६ वैशाख २०८१ बिहीबार
खेल

एपिएफको विजयी सुरुआत

ललितपुर मेयर्स कप महिला क्रिकेट

फाइल तस्बिर

कप्तान सीता रानामगर र सोनु खड्काको उत्कृष्ट प्रदर्शनमा एपिएफ क्लबले बिहीबारबाट सुरु भएको ललितपुर मेयर्स कप महिला ट्वान्टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेस प्रदेशलाई १० विकेटले हराउँदै विजयी सुरुआत गर्दा उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर्स–११ लाई पराजित गरेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न दिनको दोस्रो खेलमा सीताको अलराउन्ड प्रदर्शनमा नेपाल एपिएफ क्लबले मधेस प्रदेशमाथि १० विकेटको सानदार जित निकाल्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हो। मधेस प्रदेशले दिएको ५९ रनको लक्ष्य एपिएफले ७ ओभर ३ बलमा कुनै विकेट नगुमाई पूरा गर्‍यो। अविजित पारी खेल्ने क्रममा एपिएफका लागि कप्तान सीताले ४५ र ज्योति पाण्डेले ८ रन बटुले। सीताले ३६ बलको सामना गर्दा ९ चौका प्रहार गरेकी थिइन्।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मधेस १९.४ ओभर समेटियो। एपिएफको कसिलो बलिङसामु निरीह बनेको मधेसका लागि साना प्रविनले सर्वाधिक २५ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकको स्कोर गर्न सकेनन्। एपिएफका लागि सोनु खड्काले ४ र सीता रानाले ३ विकेट लिए। प्रतियोगिताअन्तर्गत बिहीबार नै उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर्स–११ लाई ५१ रनले पराजित गर्‍यो।

सम्झना खड्काले ४५ बलमा अविजित ५२ रनको अर्धशतकीय इनिङ खेलेपछि सुदूरपश्चिमले दिएको १ सय ३८ रनको लक्ष्य पछ्याएको ललितपुरले २० ओभरमा ७ विकेट गुमाएर मात्र ८६ रन बनायो। कसिलो बलिङसामु खुलेर खेल्न नसेकको ललितपुरका लागि लक्ष्मी चौधरीले सर्वाधिक २५ तथा हेलिसा गुरुङले १९ रन बनाए पनि जित निकाल्न सकेनन्।

यस्तै कञ्चन श्रेष्ठले १६ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकको स्कोर गर्न सकेनन्। सुदूरपश्चिमका लागि रितु कनौजियाले २ विकेट लिइन् भने पाँच खेलाडी रन आउट भएका थिए।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको सुदूरपश्चिमले पूरै २० ओभरमा ३ विकेट गुमाएर १ सय ३७ रन योगफल बनाएको थियो। सम्झना खड्काले ४५ बलमा अविजित ५२ रनको अर्धशतकीय इनिङ खेलिन्। ४५ बलको सामना गरेकी सम्झनाले ६ चौका हिर्काएका थिइन्। उनका अलावा कविता जोशीले अविजित २७ रनको पारी खेल्दा रुवि पोदारले २८ रन, कप्तान विन्दु रावलले १८ रन बनाउँदा रेवती धामी शून्य रनमा पवेलियन फर्किएकी थिइन्। ललितपुरका कृतिका मरासिनीले २ तथा सोनी पाख्रिनले १ विकेट लिए।

गत माघमा इटहरीमा सम्पन्न प्रधानमन्त्री कप २०७९ को सेमिफाइनलमा स्थान बनाएका सुदूरपश्चिम प्रदेश, कोशी प्रदेश, नेपाल एपिएफ क्लब र मधेस प्रदेश तथा आयोजक ललितपुर मेयर ११ ले जारी प्रतियोगितामा प्रतिस्पर्धा गर्दै छन्। लिग चरणको पहिलो र दोस्रो स्थानको टोलीका बीचमा फाइनल हुनेछ। चैत १६ मा प्रतियोगिताको फाइनल खेल हुँदै छ। प्रतियोगितामा शुक्रबार पनि दुई खेले हुनेछन्। दिनको पहिलो खेल ९ बजे सुदूरपश्चिम र एपिएफ क्लब तथा १ बजे कोसी र ललितपुर मेयर्स–११ बीच कीर्तिपुर मैदानमा प्रतिस्पर्धा हुनेछ।

प्रकाशित: १० चैत्र २०७९ ०१:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App