१९ चैत्र २०७९ आइतबार
खेल

मिल्स गोल्डकप: डिफेन्डिङ च्याम्पियन प्रतिभा क्लबलाई हराउँदै झापालाई उपाधि

डिफेन्डिङ च्याम्पियन सिराहाको प्रतिभा फुटबल क्लबलाई झापाको ध्रुवतारा युवा क्लबले हराउँदै तेस्रो मिल्स गोल्डकप फुटबलको उपाधि जितेको छ। 

मिल्स गोल्डकप ट्रष्टले आयोजना गरेको  प्रतियोगितामा झापाले सिराहालाई ३–२ गोल अन्तरमा पराजित गर्दै उपाधि जितेको हो। झापा यस प्रतियोगितामा पहिलो पटक सहभागिता जनाएको थियो।

झापाका गौरव धिमालले २ गोल र प्रवीण राई गोल गर्दै टोलीलाई विजयी बनाए। सिराहाका लागि बिनु आले मगर र विधान लामाले गोल फर्काए। झापाले उपाधि जित्दै २ लाख ११ हजार रुपैयाँ र उपविजेता सिराहाले १ लाख ११ हजार रुपैयाँका साथ ट्रफी प्राप्त गरे।

१६ औं मिनेटमा झापाका गौरव धिमालले गोल गर्दै अग्रता दिलाए। बादल तामाङको क्रसपासमा गौरवले गोल गरे। ३७ औंं मिनेटमा झापाका प्रवीण राईले गोल गर्दै संख्या दोब्बर बनाए। विक्रम राईले मिलाइ दिएको पासमा प्रवीणले गोल गरे।  

५० औं मिनेटमा सिराहाका बिनु आले मगरले गोल गरे। सिराहाले गोल गरेको ५ मिनेट बित्न नपाउँदै झापाका गौरव धिमालले सेन्टरबाट ट्याकल गर्दै लगेको बल गोलमा परिणात गरे। सिराहाका विधान लामाले इन्जुरी समयमा गोल गरी अग्रता छोट्याए। 

म्यान अफ द फाइनल झापाको गौरव धिमाल भए। प्रतियोगिताको उत्कष्ट गोलरक्षक झापाका आयुष लिम्बू, मिड फिल्डर सिराहाका सुजन पुलामी, डिफेन्स सिराहाका मुकेश माझी, फरवार्ड झापाका प्रवीण राई, प्रशिक्षक झापाका सन्दीप मगर भए। सर्वोत्कृष्ट खेलाडी झापाका प्रवीण राई भए। 

खेलकुद क्षेत्रमा योगदान दिएका कुमार महर्जन, मनोज खड्का र पप्पु सेनलाई सम्मान गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला, ट्रष्टका अध्यक्ष किशोर शाहीलगायतले पुरस्कार प्रदान गरे। 

प्रकाशित: ४ चैत्र २०७९ १९:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App