१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

त्रिदेशीय कपमा नेपालको सुखद सुरुआत

लाओसविरुद्ध टोलीका लागि दोस्रो गोल गरेपछि नेपालका स्ट्राइकर नवयुग श्रेष्ठ। तस्बिर सौजन्य : एन्फा

रक्षक अनन्त तामाङ र स्ट्राइकर नवयुग श्रेष्ठको समान एक गोलप्रेरित नेपालले बुधबार लाओसमाथि २–० को जितसहित प्रधानमन्त्री त्रिदेशीय कपमा सुखद सुरुआत गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा विजयी सुरुआत गरेसँगै नेपालले तीन देश सम्मिलित प्रतियोगिताको फाइनल प्रवेश सम्भावना बलियो पारेको हो। प्रतियोगितामा नेपाल, लाओस र भुटानको सहभागिता छ।

३०औं मिनेटमा नवीन लामाको कर्नरमा अनन्तले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए। ५६औं मिनेटमा नवयुगले नेपालको अग्रता दोब्बर पारेका थिए।

नेपालका प्रशिक्षक भिसेन्जो अल्बर्टो एनिसले पाएको अवसर सदुपयोग गर्न सक्दा सहज जित सम्भव भएको बताए। भिसेन्जो गत महिना मात्र नेपालको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए। जितसँगै उनले नेपालको प्रशिक्षण यात्रा यागदार बनाएका छन्।

‘हामीले तयारीका लागि मात्र ३ दिनको समय पाएका थियाैं,’ भिन्सेन्जोले भने, ‘छोटो समयको तयरीका बावजुद टोलीको जितमा खुसी छु। टोलीमा युवा खेलाडी छन्। उनीहरूमा धेरै क्षमता छ।’ आज हामीले पाएको अवसरको सदुपयोग गर्दा जित निस्कियो। यो निकै राम्रो सुरुआत हो। मेरो प्रशिक्षण यात्राका लागि पनि यो सुखद नतिजा हो।’

भिन्सेन्जोले लाओसविरुद्ध केही नयाँ खेलाडीलाई टोलीमा अवसर दिएको र भुटानविरुद्ध आगामी मंगलबार हुने दोस्रो खेलमा थप नयाँ खेलाडीलाई अवसर दिने बताए। उनले लाओसविरुद्धको खेलसँगै रक्षक सनिश श्रेष्ठ, मनिकुमार लामा, सुमित श्रेष्ठ र दीपकराज सिंह ठकुरीलाइै डेब्यु गराएका थिए।

‘मलाई टोलीमा भएका २३ जना खेलाडीमाथि नै पूर्ण रूपमा विश्वास छ। टोलीमा क्षमतावान् खेलाडीको कमी छैन,’ उनले भने, ‘आज हामीले केही खेलाडीलाई अवसर दियाै। भुटानविरुद्धको खेलमा थप केही खेलाडीलाई अवसर दिनेछाैं।’

भिन्सेन्जोले टोलीमा केही सुधार आवश्यक रहेको भन्दै शनिबार भुटान र लाओसविरुद्धको दोस्रो खेलपछि मात्र आगामी खेलको रणनीति तयार पारिने समेत बताए। यता लाओसका प्रशिक्षक माइकल वेसले घरेलु टोली नेपालविरुद्ध अंक बाँड्ने रणनीतिका साथ मैदान उत्रिए पनि पाएको अवसर गुमाउँदा सो लक्ष्य प्राप्त गर्न नसकेको बताए।

‘हामी घरेलु टोलीसँग अंक बाँड्ने लक्ष्यका साथ मैदान उत्रिएका थियाैं’ वेसले भने, ‘तर हामीले पाएका अवसर सदुपयोग गर्न नसक्दा हार व्यहोर्न पर्‍यो। नेपालले पाएका अवसरलाई जाली चुमायो। हामी निराश भएका छैनाै। हामीसँग भुटानविरुद्धको खेल बाँकी छ। अब हामी सो खेल जित्दै नेपालविरुद्ध पुनः फाइनलमा भेट्ने लक्ष्यमा छौं।’

प्रकाशित: ९ चैत्र २०७९ ००:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App