७ वैशाख २०८१ शुक्रबार
खेल

राष्ट्रिय क्रिकेट टोलीका दुई खेलाडी सम्मानित

सम्मान भएपछि राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरू ललितनारायण राजवंशी र दिपेश कँडेललाईका साथै ललितनारायण राजवंशीका आमाबुवा। तस्बिरः चुमन बस्नेत/नागरिक

राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरू ललितनारायण राजवंशी र दिपेश कँडेललाई विराटनगरमा सम्मान गरिएको छ।  

नेपाल खेलकुद महासंघ मोरङले राष्ट्रिय टीमका खेलाडी राजवंशी र यु–१९ राष्ट्रिय टोलीका खेलाडी कँडेललाई नगद २५ हजार रुपैयाँसहित सम्मान गरेको हो।

सम्मानित खेलाडीहरूलाई नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेत, मोरङ अध्यक्ष मनोज खड्कालगायतले नगद र सम्मानपत्र हस्तान्तरण गरेका थिए।

सम्मान गरिएका दुवै खेलाडी विराटनगरका हुन्। दीपेशले युएईको यु–१९ टोलीविरुद्ध ह्याट्रिक विकेट लिएर नेपाललाई यु–१९ विश्वकपमा छनोट गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। ललितले विश्वकपलिग–२ शृंखलामा उत्कृष्ट प्रदर्शन गरेका थिए। महासंघले ललितका बुबा जयनारायण राजवंशी र आमा शुभकुमारी देवी राजवंशीलाई पनि सम्मान गरेको छ।

महासंघले नेपाल क्रिकेट संघका कोषाध्यक्ष रोसन सिंहलाई पनि सम्मान गरेको छ। सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल खेलकुद महासंघका अध्यक्ष पर्शुराम बस्नेतले महासंघले खेलाडीको सर्वोपरि हितलाई ध्यानमा राख्दै कार्यक्रमहरू अघि बढाउने बताए। उनले खेलाडी उत्पादन गर्ने, प्रोत्साहन गर्ने मात्रै नभई प्रत्यक प्रदेशबाट विभिन्न विधामा हरेक वर्ष नयाँ खेलाडी तयार पारी अवसर पनि प्रदान गर्ने बताए। नेपाल खेलकुद महासंघका मोरङ अध्यक्ष मनोज खड्काले खेलाडीहरूलाई राज्यले जीवन निर्वाहको व्यबस्था गर्नुपर्ने बताए।

ललित र दिपेशलाई विराटनगर महानगरपालिका र कोशी प्रदेश सरकारले पनि सम्मान गर्ने निर्णय गरेको छ। प्रदेश सरकारले जनही १ लाख ११ हजार र विराटनगर महानगरपालिकाले जनही १ लाख १ हजारसहित सम्मानगर्ने घोषणा गरेको छ। पत्रकार महासंघ मोरङले पनि खेलाडी द्वयलाई खादा ओडाएर सम्मान गरेको थियो।  

प्रकाशित: ७ चैत्र २०७९ १३:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App