८ वैशाख २०८१ शनिबार
खेल

विश्वकप छनोटमा नेपाल

अविश्वसनीय नतिजासँगै पछिल्ला १२ खेलमध्ये ११ मा जित निकालेपछि नेपाली क्रिकेट टोलीले जिम्बाबेमा हुने विश्वकप छनोटमा स्थान बनाएको छ। संयुक्त अरब इमिरेट्स (युएई) लाई बिहीबार डकवर्थ लेविस (डिएल) का आधारमा ९ रनले हराउँदै नेपालले विश्वकप छनोटमा स्थान बनाएको हो। सिधै विश्वकप छनोटमा स्थान बनाउन नेपालसँग युएईविरुद्ध जितको विकल्प थिएन। नेपालको हार हुँदा तेस्रो स्थानको नामिबियाले सिधै विश्वकप छनोटमा स्थान बनाउँथ्यो। त्यसैले नेपाललाई विश्वकप छनोटको यात्रा तय गर्न युएईलाई जित्नैपथ्र्यो। र, जित्यो पनि।

टस जितेको युएईले ३१० रन बनाएपछि ३११ को लक्ष्य पूरा गर्न नेपाली टोलीसामु यादगार ब्याटिङ प्रस्तुत गर्नुपर्ने अवस्था आयो। निकै खराब सुरुआत गरे पनि नेपालले समालिँदै जितको आधार तय गर्यो। यसक्रममा नेपालका चार ब्याटर कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख र गुल्सनले अर्धशतक बनाउँदै जितको आधार तय गरे। ४४ ओभरमा नेपाल २६९÷६ को अवस्थामा रहँदा खराब प्रकाशका कारण बाँकी खेल सम्भव भएन। घरेलु टोली नेपाल डिएल मेथडका आधारमा विजेता घोषित भयो। यो नतिजासँगै विश्वकप लिग–२ को तेस्रो स्थानमा रहँदै नेपाल सोझै विश्वकप छनोटमा स्थान बनाउन सफल भएको छ। लिग–२ कै अन्तिम तथा १२६औं खेलमा युएईविरुद्ध नेपालको जितपछि नामिबिया चौथो स्थानमा झर्यो।

युएईको हारले नामिबिया घरेलु मैदानमा हुने प्लेअफबाट विश्वकप छनोट यात्रा बनाउन बाध्य भयो। नेपालले भने जिम्बाबेमा हुने १० राष्ट्र सम्मिलित विश्वकप छनोट खेल्नेछ। आगामी जुन १८ देखि सुरु हुने उक्त छनोटमा टेस्ट राष्ट्रसँग नेपालले छनोट खेल्नेछ। उक्त छनोटमा सुपर लिगका पुछारका पाँच टोली (नेदरल्यान्ड, जिम्बाब्बे र बाँकी तीन), लिग–२ का शीर्ष तीन (स्कटल्यान्ड, ओमान र नेपाल) र प्लेअफका दुई टोलीले प्रतिस्पर्धा गर्नेछन्।  

एक समय २४ खेलबाट १८ अंकसहित नेपाल सात राष्ट्र सम्मिलित लिग–२ को छैटौं स्थानमा थियो। यस्तो अवस्थामा नेपालको एकदिवसीय मान्यतासँगै सिधा विश्वकप छनोट सम्भावना संकटमा थियो। यसबीच गत माघ २३ गते मुख्य प्रशिक्षकका रूपमा मोन्टी देशाई नेपाली क्रिकेटमा भित्रिए। उनको प्रशिक्षणमा नेपाली क्रिकेटले लगातार यादगार नतिजा प्राप्त ग¥यो। नेपालले लिग–२ का १२ खेल खेल्न बाँकी छँदा उनले जिम्मेवारी समालेका हुन्। यो एक महिनाभित्र नेपाली क्रिकेटले अद्भूत विजयीरेखा लगातार को¥यो, जहाँ १२ खेलमध्ये नेपालले ११ मा जित निकाल्यो। पहिलो संस्करणको लिग–२ बाट नेपालले विश्वकप छनोटको बाटो तय गर्याे।

सहज थिएन जित

आसिफ खानको लिग–२ कै कीर्तिमानी शतक प्रेरित युएईले ५० ओभरमा पाँच विकेट गुमाउँदै ३१० रन बनायो। बिस्फोटक ब्याटिङ गरेका आसिफ ४२ बलमा ११ छक्का र चार चौका प्रहार गर्दै १०१ रनमा नटआउट रहे। युएईकै वृत्य अरबिन्द ९४ रनमा आउट भए। त्यसअघि कप्तान मोहम्मद वसिमले ६३ रन जोड्दै युएईलाई राम्रो सुरुआत दिलाएका थिए। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले दुई तथा सन्दीप लामिछाने, सोमपाल कामी र ललितनारायण राजवंशीले समान एक विकेट लिए।  

एकदिवसीयमा विश्वकै छिटो सय विकेट पूरा गर्नबाट एक विकेटले पछि रहेका सन्दीप निकै महँगा साबित भए। उनले १० ओभरमा ८० रन खर्चिए, जुन नेपालका कुनै पनि बलरका लागि अहिलेसम्मकै दोस्रो खराब प्रदर्शन हो। त्यसपछि चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपालको सुरूआत राम्रो हुन सकेन। ओपनर आसिफ शेख शून्यमा आउट हुँदा कुशल मल्ल (५ रन) र कप्तान रोहित पौडेल (१६ रन) सस्तैमा आउट भए। त्यससँगै विशाल लक्ष्य पछ्याएको नेपाल ३७÷३ को नाजुक अवस्थामा पुग्यो। तर कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख र गुल्सनले अर्धशतक रन जोड्दै जितको आधार तय गरे।  नेपालका लागि भीमले ७६ बलमा ९ चौकासहित ६७ रन बनाए। आरिफले ६२ बलमा दुई चौका मद्दतमा ५२ रन जोडे। कुशल ३५ बलमा चार छक्का र तीन चौकासहित ५० रन बनाएर आउट भए। गुल्सन ५० रनमा र दीपेन्द्र १० रनमा अविजित रहे। गुल्सनले ४८ बलमा चार चौका र दुई छक्का हिर्काए। यसबीच ओपनर कुशलले भीमसँग चौथो विकेटका लागि ६१ रनको साझेदारी गरे। त्यसपछि भीम र आरिफले पाँचौं विकेटका लागि ८३ रनको साझेदारी गर्दै नेपालको इनिङ समाले। नेपालले ३९ ओभर पार गर्दा नै सिमसिम पानी प¥यो, त्यतिबेला नेपाल डिएल मेथडमा पछि थियो।  

तर नेपाली ब्याटरले आक्रामक ब्याटिङ गर्दै डिएल मेथडमा अगाडि पुर्याए। ४२ ओभरमा युएईका कप्तान मोहम्मद वसिम बलिङ गर्न आए। त्यो ओभरमा गुल्सनले २० रन बटुल्दै डिएल मेथडमा नेपाललाई अगाडि पु¥याए। त्यो नै जितका लागि टर्निङ पोइन्ट बन्यो। ४४ ओभरमा नेपाल २६९÷६ को अवस्थामा पुग्यो। इनिङमा ६ ओभरको खेल बाँकी छँदा नै अम्पायरले खराब प्रकाशका कारण खेल सम्भव नहुने निर्णय गरेसँगै नेपाल भाग्यमानी साबित भयो, जुन निर्णयविरुद्ध युएईका खेलाडीले धेरै समयसम्म असन्तुष्टि जनाएका थिए।  

प्रकाशित: ३ चैत्र २०७९ ००:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App