७ वैशाख २०८१ शुक्रबार
खेल

तिलोत्तमा गोल्डकप: फ्रेण्डसलाई हराउँदै मनाङ मर्स्याङ्दी फाइनलमा

मनाङ मर्स्याङ्दी क्लब बुटवलमा जारी २२ औं तिलोत्तमा गोल्डकपको फाइनमा प्रवेश गरेको छ। उपाधिकालागि शनिवार हुने फाइनल खेलमा मनाङले सुदूरपश्चिम–११ सँगै प्रतिस्पर्धा गर्नेछ।

बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा फ्रेण्डस क्लबलाई ४–३ गोल अन्तरले हराउँदै मनाङ मर्स्याङ्दी तिलोत्तमा गोल्डकपको फाइनलमा प्रवेश गरेको हो। निर्धारित समयमा खेल २–२ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुट आउटमा गएको थियो।

पेनाल्टी सुट आउटमा मनाङका जियानाथ सेख, अजित गुरुङ, विशन गुरुङ र आशिष गुरुङले गोल गरेका थिए। फ्रेण्डसकालागि अमित तामाङ, विदेशी खेलाडी टोरिक जिब्रन र उत्तम राईले गोल गरेका थिए। डोना थापा र रुपेश केसीले गोल गर्न चुक्दा साबिक विजेता फ्रेण्डस फाइनलमा पुग्न सकेन।

बुटवलको देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा भएको खेलमा साबिक विजेता फ्रेण्ड्सले निर्धारित समयसम्म मनाङलाई दबाबमा राखेको थियो। खेलको ७ औ मिनेटमा फ्रेण्ड्सका रफिक अमेनोले एक गोल गरी खाता खोलेका थिए। २६ औं मिनेटमा उत्तम राईले गोल गरी खेललाई २–० मा पुराए। दबाबमा रहेको मनाङकालागि पहिलो हाफको इन्जुरी समयमा टिमका क्याप्टेन आशिष गुरुङले एक गोल गरी २–१  बनाए। दोस्रो हाफको सुरुमै मनाङका प्रसन्न श्रेष्ठले अर्को गोल गरी २–२ को बराबरीमा पुर्‍याएका थिए।

बिहीबारको खेलमा मनाङका आशीष गुरुङ प्लेयर अफ द म्याच घोषित हुँदा ११ हजार १११ रुपैयाँ पुरस्कार पाए। यस अघि बुधबारको खेलमा थ्रिस्टारलाइ हराउँदै सुदूरपश्चिम–११ ले फाइनलको यात्रा सुरक्षित गरेको थियो। शनिवार हुने फाइनल खेलमा उपाधिकालागि मनाङ मर्स्याङ्दी र सुदूरपश्चिम ११ भिड्ने छन्।

यस क्षेत्रकै पुरानो र प्रतिष्ठित  फुटबल प्रतियोगिता तिलोत्तमा गोल्ड कपको संरक्षक बुटवल उपमहानगरपालिका रहेको छ। प्रतियोगितामा दुई विभागीयसहित ८ टिम सहभागी थिए। 

गोल्डकप विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ नगद पुरस्कार पाउने आयोजक जिल्ला फुटबल संघ रुपन्देहीले जनाएको छ। उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार पाउनेछ। 

सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ वाएक थान मोटरसाइकल, उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचले जनही ३० हजारका दरले नगद पुरस्कार प्राप्त गर्नेछन्। प्रत्येक खेलका म्यान अफ दि म्याचलाई ११ हजार १ सय ११ रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ।

प्रकाशित: ९ चैत्र २०७९ १४:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App