२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

चर्च ब्वाइजले हारको संकट टार्‍यो

पेनाल्टी प्रहार असफल भएपछि संकटाका मनीष डाँगी (रातो)। तस्बिर सौजन्य: एन्फा

गोलकिपर प्रिसोले इन्जुरी समयमा मनीष डाँगीको पेनाल्टी विफल पारेसँगै चर्च ब्वाइज युनाइटेडले मंगलबार सहिद स्मारक ‘ए’ डिभिजन लिगमा संकटा क्लबसँग हारको संकट टारेको दिन साबिक विजेता मच्छिन्द्रले भने लिगमा पहिलो जित निकालेको छ।

एन्फा मुख्यालयमा संकटासँग गोलरहित बराबरी खेलेसँगै चर्च ब्वाइजको लगातार चौथो खेलमा जित निकाल्ने लक्ष्यले भने पूर्णता पाउन सकेन। नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर अञ्जन विष्टलाई पहिलो पटक टोलीबाट लिगमा उतारेको चर्च ब्वाइजले खेलको सुरुआतबाटै संकटामाथि दबाब बनाएको थियो ।

१४औं मिनेटमा प्रशान्त लक्षमको प्रहार क्रस बारमा लागेर फर्कंदा चर्च ब्वाइजले अग्रता लिने अवसर गुमाएको थियो। त्यसको एक मिनेटपछि नै अञ्जनले गोलको अवसर पाएका थिए। तर उनको प्रहार गोलपोस्टनजिकैबाट बाहिरिँदा चर्च ब्वाइजले अग्रता लिने अवसर गुमाएको थियो।

१७औं मिनेटमा संकटाका स्ट्राइकर जुनियरले गरेको प्रहार पोस्टमा लागेर फर्कंदा संकटा निराश बनेको थियो। त्यसको एक मिनेटपछि नै चर्च ब्वाइजका आशिष चौलागाई संकटाका गोलकिपर विष्णुकुमार केसीसँग वान भर्सेस वानमा गोल गर्न चुके।

इन्जुरी समयमा मनीषले गोलको सुनौलो अवसर गुमाए। चर्च ब्वाइजका रक्षक कमल श्रेष्ठले ह्यान्ड गरेपछि संकटाले पेनाल्टीको अवसर पाएको थियो। तर मनीषको प्रहार प्रिसोले बचाएका थिए। रिबाउन्डमा प्राप्त बलमा पनि संकटाका आन्द्रे थिएरी बिइक बिइक गोल गर्न चुके। उनको प्रहार पोस्टमाथिबाट बाहिरिएको थियो।

लिगको पहिलो सिजन नै दमदार सुरुआत गर्ने क्रममा लगातार तीन खेल जितेको चर्च ब्वाइज चौथो खेलमा भने सो लय कायम राख्न सफल भएन। चर्च ब्वाइज ४ खेलमा १० अंकसहित शीर्ष स्थानमा छ। दोस्रो स्थानको सातदोबाटोको ९ अंक छ। सातदोबाटो चौथो खेलमा सोमबार थ्री स्टार क्लबसँग पराजित भएको थियो। यससँगै चर्च ब्वाइजसामु शीर्ष स्थानमा अग्रता बनाउने अवसर थियो तर टोलीले सो अवसर पनि गुमायो। संकटाको भने ४ खेलमा ५ अंक छ।

यता त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फ्रेन्ड्स क्लबलाई २–१ को नतिजा सुम्पिएसँगै १० खेलाडीमा सीमित भएको जावलाखेल युथ क्लबको अपराजित यात्रामा चौथो खेलमा पूर्णविराम लागेको छ।

पहिलो खेलमै साबिकको विजेता मच्छिन्द्र फुटबल क्लबलाई हराएको जावाखेलले दोस्रो खेलमा एनआरटीलाई हराएको थियो भने तेस्रोे खेलमा एपिएफलाई नतिजा सुम्पिएको थियो।

फ्रेन्ड्सको भने यो पहिलो जित हो। पहिलो तीन खेलमा क्रमशः दुई हार र एक बराबरीको नतिजा ल्याएको फ्रेन्ड्सले चौथो खेलमा जावलाखेललाई स्तब्ध पारेको हो।

१९औं मिनेटमा कप्तान प्रकाश बुढाथोकीको पासमा रफिक एमिनुले गोल गर्दै फ्रेन्ड्सलाई अग्रता दिलाएका थिए। ४०औं मिनेटमा लक्ष्मण रुचालको पासमा गोल गर्दै प्रकाशले फ्रेन्ड्सको अग्रता दोब्बर पारेका थिए। ८७औं मिनेटमा फोडे फफोनाले गरेको पेनाल्टी गोलमा जावलाखेलले खेलमा फर्कने संकेत गरे पनि त्यो पर्याप्त भएन।

इन्जुरी समयका कप्तान सीमान्त थापा दोस्रो पहेँलो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएपछि जावलाखेलले १० खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गरेको थियो।

जावलाखेलको ४ खेलमा ७ अंक छ भने समान खेलमा फ्रेन्ड्सको ४ अंक छ। लिगमा अहिलेसम्म शीर्ष स्थानको चर्च ब्वाइज, मनाङ मर्स्याङ्दी र त्रिभुवन आर्मी क्लब मात्र अपराजित टोली हुन्।

जारी लिगमा पहिलो जित निकाल्ने क्रममा मच्छिन्द्रले नेपाल पुलिस क्लबलाई २–१ ले हरायो।

खेलको नवौं मिनेटमा अञ्जन राईको गोलमा पुलिसले अग्रता लिएको थियो। १९औं मिनेटमा स्ट्राइकर आफिज ओलाओलेले गरेको गोलमा मच्छिन्द्र खेलमा फर्किएको थियो। मध्यान्तर हुन ६ मिनेट बाँकी रहँदा ओलाओलेले गरेको व्यक्तिगत दोस्रो गोल गर्दै मच्छिन्द्रलाई जारी लिगमा पहिलो पटक ३ अंक दिलाउन पर्याप्त बन्यो।

पहिलो दुई खेलमा क्रमशः जावलाखेल र आर्मी क्लबलाई नतिजा सुम्पिएको मच्छिन्द्रले तेस्रो खेलमा मनाङ मर्स्याङ्दीविरुद्ध बराबरी खेल्दै अंक बाँडेको थियो।

यता पुलिसको भने यो लगातार यो चौथो हार हो। पुलिसले यसअघि सातदोबाटो, हिमालयन शेर्पा र संकटा क्लबलाई नतिजा सुम्पिएको थियो।

प्रकाशित: १ चैत्र २०७९ ००:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App