६ वैशाख २०८१ बिहीबार
खेल

हिमाल टमाटाले जिते लिगलिगे साईकल दौडको उपाधि

लिगलिग भिलेज स्पोर्टसको आयोजनामा भएको तेस्रो लिगलिगे साईकल दौड प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबका हिमाल टमाटाले जितेका छन्। ५३ किलोमिटर दुरी दुई घण्टा २४ मिनेट २७ सेकेन्डमा पुरा गर्दै टमाटा विजेता बनेका हुन्।

पहिलो साईकल दौड प्रतियोगितामा टमाटा दोस्रो बनेका थिए भने दोस्रो प्रतियोगितामा चौँथो बनेका थिए। कञ्चनपुरका टमाटाले तेस्रो प्रतियोगितामा उपाधि उचालेका हुन्।  गत वर्ष भएको दोस्रो लिगलिगे साईकल दौडका विजेताले दुई घण्टा ५८ मिनेट समयमा निर्धारित दुरी पुरा गरेका थिए। गत वर्षका विजेताले भन्दा यो पटक कम समयमा टमाटाले दौड पुरा गरेका हुन्। 

‘यो रुट अन्तर्राष्ट्रियकरणकाे छ, अफरोड पनि छ, पिच पनि छ, उकालो, ओरालो पनि छ,’ विजेता भएपछि हिमाल टमाटाले भने, ‘तेस्रो संस्करणको प्रतिस्पर्धामा विजेता हुँदा खुसी छु।’ सन् २०१९ मा भएको १३ औँ सार्कमा उनले साईकल दौडमा नेपालको तर्फबाट स्वर्ण जितेको बताए।  

दुई घण्टा २४ मिनेट ४१ सेकेन्डमा निर्धारित दुरी पार गर्दै काभ्रेका अच्युतकृष्ण खरेल दोस्रो भए भने दुई घण्टा २४ मिनेट ४६ सेकेन्डमा दुरी पुरा गर्दै काठमाण्डौंका कुमार तामाङ तेस्रो भए। लक्ष्मण मल्लले दुई घण्टा २५ मिनेट ४१ सेकेन्डमा दुरी पुरा गर्दै चौंथो भए भने दुई घण्टा २५ मिनेट ३९ सेकेण्डमा पुरा गर्दै मानबहादुर थापा मगर पाँचौं भए।

प्रथम हुनेले ७५ हजार, दोस्रो हुनेले नगद ५० हजार, तेस्रो हुनेले नगद ३० हजार रुपैयाँ, चौथो हुनेले नगद १५ हजार र पाँचौ हुनेले ७ हजार पाँच सय रुपैयाँ मेडल र प्रमाणपत्र पाएका लिगलिग भिलेज स्पोर्टसका अध्यक्ष विनोद श्रेष्ठले बताए।  

पुरुषतर्फ दुई घण्टा ३२ मिनेट चार सेकेन्डमा ५३ किलोमिटर दुरी पार गर्दै हर्क लामा विजेता बने। दुई घण्टा ४९ मिनेट ५५ सेकेन्डमा दुरी पार गर्दै विकास महर्जन दोस्रो भए भने देवबहादुर बोहोराले दुई घण्टा ५२ मिनेट २१ सकेन्डमा दुरी पार गर्दै तेस्रो बने। यो समूहमा प्रथम हुनेलाई १५ हजार, दोस्रोलाई १० हजार र तेस्रो हुनेलाई ५ हजार नगद पुरस्कार प्रदान गरिएको छ।  

विजेताहरूलाई गण्डकी प्रदेश सभाका सदस्य एवं प्रतिपक्ष दलका नेता सुरेन्द्रराज पाण्डेले पुरस्कार वितरण गरेका थिए। प्रतियोगिताको विभिन्न विधामा दुई विदेशी सहित ३९ जना सहभागी भएका लिगलिग भिलेज स्पोर्टसका निवर्तमान अध्यक्ष सञ्जिव रानाले बताए। राष्ट्रिय खेलकुद परिषदबाट अनुमति लिई अन्तर्राष्ट्रिय मापदण्डमा रहेर प्रतियोगिता संचालन गरिएको रानाले बताए।  

लिगलिगकोटबाट सुरु भएको साईकल दौड आँप पिपल भञ्ज्याङ, हर्मिभञ्ज्याङ, बयापानी, मकनडाँडा, थापा गाउँ, आँप पिपल अस्पताल, पाथीभरा, गुन्टार, मिर्तिखोला, भण्डारथोक, ओख्ले, लमजुङ गरमवेशी, घर्ती गाउँ, ठूलो बगैँचा, चेपेघाट, पालुङटार हवाईग्राउण्ड, तालपोखरी, राधाकृष्ण मन्दिर, बाह्रपिर्के, हात्तीगौडा, लुइँटेल, बयाडाँडा हुँदै मैबलबाट लिगलिगकोटसम्मको ५३ किलोमिटर रहेको थियो।  प्रतियोगितालाई तीन फरक भागमा विभाजन गरेर आयोजना गरिएको थियो। पुरुष कुलिन, पुरुष मास्टर र स्थानीय गरी तीन विधा तोकिए पनि स्थानीय भने सहभागी भएनन्।  

लिगलिगकोटमा रहेको राष्ट्रिय झण्डा भएको स्थानबाट सुरु भएर पुनः सोही स्थानमा फर्किएर दौड कार्यक्रम पुरा भएको थियो। प्रतियोगिता संचालनका लागि ३० लाख खर्च भएको आयोजकले जनाएको छ। साईकल दौडसँगै विभिन्न सांस्कृतिक कार्यक्रम पनि भएको थियो। लोकगायक चिज गुरुङ र अस्मिता डल्लाकोटी लगायत स्थानीय कलाकारको प्रस्तुति रहेको थियो।  

लिगलिग भिलेज स्पोर्टका सचिव प्रमिला राना मगरले लिगलिगकोटको प्रचार प्रसारकालागि साईकल दौड प्रतियोगिता संचालन गरिएको बताए। ‘यो आफैँमा ऐतिहासिक ठाउँ हो, तर यहाँको विकास निर्माण र प्रचार प्रसार हुन सकेको छैन, यहाँको प्रवर्द्धनका लागि पनि साईकल दौड गरेका हौँ।’ लिगलिगकोटको ऐतिहासिक पहिचान भए पनि यहाँ आएका विकास बजेटको सही सदुपयोग हुन नसकेको उनले बत्ताइन।

प्रकाशित: ४ चैत्र २०७९ ०८:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App