coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

रोनाल्डो र ह्यारी केनको कीर्तिमान

पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो र इङ्ल्यान्डका ह्यारी केनका लागि युरोपियन च्याम्पियनसिप २०२४ को छनोेटअन्तर्गत बिहीबार कीर्तिमानी रात रह्यो।  

अन्तर्राष्ट्रिय फुटबलमा यसअघि नै सर्वाधिक गोल गर्ने पुरुष खेलाडी बनिसकेका ३८ वर्षे रोनाल्डो बिहीबार राति धेरै खेल (सर्वाधिक १९७) खेल्ने फुटबलर पनि भए। रोनाल्डोको दुई गोल प्रेरणामा पोर्चुगलले लिच्टेन्स्टाइनविरुद्ध ४–० को फराफिलो जित निकाल्यो। रियाल मड्रिड र म्यानचेस्टर सिटीका पूर्वखेलाडी रोनाल्डोले पहिलो गोल पेनाल्टी र अर्को गोल फ्रिकिकमार्फत दोस्रो हाफमा गरेका थिए। दुई गोलसँगै रोनाल्डोले अन्तर्राष्ट्रिय गोलसंख्या १ सय २० पु¥याए।  

यता, इङ्ल्यान्डका ह्यारी केनले पनि इटालीविरुद्ध पेनाल्टीमार्फत गोल गर्दै देशका लागि सर्वाधिक गोलकर्ताको सूचीमा वायन रोनीलाई पछि पारे। यो गोलसँगै उनले ५४औं अन्तर्राष्ट्रिय गोल पूरा गर्दै रोनीलाई पछि पारेका हुन्। पहिलो हाफमा केनकै पेनाल्टी प्रेरणामा इङ्ल्यान्डले इटालीमाथि २–१ को जित निकाल्यो। यो जर्मनीमा हुने युरो कप २०२४ का लागि छनोट खेल हो। कतार विश्वकप सम्पन्न भएको तीन महिनापछि अन्तर्राष्ट्रय फुटबल पनि सुरु भएको हो।

इटालीविरुद्ध जित निकाल्दै इङ्ल्यान्डले युरो २०२० को फाइनलमा बेहोरेको हारको बदला पनि लियो। पहिलो हाफमा डिक्लेन राइस र केनले गरेको गोल नै इङ्ल्यान्डको जितका लागि पर्याप्त भयो। पेनाल्टी क्षेत्रमा इटालीका डिफेन्डर जिओभानी डी लोरेन्जोले ह्यान्डबल गरेपछि भिएआरमार्फत खेलका रेफ्रीले इङ्ल्यान्डलाई पेनाल्टी अवसर दिए। जहाँ केनले सहजै गोल गरे। गत वर्षको विश्वकप क्वार्टरफाइनलमा केनले पेनाल्टी अवसर गुमाउँदा इङ्ल्यान्ड फ्रान्ससँग २–१ ले स्तब्ध भएको थियो। तर, यस पटक पनि उनले अवसर खेर फालेनन्।  

अर्जेन्टिनामा जन्मिएका माटियो रेटेगुईले इटालीका लागि गोल फर्काए पनि आफ्नो टोलीको हार टार्न सकेनन्। खेलको ८०औं मिनेटका इङ्ल्यान्डका लुक स दोहोरो पहेँलो कार्ड सामना गर्दै मैदानबाट बाहिरिए।

लुकले ५४ सेकेन्डको अन्तरमा दोहोरो पहेंलो कार्ड पाएका हुन्। यद्यपि, घरेलु टोली इटालीले त्यसको फाइदा लिन सकेन। पछिल्ला दुई विश्वकपमा लगातार छनोट हुन असफल इटालीलाई यो हारले अर्को धक्का लागेको छ। पाँच टोली रहेको यो समूह ‘सी’ को अर्को खेलमा नर्थ म्यासेडोनियाले माल्टामाथि २–१ को जित निकाल्यो।  

