१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

इटहरी गोल्डकप: सगरमाथा युथ क्लब फाइनलमा

साबिक विजेता सगरमाथा युथ क्लब इटहरी गोल्डकपको फाइनल प्रवेश गरेको छ। बुधबार इटहरी रंगशालामा भएको प्रतियोगिताको पहिलो सेमिफाइनलमा सगरमाथाले उपाधि दाबेदार मछिन्द्र क्लबलाई ३-१ गोल अन्तरले हराएको हो।

सगरमाथाको जितमा राजिव लोप्चन, स्टेफेन र मेसुलेले गोल गरे। खेलको सुरुवातबाटै दबाब बनाएको सगरमाथाले चौथो मिनेटमा अग्रता बनायो। मेसुकाको असिस्टमा राजिव लोप्चनले सुरुवात अग्रता दिलाए। १२ औ मिनेटमा स्टेफेनले अग्रता दोब्बर बनाए। ५१ औ मिनेटमा मेसुलेले बायाँ भागबाट गोल अघि बढाउँदै अग्रता ३-० बनाए। ४३ औ मिनेटमा मछिन्द्रका कप्तान अफिज ओलावालेले अग्रता कम पारे।

डिबक्सभित्र अविशेक लिम्बुले ओलावालेलाई फाउल गरेपछि पाएको पेनाल्टीको अवसर गोलमा परिणत बन्यो । सुरुवाती १५ मिनेटमा २ गोलले पछि परेपछि मछिन्द्रका खेलाडीहरुले पाएको मुभलाई समेत सदुपयोग गर्न सकेनन्। पहिलो हाफमा ओलावालेले पाएको ३ वटा अवसर सदुपयोग भएन।

मछिन्द्रले पाएका केही वान भर्सेस वानको अवसरमा समेत सगरमाथाका गोलरक्षक देव लिम्बु बाधक बने। पहिलो मिनेटमा नै गोलरक्षक देवले शक्तिशाली प्रहार पञ्च गर्दै क्लियर गरिदिए। १५ औ मिनेटमा वान भर्सेस वानको अवस्थामा विजय भुजेलले गोलरक्षकलाई विट गराए पनि गोल गर्न सकेनन्। १९ औ मिनेटमा ओलावालेको प्रहार गोलरक्षक लिम्बुले ब्लक गरिदिए।

२२ औ मिनेटमा ओलावालेको प्रहार पोष्ट माथिबाट बाहिरियो। ३१ औ मिनेटमा वान भर्सेस वानमा ओलावाले चुके। पहिलो हाफको तुलनामा दोस्रो हाफमा मछिन्द्रले आक्रमण बुन्न सकेन्। ६४ औ मिनेटमा गोलरक्षक बिट भइसकेको अवस्थामा प्रशान्त अवस्थीको हेडर बाहिरियो।

दोस्रो हाफको इन्जुरी समयमा शौरभ लिम्बुको फ्रिकिक प्रहारमा उत्सब राईको हेडर पोष्टमाथिबाट बाहिरियो। इन्जुरी समयमा शौरभ लिम्बुले वान भर्सेस वानको अवस्थामा पाएको अवसरमा गोल गर्न सकेनन्।

सगरमाथाले समेत अग्रता अझ फराकिलो बनाउने अवसर गुमाउन पुग्यो। २३ औ मिनेटमा स्टेफेनको शक्तिशाली प्रहार गोलरक्षक प्रदिप भण्डारीले बचाए। २५ औ मिनेटमा डिफेन्डर बिच तालमेल नमिल्दा पाएको अवसरमा मेसुकाको प्रहार क्लियर हुन पुग्यो। ५३ औ मिनेटमा मेसुकाको क्रसमा राजिव लोप्चन गोल गर्न चुके। लगतै मेसुलेले वान भर्सेस वानमा पाएको अवसरलाई फितलो प्रहार गरे। खेलको म्यान अफ दि म्याच सगरमाथाका स्टेफेन घोषित हुँदै नगद १० हजार प्राप्त गरे।

सगरमाथाका प्रशिक्षक याम गुरुङले जित निकाले पनि सोचे अनुरुपको प्रदर्शन नभएको पनि टिमअपले जित निस्किएको बताए। ‘विपक्षी खेलाडीहरु अफ्रिकनको कारणले दबाबमा परेपनि खेलाडीहरु बिच तालमेल राम्रो भयो,’ उनले भने।

मछिन्द्रका प्रशिक्षक सन्तोष न्यौपाने पहिलो हाफमा पाएको अवसरलाई गोल गर्न नसक्दा पराजित भएको बताए। ‘रेफ्रीको गल्तीका कारण दोस्रो गोल हुन पुग्यो,’ उनले भने, ‘अफ्रिकन खेलाडीहरुको कारण भन्दा पनि पाएको अवसरलाई गोलमा परिणत गर्न नसक्नु नै पराजयको कारण बन्यो।’ उनले पहिलो रोजाईका खेलाडीहरुलाई आराम दिएर दोस्रो रोजाईका बेञ्चका खेलाडीहरुलाई अनुभवका लागि मैदान उतारेको बताए।

प्रतियोगिताको अन्तिम सेमिफाइनल खेलमा चर्च व्वाइज युनाइटेड र गत संस्करणको उपविजेता त्रिभुवन आर्मी क्लबबिच प्रतिस्पर्धा हुनेछ। आगामी चैत ११ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ।

प्रकाशित: ८ चैत्र २०७९ १४:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App