोल्ड कपको संरक्षक बुटवल उपमहानगरपालिका रहेको छ।  प्रतियोगितामा दुई विभागीयसहित ८ टिम सहभागी थिए।

प्रकाशित: ११ चैत्र २०७९ १६:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App