पोर्चुगलको सहज

रोबर्टो मार्टिनेजले प्रशिक्षण समालेको पहिलो खेलमा पोर्चुगलले लिच्टेन्स्टाइनविरुद्ध जित आत्मसात् ग¥यो। मार्टिनेजले रोनाल्डोलाई पहिलो रोजाइमा राखेका थिए। गत विश्वकपमा नकआउट चरणका खेलमा मैदानबाहिर राखिएका रोनाल्डोले युवा स्ट्राइकर जाओ फिलिक्ससँगै अग्रपंक्ति समालेका थिए, जहाँ उनले मार्टिनेजको विश्वासलाई प्रमाणित पनि गरे। कतार विश्वकपपछि बेल्जियममा प्रशिक्षण छाडेका मार्टिनेजले पोर्चुगल रोजेका हुन्। घरेलु मैदान लिस्बनमा भएको खेलमा पोर्चुगलका लागि जोआ कान्सेलो र बर्नाडो सिल्भाले १÷१ गोल गरेका थिए।  

‘यो नयाँ प्रक्रिया हो,’ मार्टिनेजले भने, ‘कोही खेलाडी प्रतिबद्ध भए भने कसैले आफ्ना अनुभव देखाए। त्यसमध्ये रोनाल्डोले आफ्ना अनुभव देखाए।’ ६ टोली रहेको समूह ‘जे’ मा पोर्चुगलसँगै बोस्निया हर्जगोभिनाले आइसल्यान्डलाई ३–० ले हराउँदा स्लोभाकिया र लक्जेम्बर्गले गोलरहित बराबरीमा खेले। समूह ‘एच’ का डेनमार्क र फिनल्यान्ड करिब दुई वर्षअघि प्रतिस्पर्धा गरेको मैदान कोपनहेगनको पार्केन स्टेडियममा बिहीबार राति फेरि आमनेसामाने भए। यी दुईबीच सन् २०२० को युरोकपमा पनि त्यही मैदानमा प्रतिस्पर्धा भएको थियो। जहाँ डेनमार्कका प्लेमेकर क्रिस्टियन इरिक्सन हृदयाघातका कारण मैदानमा बेहोस हुन पुगेका थिए। दुई वर्षपछि सोही मैदानमा प्रतिस्पर्धा गर्दा स्ट्राइकर रासमस होलन्डको ह्याट्रिक प्रेरणामा डेनमार्कले फिनल्यान्डमाथि ३–१ को जित निकाल्यो। यो समूहको अर्को खेलमा स्लोभानियाले कजाखस्तानलाई २–१ ले हराउँदा नर्दन आयरल्यान्डले सान मारिनोलाई २–० ले स्तब्ध बनायो।

मैदानमा फर्कियो रसिया  

युक्रेनविरुद्धको युद्धपछि पहिलो पटक रसियाले सोभियत युनियनको बोर्डरबाहिर फुटबलको प्रतिस्पर्धा गरेको छ। रसियाले इरानसँग उसैको घरेलु मैदान तेहरानमा प्रतिस्पर्धा गरेको हो।  

७८ हजार समर्थकका माझ भएको खेलमा रसिया इरानसँग १–१ को बराबरीमा रोकियो। दुवै गोल पेनाल्टीमार्फत भएको हो। इरानका स्ट्राइकर मेहदी तेरेमी र एन्टोन मिरानचुकले गोल गरेका थिए। युइएफएले रसियामाथि प्रतिबन्ध लगाएकाले रसिया युरोकपको छनोट खेल्नबाट वञ्चित छ। यसैबीच रसियाले एसियन फुटबल फेडेरेसनसँग आफ्नो निकटता बढाएको हो। अहिले रसियाको यु–१७ महिला टोली बंगलादेशमा जारी यु–१७ महिला साफ च्याम्पियनसिप खेल्न दक्षिण एसियाली क्षेत्रमा आइपुगेको छ।  

प्रकाशित: ११ चैत्र २०७९ ०२:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App