१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

इटहरी गोल्डकप: त्रिभुवन आर्मी सेमिफाइनलमा

इटहरीमा जारी १३ औं अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप प्रतियोगितामा विभागीय त्रिभुवन आर्मी क्लब काठमाडौं सेमिफाइनलमा प्रवेश गरेको छ।

मंगलबार इटहरी रंगशालामा भएको क्वाटर फाइनल खेलमा त्रिभुवन आर्मी क्लब काठमाडौं सेमिफाइनलमा प्रवेश गरेको हो। आर्मीको जितसँगै १३ औं इटहरी गोल्डकपको सेमिफाइनल समीकरण पुरा भएको छ।

अन्तिम क्वाटरफाइनल खेलमा आर्मीले रोलिङ क्लब धुलाबारी झापालाई ४-१ गोल अन्तरले हराएको हो। आर्मीको जितसँगै सेमिफाइनल भिड्ने टिम पक्का भएको छ।

आर्मीको जितमा दिपक गुरुङ, जिलेस्पीजङ्ग कार्की, सुदिल राई र पदम तामाङले १/१ गोल गरे। रोलिङका डेडी वाम्बाले सान्तवाना गोल फर्काए। खेलको सुरुवातबाटै दबाब बनाएको आर्मीले तेस्रो मिनेटमा अग्रता बनायो। डिबक्स नजिकबाट उनले गरेको प्रहार सिधै जाली चुमेको थियो। पहिलो हाफको इन्जुरी समयमा कप्तान कार्कीले अग्रता दोब्बर बनाए।

युद्ध शाहीको पासलाई कार्कीले सदुपयोग गर्दै अग्रता दोब्बर बनाएका हुन्। पहिलो हाफमा २ गोलको अग्रता बनाएको आर्मीले दोस्रो हाफमा थप २ गोल गर्न सफल रह्यो।

६२ औ मिनेटमा सुदिल राईले अग्रता ३-० बनाए। दिनेश हेन्जनको पासलाई राईले जाली चुमाए। ६४ औ मिनेटमा रोलिङका अफ्रिकी खेलाडी वाम्बाले पेनाल्टी मार्फत अग्रता ३-१ मा झार्न सफल भए। डिबक्स भित्र विमल पाण्डेले ह्रयान्ड गरेपछि पाएको अवसरलाई वाम्बाले खेर फालेनन्। इन्जुरी समयमा तामाङले गोल गरेपछि आर्मी ४-१ गोल अन्तरको स्पष्ट जित सहित सेमिफाइनल प्रवेश गरेको हो।

रोलिङ् गत संस्करणमा समेत आर्मीसँग पराजित भएको थियो। १२ औ संस्करणमा सेमिफाइनलमा भिडेका २ टोली यस पटक क्वाटरफाइनलमा आमने सामने भएका थिए। खेलको म्यान अफ दि म्याच आर्मीका क्याप्टेन जेलस्पीजङ्ग कार्की घोषित हुँदै नगद दस हजारसहित ट्रफी हात पारे।

आर्मीले चैत ९ गते फाइनल प्रवेशका लागि चिरप्रतिद्धन्द्धी चर्च व्वाइज युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताको पहिलो सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन सगरमाथा यूथ क्लबले लिग विजेता मछिन्द्र क्लबसँग प्रतिस्पर्धा गर्नेछ। सगरमाथाले क्यामरुनी टोली एभेनियरलाई हराउँदै सेमीफाइनल स्थान बनाएको थियो। मछिन्द्रले आयोजक टोली राष्ट्रिय जागृति क्लबलाई हराउँदै सेमीफाइनल प्रवेश गरेको हो।

आर्मीका प्रशिक्षक नविन न्यौपानले लिगमा लगातार खेलका कारण अपेक्षा अनुरुप प्रदर्शन नभएको बताए। उनले खेलाडीहरुको थकानका कारण २५ प्रतिशत मात्र खेल देखाउन सकेको उल्लेख गरे।

‘खेलमा सुरुवातमा स्कोर निस्किएपछि पनि पाएको धेरै अवसरहरू सदुपयोग हुन सकेन,’ उनले भने। खेलाडीहरुको थकानका कारण आस गरिएका खेलाडीहरुबाट अपेक्षाकृत प्रदर्शन नभएको उनले बताए। पहिलो रोजाईका केही खेलाडीहरु राष्ट्रिय क्याम्पमा भएपनि जुनियर खेलाडीहरुबाट स्कोर निस्किरहेको बताए।

रोलिङका प्रशिक्षक मुकुम लिम्बुले डिफेन्समा बिल्डअप नहुँदा पराजय भोगेको बताए। ‘गोल रक्षककाे गल्ती कारण गोलका अवसरहरू धेरै निस्किए,’ लिम्बुले भने।

लिम्बुले 'ए' डिभिजन लिगका कारण राम्रा खेलाडीहरु नपाएको कारण प्रतिस्पर्धात्मक टोली तयार गर्न नसकिएको बताए। अफ्रिकी खेलाडीहरु भएपनि अपेक्षा अनुरुप प्रदर्शन गर्न चुकेको उनको भनाइ थियो।

राष्ट्रिय जागृति क्लबको आयोजनामा इटहरी रंगशालामा चैत ११ गतेसम्म संचालन हुने प्रतियोगिताको विजेता टिमले नगद १० लाख र उपविजेता टिमले नगद ५ लाख रुपैयाँ प्रदान गरिनेछ।

प्रकाशित: ७ चैत्र २०७९ १४:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App