२४ जेष्ठ २०८० बुधबार
खेल

नेपाली बक्सिङमा अञ्जनीको ऐतिहासिक सफलता

नेपालकी अञ्जनी तेलीले आइबा वुमन्स विश्व बक्सिङ च्याम्पियनसिपमा लगातार दोस्रो जित निकाल्दै नेपाली बक्सिङमा इतिहास रचेकी छन्।  

भारतको नयाँ दिल्लीस्थित आरडी इन्डोर हलमा जारी च्याम्पियनसिपको महिला ५२ तौलसमूहमा अञ्जनी लगातार दोस्रो जितसहित क्वार्टरफाइनलमा समेत पुगेकी छन्। यसअघि कुनै पनि नेपाली बक्सरले विश्व च्याम्पियनसिपमा लगातार दोस्रो जित निकाल्न सकेको थिएन। विश्वकप (हाल विश्व च्याम्पियनसिप) मा नेपालका लागि एक मात्र फाइट विष्णुबहादुर सिंह र उमेश कटवालले जितेका छन्। विष्णुबहादुरले भारतको बम्बईमा सन् १९९० मा सम्पन्न विश्व च्याम्पियनसिपमा मोजाम्बिकका बक्सरलाई हराउँदै उक्त सफलता दिलाएका हुन्।

उमेशले भने सन् १९९४ मा थाइल्यान्डमा मलेसियाका बक्सरलाई हराएका थिए। तर, अञ्जनीले सोमबार त्यो सफलतामा सुधार गरिन्। भारतमै बसेर बक्सिङ सिकेकी अञ्जनीले लगातार दोस्रो सफलता निकाल्दै नेपालको बक्सिङमा नयाँ इतिहास बनाइन्। यस क्रममा अञ्जनीले सोमबार हाइटीकी क्याटरिन मारिया स्टालिनलाई ५–० ले हराइन्। खेलको पहिलो राउन्डमा पाँचै जना जजले अञ्जनीलाई जिताएका थिए। दोस्रो राउन्डमा भने मारिया हाबी भइन्। यद्यपि, तेस्रो र अन्तिम चरणको खेलमा उनी मारियामाथि ५–० ले हाबी हुँदै नेपालका लागि इतिहास रच्न सफल भइन्।

यसअघि उनले अन्तिम ३२ मा डोमिनिकन रिपब्लिकका बक्सर ३–२ को स्प्लिट डिसिजनको आधारमा हराएकी थिइन्। कपिलवस्तुकी उनको परिवार सन् १९९० देखि भारतको नयाँ दिल्लीमा बस्दै आएको छ। त्यहाँ बक्सिङ प्रशिक्षण गर्दै आए पनि अञ्जनीले नेपालको तर्फबाट विश्व च्याम्पियनसिपमा चुनौती प्रस्तुत गरेकी हुन्। उनी विश्व च्याम्पियनसिपमा नेपालको पहिलो पदकका लागि एक जित मात्र टाढा छिन्। अब अञ्जनीले क्वार्टरफाइनलमा बेलारूसकी  

युलिया अपनासोमिचसँग मार्च २२ मा चुनौती प्रस्तुत गर्नेछिन्।  

युलियाले भने सोमबार नै उज्बेकिस्तान बक्सरलाई स्प्लिट डिसिजनकै आधारमै जितेकी थिइन्। यस विश्व च्याम्पियनसमा नेपालका सात बक्सरले प्रतिस्पर्धा गरेका थिए। यद्यपि, अञ्जनीबाहेक अन्य बक्सरको चुनौती समाप्त भइसकेको छ। यसअघि नेपालका लागि एसियाली बक्सिङमा पहिलो पटक रजत पदक दिलाएकी सुष्मा तामाङको चुनौती पनि समाप्त भएको हो। पदकको आशा गरिएकी सुष्माले आइतबार ४८ केजी तौलसमूहमा बुल्गेरियाकी बक्सरसँग ४–३ को साँघुरो हार बेहोरेकी थिइन्।

त्यस्तै ६० केजीमा संगीता सुनार अस्ट्रेलियाकी बक्सरसँग ४–१ ले पराजित हुँदा ७० केजी तौलसमूहमा नेपालकी सरस्वती रानामगर सर्बियाकी बक्सरसँग ५–० को हार बेहोर्न बाध्य भइन्। महिला ५४ केजीमा १३औं सागकी स्वर्ण पदक विजेता मीनु गुरुङ थाइल्यान्डसँग, ५७ केजीमा चन्द्रकला थापा भेनेजुएलासँग र ५० केजी तौलसमूहमा अस्मिता दुवाल बोत्स्वनाकी बक्सरसँग ५–० ले सहजै पराजित हुन पुगे।

प्रकाशित: ७ चैत्र २०७९ ०७:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App