काठमाडौँको दशरथ रंगशालामा भएको प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगितामा नेपालले लाओसलाई २-० गोलले हराएको छ।
नेपालका लागि २९ औं मिनेटमा अनन्त तामाङले पहिलो गोल गरेका हुन्। अनन्तको यो तेस्रो अन्तर्राष्ट्रिय गोल हो। मध्यान्तर सम्म १-० गोलले अगाडि रहेको नेपालका लागि खेलको ५५ औं मिनेटमा नवयुग श्रेष्ठले दोस्रो गोल गरे।
यस अघि लाओस र नेपालबीच अहिलेसम्म दुई पटक खेल भएको छ। एकमा नेपालले जित हासिल गर्दा एक खेल बराबरीमा सकिएको थियो। नेपाली टोलीले नयाँ प्रशिक्षक इटालीका भिन्सेन्जो अल्बर्टो अनेसेको प्रशिक्षणमा पहिलो पटक खेलेको हो।
प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगितामा अर्को टोली भुटान रहेको छ। तीन देशबिच एक आपसमा एक-एक खेल खेलेपछि शीर्ष दुई टोली फाईनलमा प्रवेश गर्नेछन्। चैत ११ गते लाओस र भुटानबिच खेल हुनेछ। त्यसैगरी चैत १४ मंगलबार नेपाल र भुटानबिच खेल हुनेछ।फाइनल खेल चैत १७ गते शक्रबार साँझ साढे ५ बजे दशरथ रंगशाला खेल हुनेछ।
प्रकाशित: ८ चैत्र २०७९ १४:०७ बुधबार





